0
गोल्डेन न्यूज संवाददाता
समाजमात्रै होइन महिलाका लागि कोखनै असुरक्षित हुने क्रम बढेकोमा सरोकारवालाहरुले चिन्ता व्यक्त गरेका छन् । सचेतना समाज नेपाल पोखराद्वारा आयोजित लैगिंक हिंसा विरुद्धको १६ दिने अभियान र नेपाली महिला विषय अन्तक्रिया कार्यक्रममा सहभागि वक्ताहरुले सो कुरा बताएका हुन् । प्रमुख वक्ताको रुपमा बोल्दै संचारिका समूह पश्चिमाञ्चलका अध्यक्ष जमुना वर्षा शर्माले १६ दिने अभियान र नेपाली महिला विषय कार्यपत्र प्रस्तुत गदै महिलाहरु कोखदेखि काख सम्मनै असुरक्षित हुने क्रम बढिरहेको भन्दै त्यसको कारणको खोजि गरिनु पर्नेमा जोड दिइन ।  उनले महिलालाई गर्भपतन गर्न बाध्य पार्ने समाज र परिवार सबैभन्दा बढि दोषी रहेको बताइन । जब सम्म महिलालाका लागि कोख सुरक्षित हुदैन तब सम्म काख पनि सुरक्षित हुन नसक्ने उनको भनाइ थियो । उनले महिला र पुरुष कानुनी एवं सामाजिक दृष्टिकोणबाट समान भएकाले पुरुषलाई महिलामाथि हिंसा गर्ने अधिकार नभएको स्पष्ट पारिन् । समुन्नत समाजका लागि एकले अर्काको आत्मसम्मान, सहअस्तित्व र समान जिम्मेवारी र भूमिकाबाट अघि बढ्न सके हिंसा न्यूनिकरण हुने उनको भनाइ थियो ।
 
अधिवक्ता तिलक पराजुलीले सभ्य समाजकालागि लैगिंक हिंसा कलङ्क भएको बताए । महिला अधिकारको आन्दोलनको उपज राष्ट्रपति र सभामुख महिला भएको भन्दै अधिकार प्राप्तिको आन्दोलनमा महिला पछि हट्न नहुने बताए । अर्का वक्ता कमल ढकालले समाज परिवर्तनका लागि साँस्कृतिक रुपान्तरणमा जोड दिनु पर्ने बताए । अधिवक्ता विनिता नेपालीले समाजले महिला र पुरुषलाइ हेर्ने गहिरो भेदभाव र फितलो दृष्टिकोण परिवर्तन आवश्यक रहेको बताइन ।
अधिवक्ता गिता आचार्यले पुराना धर्म ग्रन्थहरुले नै महिलालाई सम्मान गर्न नसक्दा त्यसैबाट विकसित संस्कृतिले महिलामाथिको हिंसालाई बढावा दिएको बताइन ।  मिडिया विश्लेषक शेखर पराजुलीले लैगिंक हिंसा न्यूनिकरणमा संचारको महत्वपूर्ण भूमिका हुने बताउँदै पत्रकारले तथ्यांकको भन्दा तथ्यको पछि लागेर वास्तविकता उजागार गर्नु पर्ने बताए ।
 
नागरिक समाज पोखराका संयोजक रामबहादुर पौडेलले हिंसा न्यूनिकरणको पहल घर घरबाट थालनी गर्न सके स्वतः हिंसा रहित समाज र राष्ट्र बन्न सक्ने बताए ।  सचेतन समाज पोखराका संयोजक अधिवक्ता सुरेन्द्र थापा मगरले महिला हिंसा बढ्नुमा राजनीतिक, आर्थिक, सामाजिक, सांस्कृतिक र मनोवैज्ञानिक कारण प्रमुख रहेको भन्दै समाजको निर्माणकालागि शारीरिक र मानसिक रुपमा महिलाहरु मजबुत हुन आवश्यक रहेको बताए । कार्यक्रमा अधिवक्ता शिव सुनार, प्रभाष पराजुली, भगवति शर्मा, सौन्दर्यकर्मी गिता के.सी, रेडियो जननीका स्टेशन म्यानेजर विमला भण्डारी लगायतले घर शान्ति नै विश्व शान्तिको आधार भन्ने भनाइलाई आत्मसात गरीहिंसा रहित समाजको साझा अभियानमा महिला पुरुष दुवै जुट्न सके परिवर्तन सम्भव हुने बताउनु भयो । रेडियो जननीको आतिथ्यतामा सम्पन्न कार्यक्रमको सभाध्यक्षता प्रध्यापक उमाकान्त शर्माले गर्न भएको थियो ।


Post a Comment

 
Top