0
राजाराम पौडेल
नेकपा एमालेका सचिव योगेश भट्टराईले आन्दोलनरत मधेसी दलले मधेशी जनतालाई ‘इमोसनल व्ल्याकमेलिङ’ गरेको आरोप लगाएका छन् । उनले मधेसी जनताको सोझोपनको फाइदा उठाउँदै त्यहाँ रहेका ठालुहरुले गुमेको सत्तालाइ पुनःस्थापित गर्न खोजेको दावी गरे । प्रेस चौतारी कास्कीले मंगलवार पोखरामा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले मधेसी जनताको सोझोपन, गरिबीपन, अशिक्षाको फाइदा उठाउँदै सत्ताको मुख्य केन्द्रमा रहेर हालिमुहाली गरेका मधेसी ठालुहरुले आन्दोलन गरेको उनको आरोप छ ।
नेपाल भित्रको समस्या नेपाली आँफैले समाधान गर्न सक्ने भन्दै उनले यो समस्या समाधानका निम्ति अन्य कुनै राष्ट्रले मध्यस्तता गर्नु नपर्ने जिकिर गरे । ‘मधेसमा देखिएको केहि असन्तुष्टि नेपालीहरुको बीचमा संवाद गरेर हल गर्न सक्छौं’–उनले भने । उनले मधेसी मोर्चाले भनेझंै सीमाङ्कनको हेरफेर नहुने स्पष्ट पार्दै उनले अहिलेनै सीमाङ्कन हेरफेरको कुनै औपचत्य नभएको र सीमाङ्कन हेरफेर गरिए हजारौं ठाउँमा विद्रोह निम्त्याउने दावी गरे । विवादित पाँच जिल्लामा जनमत संग्रह गर्न भने सकिने स्पष्ट पार्दै नेता भट्टराईले संघीय आयोग बनाएर संघीयताको समाधान खोज्ने प्रयास मधेसी मोर्चाले अस्वीकार गरेकोले अब राजनीतिक समिति वा संसदिय समिति बनाएर छलफल गरी समस्या समाधान गर्नुपर्नेमा जोड दिए । यसरी निर्माण गरिएको समितिको निर्णयले सीमाङ्कनको हेरफेर गर्ने औचित्य पुष्टि गर्न सके पुनःविचार गर्न आफूहरु तयार रहेको बताए । 

एमाले प्रचार विभाग प्रमुख समेत रहेका भट्टराइले तराईका जनता माझ फैलाइएको भम्र चिर्न नेकपा एमालेले तराईमा तीन महिने अभियान सञ्चालन गर्न लागेको जानकारी दिए । मधेसमा रहेका ठालु र सर्वसाधरणलाई बाघ र बाख्रासँग तुलना गर्दै उनले जसरी बाघ र बाख्रा सँगै हिंड्न सक्दैनन् त्यसरीनै ठालु र सर्वसाधारण पनि संगै हिंड्न नसक्ने उनले स्पष्ट पारे । एमालेको तीन महिने अभियानले मधेशमा ठालु र सर्वसाधारण छुट्याइदिने भन्दै उनले वर्तमान संकटको समाधानका लागि एमाले नेतृत्वको सरकार उच्चस्तरी ढंगबाट लागेको बताए । भारतले गरेको अघोषित नाकाबन्दी विस्तारै हट्दै गएको भन्दै उनले अबको केही दिनमा नै आपूर्ति सहज हुने  विश्वास व्यक्त गरे । संसदको ठूलो दल नेपाली कांग्रेसले संसद चल्न नदिनु अस्वभाविक भएको उनको भनाइ थियो । नेपालमा संविधान घोषणा पछिको नाकाबन्दीले सबै क्षेत्रमा संकट उत्पन्न भएको उल्लेख गर्दै उनले भूकम्पले थलिएका नेपालीले नाकाबन्दीलाई संयमताको साथ सामना गर्नु सम्मान योग्य रहेको बताए ।अर्को प्रसगंमा नेता भट्टराईले उत्तरी छिमेकी मुलुक चीनसँग पेट्रोलियम पदार्थको कारोबार गर्ने सम्झौता पत्रमा एक हप्ता भित्रमा हस्ताक्षर हुने जानकारी दिए ।  प्रेस चौतारी कास्कीका उपाध्यक्ष राम्जी प्रसाद लम्सालको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत मन्तव्य चौतारी कास्कीका सदस्य गौरव त्रिपाठी र कार्यक्रम सञ्चालन प्रेस चौतारी कास्कीका कोषाध्यक्ष राजाराम पौडेलले गरेका थिए ।

Post a Comment

 
Top