0
गोल्डेन न्यूज संवाददाता
जिल्ला प्रशासन कार्यालय कास्कीले पोखरामा तत्काल ग्यास वितरण नहुने स्पष्ट पारेको छ ।  ग्यास वितरण हुने हल्लाले पोखरामा रहेका विभिन्न ग्यास डिपोमा हजारौं सर्वसाधारणहरु सिलिण्डर सहित लामवद्ध छन् । यसै विषयलाई मध्यनजर गर्दै प्रशासनले पोखरामा ग्यास आपूर्ति नभएकाले तत्काल ग्यास वितरण गर्ने कुनै कार्यक्रम नरहेको भन्दै ग्यासको आशमा लामवद्ध भएर नबस्न आग्रह गरिएको छ । जिल्ला प्रशासन कार्यालय कास्कीका प्रशासकीय अधिकृत रामजीप्रसाद कोइरालाले बुधबार एक सूचना विज्ञप्ति जारी गर्दै ग्यास आपूर्ति पश्चात ग्यास वितरण हुने स्थान, संख्या र ग्यास कम्पनी किटान गरि सूचनामार्फत नै जानकारी गराइने भएकाले हल्लाको पछि नलाग्न सर्वसाधारण सबैमा आग्रह गरेका छन् ।
 
यसैबीच ग्यास अभाबमा मट्टितेलको प्रयोग गर्दै आएका पोखरा र लेखनाथका उपभोक्तालाई पहिलो पटक मट्टितेल वितरण गरिने भएको छ । बिहीवार पोखराका तीन स्थानबाट ९ हजार र लेखनाथका एउटा स्थानबाट तीन हजार लिटर मट्टितेल बितरण गरिने जिल्ला आपूर्ति समिति कास्कीले जनाएको छ । प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर राउतको अध्यक्षतामा बुधवार बसेको वैठकले यस क्षेत्रका उपभोक्ताका लागि १२ हजार लिटर मट्टितेल वितरण गर्ने निर्णय गरेको हो । जस अनुसार लेखनाथको शिशुवा स्थित लेखनाथ आयल स्टोर्स, पोखराको शान्ति प्रोभिजनल स्टोर्स, विन्ध्यवासिनी, विकास स्टोर्स, विरौटा र शाकार आयल स्टोर्स, सिमपानीबाट तीन–तीन हजार लिटरको दरले मट्टितेल वितरण गरिनेछ । तोकिएको डिलरहरुबाट प्रति परिवारलाई ५ लिटरको दरले मट्टितेल उपलब्ध गराईने छ । लाइनमा बसेका व्यक्तिहरुको नाम, थर र ठेगाना सहितको विवरण राखी सो परिमाणमा मट्टितेल वितरण गर्न लागिएको जिल्ला प्रशासन कार्यालय कास्कीले जनाएको छ ।

Post a Comment

 
Top