भारतको अद्योषित नाकाबन्दीले नेपाली नागरिकको चुल्होसम्ममा प्रभाव परेको छ । हिजो बिक्री नभएर स्टोरमा थन्क्याएर राख्नु परेका खाना पकाउने विद्युतीय सामाग्रीहरुको मूल्य सोधी नसक्नु छ । भारतको नाकाबन्दी नहुँदा सहज रुपमा नेपाल भित्रिएर गोदाममा स्टोर गरेर राखिएका खाद्यन्न सामाग्रीको मूल्य सुन्दा पनि आङ नैं सिरिङ हुन्छ । पुरानो दरमा ल्याईएका मूल्य पुरानै दरमा बिक्री वितरण गर्नुपर्ने नियम भएपनि खाद्यन्न व्यापारीहरुले मनलाग्दी नाफा असुलेर बिक्री गरिरहेका छन् । जसले उपभोक्ताको ढाड सेक्ने मात्र काम गरेको छ । व्यापारीहरुले मनलाग्दी नाफा कुम्ल्याई रहेपनि त्यसको नियमन गर्ने निकाय भने देखेपनि नदेखेझैं गरेर बसेको छ । खाद्यन्नको मुल्यले सिमा नै नाघेर के भो र त्यसको प्रत्यक्ष असर निम्न वर्गिय उपभोक्ताले मात्रै भोग्नु पर्छ । किनकी यहाँ हुने खानेहरुलाई कहिल्यै नपुग के छ र । गोदाम टन्न भरिएको छ । आवश्यकता पर्दा जति झिकेपनि भो । जनताका लागि नभइ नहुने खाने तेलको मूल्य ३ सय प्रतिशत वृद्धि भएको छ । खाना पकाउन चाहिने एलपी ग्यासको पनि चरम अभाव भएपछि अहिले पोखरा लगायत देशभरका होटलहरु दाउरा र भूसे चोल्होमा निर्भर हुनुपर्ने अवस्था सिर्जना भएको छ । भने विद्युतबाट खाना पकाउने राईस कुकरको पनि मुल्य छोइनसक्नु छ । राईस कुकर पनि अभाव भएपछि विद्युतबाट खाना पकाउने इलेक्ट्रिनिक्सका समानको अचाक्ली नाफा खाएर व्यवसायहरुले बिक्री गरिरहेका छन् । व्यापारीहरुको मनपरीतन्त्रले उपभोक्ता ठगिएका छन् भने व्यवसायी भने मोटाईरहेका छन् । उपभोक्ता खुलेआम ठग्ने काम निरन्तर चलिरहेका बेला उपभोक्ताको हित अधिकारका लागि वकालत गर्ने सरकारी निकाय भने मौन बसेका छन् । जिल्ला प्रशासन, प्रहरी, नगरपालिका, अदालत, उपभोक्ता मञ्च चुप लागेर बसिरहने होभने उपभोक्ता मारा खेल जारी रहने निश्चित छ । जनताको ढाड सेक्ने गरी व्यापारीहरुले खाद्यन्नदेखि लिएर इलेक्ट्रिोनिक्स समानमा खादै आएको ठूलो भोलुमको नाफालाई समायोजन गर्न सम्बन्धित निकायको ध्यानाकर्षण गराउन उपभोक्ता समयमै सजग हुन जरुरी छ । भारतले अद्योषित नाकाबन्दी गरेपछि सबैभन्दा बढी पेट्रालियम पदार्थमा कालोबजारी हाबी भएको छ । कालो बजारीमा सर्वसाधारण मात्रै होइन प्रहरीकै मिलेमतो रहेको पाईएको छ । कालोबजारी हाबी नहुने होभने भारत र चिनबाट भित्रिएको थोरै पेट्रालियम पदार्थले सबैलाई राहत हुने निश्चित छ । पहुँच हुनेवालाहरुले मात्रै प्रशस्त मात्रामा इन्धन पाईरहेका छन् भने पेट्रोल पम्पसंग पहुँच नहुनेहरुले तेलको गन्धसम्म पाउन सकेका छैनन् । पेट्रोलियम पदार्थपछि एलपी ग्यास, खाने तेल र खाद्यन्नको मूल्य विशेष गरी आकाशिएको छ । बजारमा नाकाबन्दी पूर्व ढुवानी गरी भण्डारण गरिएको खाद्यन्नको मूल्यवृद्वि गरेर व्यापारीहरु मोटाउने काम गरेका छन् । यस्तो उपभोक्ता मारा बेतिथिलाई निमिठ्यान्न पार्नका लागि सम्बन्धित निकायले प्रभावकारी कदम चाल्न आवश्यक छ ।
Subscribe to:
Post Comments (Atom)
Post a Comment