0
गोल्डेन न्यूज संवाददाता
पोखरा उपमहानगरपालिकाको गत आर्थिक वर्ष २०७१÷०७२ को सामाजिक परीक्षण सम्बन्धी प्रारम्भिक प्रतिवेदन प्रस्तुति तथा छलफल कार्यक्रम शुक्रबार सम्पन्न भएको छ । नगरपालिकाका कार्यकारी अधिकृत उदयबहादुर रानामगरको अध्यक्षतामा सामाजिक परीक्षक कम्पनी ईको स्मार्ट प्रालिले प्रतिवेदन प्रस्तुत गरेको हो । कार्यक्रममा कम्पनीका तर्फबाट सामाजिक परीक्षक शारदाप्रसाद न्यौपानेले सामाजिक परीक्षणका बारेमा जानकारी दिएका थिए । उनले  ऐन कानूनमा भएको व्यवस्थाका बारेमा समेत सहजिकरण गरेका थिए । त्यस अवसरमा उनले नगरपालिकाले गत वर्ष संचालन गरेका मुख्य मुख्य योजना, त्यसको उपलब्धी, गर्न नसकेका कामहरु तथा अघिल्लो र गत आर्थिक वर्षको कार्यहरु तुलनात्मक रुपमा देखाउँदै प्राप्त भएको प्रगतिका बारेमा प्रस्तुति राखेका थिए । जसअनुसार गत आर्थिक वर्षका नगरपालिका खुल्ला दिशामुक्त, पूर्ण साक्षर घोषणा जस्ता महत्वपूर्ण कार्य हुनुका साथै समग्र विकास बजेट मध्ये ७३ प्रतिशत खर्च भएको पाईएको छ । पोखरा उपमहानगरपालिकाले गत आर्थिक वर्ष ०७१।०७२ मा ५६ करोड ७७ लाखको कूल बजेट संचालन गरेको थियो ।
 
कार्यक्रममा सहभागीहरुले सामाजिक परीक्षणको प्रारम्भिक प्रतिवेदनमा नगरपालिकाले गर्न सकेका कामहरुमा र कार्यान्वयनको चरणमा रहेका कार्यहरुका बारेमा पुरा जानकारी समेटिएपनि हुन र गर्न नसकिएका कार्यहरुमा बारेमा चाहि काम भएन, हुन सकेन भन्ने मात्रै आएको भन्दै त्यसबारेमा किन हुन नसकेको हो या काम हुन नसक्नुका कारण पनि स्पष्ट खुलाईए राम्रो हुने बताएका थिए ।
 
उनीहरुले सामाजिक परीक्षणको अन्तिम प्रतिवेदनमा उल्लेख गर्नुपर्नेमा समेत जोड दिएका छन् । साथै गत बैशाखको भूकम्पका बारेमा प्रतिवेदनमा कुनै कुरा नआएको, वातावरण संरक्षणका लागि भएका प्रयासका बारेमा उल्लेख नगरिएको र स्थलगत अनुगमनमा जाँदा कुनै उदाहरणीय कार्य भएको स्थानमा जान सुझाव दिएका थिए ।
 
सहभागीहरुको गुनासो सुनुवाई गर्दै नगरपालिकाका कार्यकारी अधिकृत उदयबहादुर रानामगरले गत बैशाखको भूकम्पका कारण धेरै विकास निर्माणका योजनाहरुमा सोचेजति प्रगति हासिल गर्न नसकेको बताए । कतिपय योजनाहरुमा भने स्थानीय या सम्बन्धित व्यक्तिहरु सचेत र सक्रिय नहुदाँ शतप्रतिशत नतिजा आउन नसकेको भन्दै उनले अहिले पनि चालुवर्षका योजनाहरु सम्झौता गर्नका लागि नगरवासीलाई ताकेता गर्नुपरेको उल्लेख गरे । कार्यक्रममा नगरपालिकाका वरिष्ठ अधिकृत ओमराज पौडेलले स्वागत गरेका थिए भने प्रशासन विभाग प्रमुख अनन्तप्रसाद कोईरालाले कार्यक्रम संचालन गरेका थिए ।

Post a Comment

 
Top