0
गोल्डेन न्यूज संवाददाता
कास्कीको नयाँपुल नजिकै बिहीबार बस दुर्घटना हुँदा २४ जना घाइते भएका छन् । घाइतेमध्ये ४ जनाको अवस्था गम्भीर रहेको कास्की प्रहरीले बताएको छ । बागलुङ्ग–पोखरा सडकखण्ड अन्तर्गत कास्कीको सल्यान गाविस ९ धोवाङ नयाँपुलमा ग१ख ३७९६ नम्बरको बस विहान करिब सवा ११ बजे दुर्घटना भएको हो । पोखराबाट यात्रु लिएर म्याग्दीको बेनी जाँदै गरेको बस अनियन्त्रित भएर सडकमै पल्टिएको प्रहरीले जनाएको छ । दुर्घटनामा चालक पनि घाइते भएका छन् । बस सडकमै पल्टिएकाले अहिले पोखरा–वागलुङ सडकखण्ड अबरुद्ध भएको छ । पल्टिएको बसलाई निकालेर सडक खुलाउने प्रयास भइरहेको ट्राफिक प्रहरी कार्यालय कास्कीले जनाएको छ । घाइतेलाई प्रहरीले उद्धार गरेर उपचारका लागि अस्पताल पठाएको छ । प्रहरीका अनुसार गम्भीर घाइतेसहित ६ जनालाई पोखराको मनिपाल शिक्षण अस्पतालमा उपचारका लागि ल्याइएको छ । २ जनाको स्थानीय अस्पतालमा उपचार गरिँदैछ भने बाँकी १६ जनालाई पर्वतको अस्पतालमा उपचारका लागि पठाइएको वडा प्रहरी कार्यालय बगरका ईन्सपेक्टर मोहन खाँडले जानकारी दिए । दुर्घटनास्थल पोखराबाट करिब २५ किलोमिटर पश्चिममा पर्छ ।


Post a Comment

 
Top