0
गोल्डेन न्यूज संवाददाता
नेपाल महिला संघकी केन्द्रीय सभापति डा. डिला संग्रौलाले नेपाली कांग्रेसको संगठनमा कम्तिमा ३३ प्रतिशत महिलाको सहभागिता बनाइनुपर्नेमा जोड दिएकी छन् । गण्डकी र धवलागिरि अञ्चलका विभिन्न जिल्लामा महिला संघका कार्यकर्ता र कांग्रेस कार्यकर्ताहरु संग भेटघाट र अन्तक्र्रिया सकेर मंगलबार पोखराबाट लुम्विनी अञ्चलतर्फ लागेकी उनले सुनौलो एफएम र गोल्डेन न्यूज दैनिकसंग कुरा गर्दै संविधानमा ३३ प्रतिशत महिला सहभागिता सुनिश्चित भैसकेको अवस्थामा पार्टी संगठनभित्र पनि महिलाको सहभागिता ३३ प्रतिशत बनाउन आफूहरुले लिखित प्रस्ताव सहित विधान संशोधनका लागि माग गरेको बताइन । महिला संघका केन्द्रीय समितिमा रहेका र आफ्ना केही समर्थकहरु सहित जिल्ला भ्रमणमा निस्किएकी उनले कांग्रेसको विभिन्न तहको संगठनहरुमा समेत प्रमुख पदमा महिलाको सहभागिता सुनिश्चित हुनुपर्ने बताइन । महिला संघको सभापति मनोनित भएपछि महाधिवेशनका लागि आफू तयार रहेपनि पार्टीको तर्फबाट आवश्यक सहयोग नहुँदा महाधिवेशन गर्न नसकेको स्पष्ट पार्दै उनले सबै जिल्लाहरुमा अधिवेशन सकिएको तर केन्द्रीय महाधिवेशन हुन नसकेको बताइन । यसअघि आगामी कार्यकालका लागि पनि महिला संघको सभापति बन्ने चाहना राखेकी उनले केही महिना यता भने आफू महिला संघको सभापति बन्न भन्दा पार्टीको आशन्न १३औं महाधिवेशनमा केन्द्रीय सदस्य पदमा उम्मेदवार बन्ने जानकारी दिइन । यसअघि १२औं महाधिवेशनमा आफू थोरै मतले पराजित भएको स्मरण गर्दै उनले आशन्न महाधिवेशनमा भने सबैको साथ र सहयोगबाट आफू विजयी बन्ने विश्वास व्यक्त गरिन । १२औं महाधिवेशनमा कांग्रेसका ३ लाख ५० हजार क्रियाशील सदस्य रहेकोमा ५० हजार मात्र महिला रहेको भन्दै उनले यस पटक महिलाहरुको संख्या पनि बढ्ने र महत्वपूर्ण पदहरुमा महिलाहरुले आरक्षण विना नै प्रतिस्पर्धामा आउने वातावरण सृजना हुने विश्वास व्यक्त गरिन् । महिला संघका केन्द्रीय सदस्यहरु हीरादेवी शर्मा, पार्वती राना, आनन्दी राणा कार्की, ललितकला गुरुङ हरि प्रभा खड्की, रविकला खनाल, दिल रायमाझी पौडेल, तारा गुरुङ सहितको टोली गण्डकी–धवलागिरि भ्रमणपछि लुम्विनीतर्फ लागेको छ ।

Post a Comment

 
Top