0
गोल्डेन न्यूज संवाददाता
उपप्रधानमन्त्री चित्रबहादुर केसीले सबै एकजुट भएर नेपाल बचाउनुपर्ने बताएका छन्। राष्ट्रिय जनमोर्चा कास्कीद्वारा आयोजित साक्षात्कार कार्यक्रममा जनमोर्चाका अध्यक्ष केसीले भन–“राष्ट्रियता, सार्वभौमसत्ता, भौगोलिक अखण्डताका लागि सबै राजनीतिक दल, नागरिक समाज, एक भएर देश बचाउनुपर्छ, यो नेपालीका लागि परीक्षाको घडी पनि हो।”     नेपाली जनताले आफैँले आफ्नो संविधान तथा राष्ट्रप्रमुख तथा सरकार प्रमुख बनाएकै कारण वर्तमानमा समस्या भोगिरहेको उल्लेख गर्दै उनले नाकाबन्दीलाई सहज बनाउन विभिन्न विकल्पको खोजी भइरहेको जानकारी दिए। हिमाल, पहाड र तराई मिलेर नै नेपाल बनेको बताउँदै उपप्रधानमन्त्री केसीले यिनीहरू अलग हुन नसक्ने धारणा राखे। “तराईका आठ जिल्ला एक ठाउँ भइसकेका छन्, बाँकी १४ जिल्लालाई पनि अलग गर्न खोजिएको छ,” उनले भने–“तराईका २२ जिल्ला पहाडबाट अलग गर्ने हो भने त्यो नेपाल हुन सक्दैन।”  गरिवी निवारण तथा सहकारी मन्त्री समेत रहेका केसीले हिमाल, पहाड र तराई मिलेर नेपाल बनेकोले तराईलाई अलग पार्दा देश नै नरहने भएकोले यस्तो माग कुनै हालतमा सम्बोधन गर्न नसकिने अडान व्यक्त गरे। जनसङ्ख्याको आधारमा मात्र निर्वाचन क्षेत्र बनाउने संसारमा कतै पनि चलन नरहेको उनको भनाइ छ। अङ्गीकृत नागरिक संसारमा कतै पनि सरकार प्रमुख, राष्ट्रप्रमुख तथा सेना प्रमुख नरहेको पनि उनले बताए।  उनले मधेसी दलले उठाएका जनसंख्याको आधारमा निर्वाचन क्षेत्र बनाउने र नेपाली नागरिकता लिएका बिदेशीलाई राष्ट्रप्रमुख बनाउन नसकिने प्रष्ट पारे।  ‘जनसंख्याको आधारमा निर्वाचन क्षेत्र तोक्ने संसारमा कहीँ चलन छैन,’ अनेक मात्र राख्दै प्रर्दशनमा उत्रिएकालाई उनले भने, ‘नेपाली नागरिकता लिएका विदेशीलाई राष्ट्र प्रमुख बनाउने माग पुरा गर्न सकिँदैन।’ मधेसमा भइरहेको प्रदर्शन अरुको उक्साहटमा भइरहेको बताउँदै उनले अहिले उनीहरुको असली रुप प्रष्ट भएको बताए। ‘देश टुक्राउने उद्देश्यले आएका भएपनि हामीहरुले केही भनेका थिएनौं,’ मधेश एक देशको माग अघि बढाउँछौ भन्ने मधेसवादी दलका नेताहरुको भनाइप्रति असन्तुष्टि जनाउँदै उपप्रधानमन्त्री केसीले भने, ‘खास्टाले छोपेको बिरालो म्याउ ग¥र्यो।’ उनले नाजायज मागहरु कदापि पुरा गर्न नसकिने अडान व्यक्त गर्दै तोडफोड, आगजनी र अराजक गतिविधि रोक्न सुझाव दिए। ‘छोरीलाई हप्काएर बुहारीलाई तर्साउने काम नगरे हुन्छ,’ उनले भने,–‘जतिसुकै समस्या झेल्नु परेपनि देशको स्वाभिमान र अस्तित्व झुकाउने काम हुने छैन।’  उनले पहिला दलहरुको सत्ताका लागि लम्पसार पर्ने प्रवृत्ति र जतिसुकै हेपिएर पेलिदा पनि चुपचाप सहेर बस्ने बानीले गर्दा अहिले देशबासीले दुःख पाएका बताए।   ‘राजनीति गरेपछि सत्तामा पुग्नैपर्छ भनेर जतिखेर पनि सत्ताका लागि परशक्तिसामू लम्पसार परे,’ उनले भने,–‘तर अहिले हामी आफैले आफ्नो संविधान, सरकार र राष्ट्र प्रमुख बनाएको परिणामस्वरुप  नाकाबन्दी झेल्नुप¥यो।’ प्रदेशीले जतिसुकै थिचोमिचो र अन्याय गर्दा पनि चुप लागेर सहने र हरेक कुरामा परनिर्भर भइदिँदा अहिलेको समस्या खेप्नु परेको उनले बताए। ‘भूपरिवेष्ठित राष्ट्रले बिना रोकटोक समुन्द्रसँग पुगेर आयात गर्न पाउनु नैसर्गिक अधिकार हो,’ उनले भने,–‘तर भारतले पटक–पटक नाकाबन्दी गर्दा पनि हामी चुपचाप सहेर बस्यौं। केही नबोल्दा फेरि हेपिएका छौं। समस्यामा पारिएका छौँ।’ उनले विगतमा सत्ता हाँक्नेहरुको कमजोरीले गर्दा देश पुरै परनिर्भर बनेकोले अहिले खाद्यान्नदेखि हरेक कुराको समस्या खेप्नु परेको बताए। यसअघि उपप्रधानमन्त्री चित्रबहादुर केसीले पर्वत जिल्लामा सञ्चालित विकास निर्माणका कामलाई तीव्र रुपमा सञ्चालन गर्न कर्मचारीलाई निर्देशन दिएका छन्। कर्मचारीसँगको भेटमा सहकारी तथा गरिबी निवारणमन्त्री केसीले अब मुलुकले आर्थिक विकासतर्फ फड्को मार्नुपर्ने बेला आएकाले विकास निर्माणमा तीव्रता दिन र भ्रष्टाचार न्यूनिकरण गर्न आग्रह गरेका थिए।





Post a Comment

 
Top