0
आगामी पुस ८ गतेदेखि भारतमा हुने साफ च्याम्पियनसिपका लागि अनिल गुरुङको कप्तानीमा नेपाली टोलीको घोषणा गरिएको छ । अखिल नेपाल फुटबल सङ्घ(एन्फा) ले सोमबार पत्रकार सम्मेलन गरी २० सदस्यीय नेपाली टोलीको घोषणा गरेको हो । नेपाली टोलीको फर्वार्ड लाइनमा अनिलसँगै जगजित श्रेष्ठ, विमल घर्ती मगर, अञ्जन विष्ट, नवयुग श्रेष्ठ र नवीन लामा छन् । मिडफिल्डमा रोहित चन्द, हेमन गुरुङ, विक्रम लामा, विशाल राई र योगेश गुरुङ तथा डिफेन्डरमा रञ्जित धिमाल, रवीन श्रेष्ठ, जितेन्द्र कार्की, अनन्त तामाङ, आदित्य चौधरी र विराज महर्जन छन् । गोलकिपरमा किरण चेम्जोङसँगै विकेश कुथु र अमृत चौधरी छन् । साफमा नेपाल आयोजक भारत र श्रीलङ्कासँगै समूह ‘ए’ मा रहेको छ । अर्को समूहमा डिफेन्डिङ च्याम्पियन अफगानिस्तान, माल्दिभ्स, बङ्गलादेश र भुटान छन् । नेपाल साफमा कहिल्यै सेमिफाइनलभन्दा माथि पुगेको छैन ।नेपालले पहिलो दिन श्रीलङ्कासँग तथा पुस १२ गते भारतसँग खेल्नेछ । साफ च्याम्पियनसिपअघि नेपाली टोलीले पुस २ गते  ढाकामा बङ्गलादेश सँग मैत्रीपूर्ण खेल खेल्नेछ । रासस

Post a Comment

 
Top