0
गोल्डेन न्यूज संवाददाता
पोखराको पर्यटकीय गन्तव्य मध्येको आकर्षक पर्यटकीय स्थल महेन्द्रगुफा, चमेरोगुफाको विकास प्रवर्धन एवं समुचित व्यवस्थापनका लागि विभिन्न उप–समितिहरु गठन गरिएका छन्। विन्ध्यवासिनी उच्च मा.वि.पोखरा–१६ को मातहतमा रहेका यि दुई गुफाबाट हुने आम्दानी विन्ध्यवासिनी उ.मा.वि.को शैक्षिक उन्नति र भौतिक निर्माणमा खर्च हुँदै आएको छ। विनाशकारी महाभूकम्प र त्यसपछिको मधेश आन्दोलन र अघोषित नाकाबन्दीका कारण पर्यटक आगमनमा भएको व्यापक गिरावटले आम्दानीमा ह्रास आएको छ। मुलुकको प्रतिकूल अवस्थाबाट गुफा क्षेत्रको व्यवस्थापन गर्न विद्यालय व्यवस्थापन समिति मातहत रहेको महेन्द्रगुफा चमेरो गुफा पर्यटन विकास उपसमितिले छुट्टै समिति गठन गरेर जिम्मेवारी प्रदान गरेको छ। गोविन्द बहादुर बस्नेतको अध्यक्षतामा बसेको बैठकले विभिन्न उपसमिति चयन गरेको छ। महेन्द्र गुफा चमेरोगुफा प्रचारप्रसार तथा प्रवर्धनका लागि पत्रकार यदुनाथ वञ्जाराको संयोजकत्वमा पत्रकारद्वय शिवराज देवकोटा र मोहन थापा रहेको तीन सदस्यीय उपसमिति गठन गरेको जनाएको छ।
 
समितिले महेन्द्रगुफा, चमेरोगुफाको बृहत्तर प्रचार–प्रसार गर्ने बताइएको छ। पर्यटकीय दृष्टिले महत्वपूर्ण मानिएको यस गुफालाई पर्यटन गाइडहरु र ट्राभल व्यवसायीहरुले ओझेल पार्दै लगेका छन्। उनीहरुले गुप्तेश्वर गुफालाइ नै महेन्द्र गुफा भन्दै पर्यटकहरुलाई हाफ डे साइट सिन भित्र पार्ने गरेका कारण पर्यटक र गुफा दुबैलाई अन्यायमा पारेको बताइरहेका बेला नव गठित समितिले त्यसलाई चिर्ने अपेक्षा गरिएको छ। यस्तै गुफाक्षेत्रको योजना निर्माण तथा कार्यान्वयनका लागि अध्यक्ष गोविन्द बहादुर बस्नेतको संयोजकत्वमा समिति निर्माण गरिएको छ। उक्त समितिमा सबै क्षेत्रको प्रतिनिधित्व रहेको छ। यस्तै कृष्ण बहादुर कार्कीको संयोजकत्वमा कृष्ण बहादुर के.सी. र याम बहादुर सुनार रहेको विकास निर्माण उपसमिति चयन गरिएको छ। यस्तै शिवराज देवकोटाको संयोजकत्वमा खरिद तथा लिलाम उपसमिति गठन गरिएको छ। २०७२ मंसिर ५ गते बसेको गुफा क्षेत्र पर्यटन विकास समितिको बैठकको निर्णय अनुसार गठन भएका विभिन्न उपसमितिहरुले मंसिर १८ गतेबाट आफ्नो काम सुरु गरेका छन्। विद्यालयका प्राचार्य खिमलाल अधिकारीले उपसमितिहरुको काम कार्बाहीहरुमा विद्यालयले पूर्ण सहयोग गर्ने बताए।

Post a Comment

 
Top