0
गोल्डेन न्यूज संवाददाता
पत्रकार तथा मुक्तककार रूद्रबहादुर श्रीस मगरको मगर भाषाको पहिलो साहित्यिक कृति पल्झ पल्झै अर्थात् घरी–घरीको शनिबार एक कार्यक्रमका बीच पोखरामा विमोचन गरियो । सो कृतिको मगर भाषा प्रतिष्ठानका केन्द्रीय अध्यक्ष एवं मगर भाषाका अग्रज साहित्यकार लोकबहादुर थापामगर, जीतबहादुर सिंजाली मगर साहित्य प्रतिष्ठानका अध्यक्ष सञ्जोग लाफा मगर, नेपाल मगर संघका केन्द्रीय सदस्य एवं गण्डकी अञ्चल इञ्चार्ज झलकबहादुर रानामगर, नेपाल मगर संघ कास्कीका अध्यक्ष पूर्णबहादुर रानामगर, नेपाल मगर लेखक संघ गण्डकी अञ्चल समितिका अध्यक्ष गीता थापामगर र नेपाल मगर महिला संघ कास्कीका वरिष्ठ उपाध्यक्ष नुनु रानामगरले सामूहिक रूपमा विमोचन गरेका थिए । कृतिको विमोचनपछि बोल्दै मगर भाषाका अग्रज साहित्यकार थापामगरले मगर भाषा नजान्ने व्यक्ति स्रष्टा श्रीसले मगर भाषा सिकेर साहित्य नै लेख्नु उदाहरणीय भएको बताए ।  स्रष्टा श्रीसले मगर भाषा नजान्नेका लागि बाटो देखाएको उल्लेख गर्दै उनले मगर भाषा बोल्नेहरूका लागि चुनौति नै भएको बताए । कार्यक्रमका विशेष अतिथि जीतबहादुर सिंजाली मगर साहित्य प्रतिष्ठानका अध्यक्ष लाफा मगरले मगर साहित्यलाई अन्तर्राष्ट्रियकरण गर्नुपर्ने आवश्यकता रहेको भन्दै मगर भाषा साहित्यका उदीयमान प्रतिभा श्रीसले मगर भाषा सिकेर साहित्य लेखन गर्नु सबैका लागि अनुकरणीय कार्य भएको बताए ।
 
नेपाल मगर संघका केन्द्रीय सदस्य एवं गण्डकी अञ्चल इञ्चार्ज झलकबहादुर रानामगरले मुक्तककार श्रीसले मगर भाषा सिकेर मगर भाषामै साहित्य लेख्नु मगर समुदायकै लागि गर्वको कुरा भएको भन्दै सबैले मगर साहित्यको विकासका लागि कलम चलाउनुपर्ने बताए । नेपाल मगर संघ कास्कीका अध्यक्ष पूर्णबहादुर रानामगरले मुक्तककार श्रीस बहुमुखी प्रतिभाको धनी भएको बताउँदै मगर साहित्यमा कलम चलाएर श्रीसले मगर समुदायलाई ठूलो गुन लगाएको उल्लेख गरे । नेपाल मगर लेखक संघ गण्डकी अञ्चल समितिका अध्यक्ष गीता थापा मगरले मगर भाषा साहित्यमा खडेरी भएको र अहिलेको चुनौतीपूर्ण बेलामा पनि मुक्तककार श्रीसले साहित्यिक कृति प्रकाशन गरेर प्रशंसनीय कार्य गरेको बताए ।  कृतिको समीक्षा गर्दै नेपाल मगर भूसाल संघका केन्द्रीय अध्यक्ष एवं समीक्षक यामबहादुर बरहीमगरले श्रीसको मुक्तक संग्रह अन्त्यन्त उत्कृष्ट बनेको बताए । कार्यक्रममा नेपाल मगर महिला संघ कास्कीका वरिष्ठ उपाध्यक्ष नुनु रानामगर, प्रगतिशील लेखक संघ नेपालका केन्द्रीय सदस्य परशुराम कोइराला, मुक्तक मञ्च, पोखराका अध्यक्ष सरु लामिछाने, स्रष्टा रूद्रबहादुर श्रीस मगर लगायतले आ–आफ्नो भनाइ राखेका थिए । यसअघि श्रीसको जिन्दगीका विरही भाकाहरू (२०६८) नामक नेपाली भाषाको गजल संग्रह प्रकाशित भइसकेको छ । प्रतिष्ठानका अध्यक्ष फूलकुमारी थापामगरको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन कोषाध्यक्ष मीना थापामगरले गरेकी थिइन भने उपाध्यक्ष रूद्रबहादुर हितानमगरले स्वागत मन्तव्य तथा कार्यसमिति सदस्य कुमार थापामगरले स्रष्टा परिचय दिएका थिए ।

Post a Comment

 
Top