0
गायक बिक्की गुरुङ र नरेश राईको पप तथा आधुनिक गीतहरुको सङ्ग्रह ‘सञ्जोग’ अनुपम म्युजिकको छैटौँ प्रस्तुतिमा बजारमा आएको छ । एल्बममा बिक्कीको स्वरमा ४ वटा र नरेशको स्वरमा ४ वटा गीतहरु रहेका छन् । एल्बममा अनुराग अधिकारी, राजेन्द्र अधिकारी, दुर्गाबहादुर शाह ‘बाबा’, पदम गाहा मगर र नवराज बरालको रचना तथा राजेश क्षेत्री, एन.जे. सागर ठकुरी र नवराज बरालको सङ्गीत रहेको छ । सम्पूर्ण गीतमा राजेश क्षेत्रीको सङ्गीत संयोजन रहेको छ । 

पोखरा लिङ्कन इन्टरनेशनल कलेजका निर्देशक, एडिटेक नेटवर्कका प्रबन्ध निर्देशक तथा सिभिल इन्जिनियर बिक्कीको रेकर्ड भएको यो नै पहिलो एल्बम हो । यसअघि बैङ्लोर बी.एम. एस. कलेज अफ इन्जिनियरिङमा पढदादेखि नै मञ्चीय प्रस्तुति गरेका गुरुङ नेपाल स्टार २००५ मा पनि उत्कृष्ट गायक ठहरिएका थिए । ‘अनौपचारिक रुपमा विभिन्न प्रस्तुतिहरु गरे पनि यो नै मेरो डेब्यु एल्बम हो’ गुरुङले भने–‘अहिलेसम्म पाएको स्रोता र शुभचिन्तकको सुझावले हौएिको छु ।’ यसअघि नै एलिजा स्टार–२ का फस्ट रनर अप भएका दार्जिलिङका अर्का गायक नरेश राईको पनि यो नै पहिलो एल्बम हो । ५ वर्षअघि पारिवारिक कामले पोखरा आएका राईलाई पोखराको माहौलले आकर्षित गरेपछि यहीँ सङ्घर्ष गर्ने रहर जागेर यहीँ बसेको उनको भनाइ छ । हाल त्रिवेणी सङ्गीतालयमा सङ्गीतको औचारिक ज्ञान हासिल गरिरहेका राई पनि यो एल्बमबाट निकै आशावादी देखिएको छ । उनी भन्छन्–‘म पोखराको साङ्गीतिक माहौलबाट निकै प्रभावित छु, यहीँका सङ्गीतकर्मीहरु सँग हातेमालो गर्दै अघि बढ्ने छु ।’ एल्बमका प्रस्तुतकर्ता लोकेन्द्र अर्यालले असल मित्रताको चिनोका रुपमा आफूले यो एल्बम स्रोतासामु ल्याएको बताए । यसले गीत सङ्गीतप्रति रुचि नभएकालाई पनि आकर्षित गर्ने अर्यालको दाबी छ । 
सवारी दुर्घटनामा परी ज्यान गुमाएका आफ्नी अर्धाङ्गिनी जमुना पहारी अर्यालमा समर्पण गरी लोकेन्द्रले प्रस्तुत गरेका एल्बमका गायक बिक्की र नरेशको प्रतिभालाई बाहिर ल्याउनु जरुरी भएकाले पनि आफूले यो पहल गरेको उनले बताए । एल्बमका पोखरासँग सम्बन्धित केही गीतहरुको म्युजिक भिडियो निर्माणको तयारीमा रहेको उत्पादक तथा वितरक अनुपम म्युजिकका प्रबन्ध निर्देशक अनुराग अधिकारीले जानकारी दिए ।











Post a Comment

 
Top