0
गोल्डेन न्यूज संवाददाता
पोखरा उप–महानगरपालिकाले  कार्यालयका महाशाखा र शाखा प्रमुखहरुसंग कार्यसम्पादन करार सम्झौता गरेको छ । करारमा सम्वन्धित कर्मचारी एवम् पोखरा उप–महानगरपालिकाका कार्यकारी अधिकृत झलकराम अधिकारीले हस्ताक्षर गरेका छन् । नगरपरिषदको निर्णय, कार्यालयबाट जारी सुधारको तत्कालिन योजना तथा संघीय मामिला तथा स्थानिय विकास मन्त्रालयसंग भएको कार्यसम्पादन करार बमोजिम पुष ९ गतेदेखि लागू हुनेगरि उक्त सम्झौता गरिएको पोखरा उप–महानगरपालिका कार्यालयले जनाएको छ ।  प्रभावकारी सेवा प्रवाह एवम् आवधिक योजना अनुरुप तत्काल सेवाग्राहीहरुमा देखिने गरि काम गर्नका निम्ति कर्मचारीहरुलाई जवाफदेही बनाउनका निमित्त पनि करार सम्झौता प्रभावकारी हुने कार्यकारी अधिकृत झलकराम अधिकारीले जानकारी दिए । 

उनका अनुसार करारमा ३ दिनदेखि ६ महिनाभित्र सम्पादन गर्नुपर्ने आवधिक योजनाहरु समावेश गरिएका छन् । कार्यकारी अधिकतृत अधिकारीका अनुसार सूचना तथा विज्ञापनको मापदण्ड तयार गरेको हुने, शाखागत क्षतिपूर्ति सहितको नागरिक वडापत्र तयार गरेको हुने, पोखरा विकास प्रभावकारिता पुरस्कारको गठन र छनोटको मापदण्ड तयार गरेको हुने, प्राविधिक शाखाको वर्तमान संरचना वान डोर सिस्टम  हुने, क्षमता विकास केन्द्र संचालनमा आएको हुने भनि सम्झौता भएको छ। यसैगरी नगर प्रोफाइल, आवधिक नगर विकास योजना यातायात गुरुयोजना तयार गरि पेश भएको हुने, कम्तीमा १० वटा पार्कको मर्मत कार्य शुरु भएको हुने, प्लाष्टिक झोला निषेधको निर्देशिका तयार भएको हुने, एनजीओ डेक्स गठन भएको हुने, बालमैत्री कक्षको स्थापना भएको हुने, कम्तिमा ५ वटा वडाको घर नक्सा पूर्णत डिजिटलाइज भएको हुने भनि समेत सम्झौता भएको अधिकारीले जानकारी दिए । सडक मर्मत कार्ययोजना निर्माण भएको हुने, कम्तिमा १२ वटा बस प्रतिक्षालय निर्माण भएको हुने, थप भएका वडाहरुको सार्वजनिक जग्गाको एकीकृत लगत बनाइ पेश गर्ने, कम्तीमा ४ वटा सार्वजनिक खुल्ला जग्गाको पहिचान गरि संरक्षण शुरु गर्ने, पृथ्वीनारायण क्याम्पस क्षेत्रको बसपार्क स्थानान्तरण भएको हुने, बेरुजु लगत अधावधिक भएको हुने लगायतका बुँदाहरुमा कार्य समेत गर्नेगरि कर्मचारीहरुले हस्ताक्षर गरेका छन । छाडा पशु चौपाया नियन्त्रण, फुटपाथ व्यवस्थापन, मासु व्यवसायीको मापदण्ड तयार भई सम्वन्धित पसलमा टाँस गर्ने, कवाडी तथा अटोमोवाइल पसलको अनुगमन व्यवस्थापन कार्य शुरु गर्ने, काञ्जिहाउस निर्माण गर्ने, फोहरमैला व्यवस्थापनको तालिकालाई व्यवस्थित गर्ने, जथाभावी फोहरमैला फाल्नेहरु माथिको अनुगमनलाई जारी राख्ने लगायत करारमा समेटिएका अन्य बुँदाहरुमा आगामी नगरपरिषदको पूर्व तयारीसंग पनि सम्वन्धित छन ।

Post a Comment

 
Top