0
गोल्डेन न्यूज संवाददाता
 नेपाल सरकारका सूचना तथा सञ्चार प्रविधि मन्त्री शेरधन राईले अबको केही दिनमै देशले निकास पाउने दाबी गरेका छन् । प्रेस चौतारी कास्कीले मंगलबार पोखरामा गरेको पत्रकार भेटघाट कार्यक्रममा मन्त्री राइले आन्दोलनरत मधेसी मोर्चासँग अब निर्णायक वार्ता हुने र केही दिनमै सहमति जुट्ने दावी गरे । सरकारका प्रवक्तासमेत रहेका मन्त्री राईले मिति, समय र स्थान तोकेर सरकारले निर्णायक वार्ताको आह्वान गर्ने बताए ।  ‘काठमाडौं वा तराई जुनसुकै ठाउँमा पनि वार्ता हुन सक्छ’ उनले भने,–‘अबको वार्ता निर्णायक हुन्छ, वार्ता काठमाडौं वा तराई, मधेस जहाँ पनि हुनसक्छ, तर त्यो वार्ता सहमतिमा नपुगुञ्जेल जारी रहन्छ ।’ उनले काठमाडौंमै वार्ता भएपनि अबको वार्तामा मधेसी मोर्चा सहभागी हुने विश्वास समेत व्यक्त गरे । मधेसी मोर्चा अबको निर्णायक वार्तामा नआए सरकार चुप लागेर नबस्ने उनले चेतावनी दिए । उनले भने,–‘मधेशी मोर्चा अबको निर्णायक वार्तामा बस्छ, यदि बसेन भने सरकार चुप लागेर बस्दैन, संविधान र कानून अनुसार अगाडि बढ्छ ।’ सञ्चार मन्त्री राईले हाल जारी भएको संविधान संसारकै उत्कृष्ट भएको दाबी गर्दै यसले कसैलाई पनि विभेद नगरेको स्पष्ट पारे । संविधानको स्वागत र अस्वीकार गर्ने दुई कोणबाट हेरिएको भन्दै अस्वीकार गर्ने पक्षले विलकुलै गलत, नाजायज मनसायबाट भ्रम फैलाएकाले यसलाई चिर्न सरकारले ‘जनताको संविधान, जनताकै माझमा’ एक महिने अभियान सञ्चालन गरिरहेको जानकारी दिए । सञ्चारमन्त्री राईले भूकम्पपीडित जनतालाई राहत दिन तत्काल पुनर्निर्माण प्राधिकरण गठन हुने जानकारी दिए । उनले यो वा त्यो बहानामा छिमेकी राष्ट्रसँग सम्बन्ध बिगार्ने पक्षमा सरकार नरहेको स्पष्ट पारे । नाकाबन्दी खुलेपछि सरकार नयाँ ढंगले सन्धि सम्झौता तथा व्यापार सम्झौता पुनरावलोकन गर्ने पक्षमा रहेको भन्दै मन्त्री राईले सञ्चार क्षेत्रलाई सुरक्षित, व्यवस्थित र मर्यादित बनाउने उद्देश्यले अबको मन्त्रिपरिषद बैठकले सञ्चार नीति पुनरावलोकनका लागि एउटा उच्चस्तरीय समिति बनाउने जानकारी दिए । सो समितिलाई तीन महिनाको समय दिएर काम गर्न दिइने उनले बताए । मन्त्री राईले अबको दुई महिना भित्रमा पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माण कार्य शुरु हुने जानकारी दिए । उनले प्रदेश नम्बर ४ लाई उत्तरी छिमेकी राष्ट्रसँग जोड्न उत्तरी कोरला नाका सञ्चालन गर्न सरकारले तयारी गरेको बताए । प्रेस चौतारी कास्कीका अध्यक्ष माधव बरालको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष रामजी प्रसाद लम्साल र सचिव अर्जुन गिरीले पनि बोलेका थिए ।


Post a Comment

 
Top