0
गोल्डेन न्यूज संवाददाता
मधेसमा जारी आन्दोलन र भारतको नाकाबन्दीबारे संसद्मा प्रतिनिधित्व गर्ने दलको साझा धारणा बनाउने उद्देश्यले आइतबार सर्वदलीय बैठकको आयोजना गरियो । बैठकमा आन्दोलनरत मधेसकेन्द्रित दलबाहेक संसद्मा प्रतिनिधित्व गर्ने अन्य सबै दलको उपस्थिति रहेको थियो । बैठकपछि राप्रपा (नेपाल)का अध्यक्ष एवम् उपप्रधानमन्त्री कमल थापाले मधेसमा जारी आन्दोलन र संविधान संशोधनका विषय, आपूर्ति व्यवस्थामा देखिएको असहजता, भारतबाट आपूर्ति र पारवहनमा भइरहेको अवरोधका विषयमा प्रधानमन्त्रीले सबै दलको साझा धारणा बनाएर जान प्रस्ताव गरेको जानकारी दिए।
 
उनले भने, ‘बैठकमा धारणा राख्दै विभिन्न दलका नेताले पनि यो समस्या कुनै पार्टीको, सत्तापक्ष वा प्रतिपक्षीको मात्रै नभएर मुलुककै साझा समस्या भएकाले यसमा साझा धारणा बनाएर जानुपर्नेमा सहमत हुनुभयो ।’ उनले संसद्मा रहेका प्रमुख दलका शीर्ष नेतासँग फेरि बसेर थप छलफल गर्ने जानकारी दिए। विषयमा छलफल भएपनि साझा धारणा भने नबनेको उनको भनाइ थियो । एकीकृत नेकपा (माओवादी) का उपाध्यक्ष नारायणकाजी श्रेष्ठले बैठकमा देशको परिस्थिति गम्भीर, जटिल बन्दै गएकोमा सबै दलको एकमत रहेको बताए। अहिलेको समस्यालाई राष्ट्रिय समस्याका रुपमा लिएर एकताबद्ध भएर समस्या समाधान गर्नुपर्छ भन्नेमा सबै दलबीच समान मत रहेको पनि उनले जानकारी दिए। उनले भने–‘वार्ताका माध्यमबाट सहमति निकाल्न पनि ठोस रुपमै छलफल गरौँ, आजको छलफल पर्याप्त नभएकाले ठोस निश्कर्ष निकाल्ने गरी फेरि तुरुन्त अर्को छलफल गर्ने सहमति भएको छ ।’ राप्रपाका अध्यक्ष पशुपति शमशेर राणाले आजको बैठकमा प्रधानमन्त्री मधेस समस्या समाधानका लागि गम्भीर देखिएकोे र उनले कडा रुपमा कुरा राखेको जानकारी दिए।
 
यसैबीच तिहार र छठको विदापश्चात् आइतबार बसेको व्यवस्थापिका संसद् बैठक विपक्षी दलको अवरोध भएको छ।  सभामुख ओनसरी घर्ती मगरले आइतबार संसद् बैठक सुरु गर्नासाथ प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेससहित असन्तुष्ट मधेसवादी दलका सभासद्हरु उभिएर विरोध जनाए। त्यसपछि सभामुखले कांग्रेस नेता रामचन्द्र पौडेललाई बोल्न समय दिइन्। पौडेलले संविधान जारी भएपछि देशले सही गति लिने अपेक्षाका बाबजुद देश अत्यन्त गम्भिर अवस्थामा आइपुगेको बताए। ‘आन्दोलनका नाममा धेरै मानिसहरुको निधन र घाइते भएका छन्। विरामी बोकेका एम्बुलेन्समा आक्रमण भएको सप्तरीमा आजै राति दुईजनाको मृत्यु भएको छ। देशभरि जनताले आपूर्ति व्यवस्था अवरोध हुँदा कठिन अवस्थामा भएपनि सरकारले कालोबजारी समानान्तररुपमा चलाइरहेको छ,’ पौडेलले भने। उनले बालाजुबाट बल्खुसम्मको रोडमा कालोबजारी गर्दै ग्यास सिलिण्डर र इन्धन बजार मूल्यभन्दा बढी मूल्यमा चलिरहेको बताए। यसैगरी उनले देशमा कलकारखाना, स्कूल सबै बन्द भन्दै देश आपत्तिमा रहेपनि सरकार निश्कृय भएर कुटनीतिक पहल लिन संकट समाधानका लागि पहल नगरेको आरोप लगाए। उनले भने, ‘सरकार गैरजिम्मेवार भइरहेको छ। एकातिर आन्दोलनका नाममा सिमाक्षेत्रमा कालोबजारी र तस्करी भइरहेको छ भने अर्कोतर्फ सरकारले समानान्तर कालोबजारी गरेको छ।’ ‘हामीले यो समस्या समाधानका लागि जनसंख्याको आधारमा निर्वाचन क्षेत्र निर्धारण तर समानुपातिक समावेशी प्रतिनिधित्व को व्यवस्था गर्न विगतको सरकारले ल्याएको संविधान संशोधन अघि बढाउन सरकार किन आलटाल गरिरहेको छ? आजको सदनमा प्रधानमन्त्री अनुपस्थित रहेर किन गम्भिर हुन सकिरहेका छैनन्।’ देशको अर्थतन्त्र रिणात्मक गतिमा गएको कुराप्रति सजग गराउँदै उनले प्रतिपक्ष स्वयम् समस्या समाधानका लागि सहयोग गर्न खोज्दा सरकार किन तत्पर हुन सकिरहेको छैन भनि प्रश्न गरे। ‘प्रधानमन्त्री मिलेर काम गरौँ भन्ने तर एमाले कांग्रेसको सरकारले गरेका निर्णयसमेत अहिले उल्टाउने काम गरी विगतको सहमतिविपरीत काम गरेपछि कसरी मिलेर जान सकिन्छ,’ उनले भने,–‘राष्टको समस्या समाधान गर्न मिलेर काम गर्न सरकार आफै बाधक भइरहेको छ।’ आन्दोलनकारीले पनि यो सदन घेराउ गरी संसद अबरोध गर्नु भन्दा समस्या समाधानका लागि संसदमा ल्याएका संविधान संशोधन प्रस्ताव पारित गर्न तर्फ लाग्न उनले आग्रह गरे। यसैगरी, अहिले देशको अखण्डता नै संकटमा परेको जिकिर गर्दैै हिमाल, पहाड, तराई एक भएर यो संकटबाट मुलुक र जनतालाई मुक्त बनाउन र समस्यालाई निकास दिन सबैलाई लाग्न भने। त्यसपछि मधेसी दलका सभासद उभिएर विरोध गर्दै तमलोपाका सर्वेन्द्रनाथ सुक्लाले बोल्न समय माग गरेपछि सभामुखले बस्न निर्देशन दिइन्। तर मधेसी सांसदहरुले विरोध गर्दै वेल घेराउ गर्दै नारावाजी गरेपछि बैठक अबरोध भयो। 
 
कांग्रेस नेता पौडेलले बोलेपछि कांग्रेसकै सप्तरीबाट निर्वा्चित सांसदले बोल्न समय माग गरेका थिए। तर मधेसावादी दलका सदस्यहरुले सत्तापक्ष र अन्य दल भन्दा अघि आफूहरुले बोल्न पाउनुपर्ने अडान लिदै सदन घेराउ गरेका हुन्।




Post a Comment

 
Top