0
गोल्डेन न्यूज संवाददाता
पाँचवर्ष अघि सार्दीखोलामा व्यवसायिक रुपमा रेन्बो ट्राउट माछा उत्पादन थालेको गण्डकी ट्राउट फार्म हाउसले अब पोखराको जरेबरमा बिक्री कक्ष खोल्ने भएको छ । सार्दीखोला र आसपासमा ट्राउटको उत्पादन ह्वात्तै बढेपनि पोखरामा सोचेजस्तो बजार विस्तार नभएपछि गण्डकीले बिक्रीकक्ष खोल्न लागेको हो । पाँचवर्ष अघि गण्डकीले १५ वटा ‘रेसवे’ बाट व्यवसाय थालेकोमा अहिले ६० वटा पुगेका छन् । त्यति मात्र नभएर रेस्टुरेन्ट, लज, स्विमिङ पुल समेत संचालन गर्दै आएको छ । गण्डकी ट्राउट फार्म हाउसका संचालक लक्षिन गुरुङले भने, ‘हाम्रो फार्ममा उत्पादित माछा त यहीं खपत हुन्छ । तर अन्यत्रका माछाले बजार नपाएपछि पोखराका ग्राहकलाई केन्द्रित गरी बिक्री कक्ष खोल्न लागेको हो ।’
 
बिक्री कक्षमा माछाका साथमा मसला मिश्रित ग्रेभी समेत उपलब्ध गराइने उनले बताए । कास्कीमा व्यवसायिक रुपमा ट्राउट उत्पादन भए पनि सिमित रेस्टुरेन्टमा मात्र मीठो स्वादमा चाख्न पाएको र अब देखि हरेक उपभोक्ताको घरमा गण्डकी फार्म हासउकै स्वादमा माछा खान सक्ने बनाउन बिक्री कक्ष खोल्न लागिएको लक्षिनले जनाए । ‘अधिक उपभोक्ताले ट्राउट माछा खान पाउन भन्ने हो’ उनले भने, ‘यसले बिक्री बढाउने अपेक्षा छ ।’ नुवाकोट, रसुवा, सिन्धुपाल्चोक र काभ्रेमा भन्दा कास्कीमा ट्राउटको मूल्य निकै सस्तो भए पनि यहाँको ग्राहकको ध्यान तान्न नसकेपछि यो उपाय निकालिएको उनको भनाइ छ । उनले भने, ‘चाउचाउ पानीमा हालेर एकछिन उमालेपछि खान मिलेजस्तै अब ट्राउट पनि सबैको भान्सामा सहजै पाक्ने बनाउन यसो गर्न लागिएको हो ।’ लसुन, प्याजको लेदो बनाएर त्यसमा काजु समेत मिसाइ आवश्यक मसला थपेर लामो समयसम्म पकाएपछि ग्रेभी तयार हुन्छ । नुन भने आफ्नो रुची अनुसार राख्न सकिन्छ ।
 
माछाको लागि अलग्गै मसला आवश्यक पर्छ । अहिले ग्राहकहरुले ग्रेभी, फ्राइ, स्टिम र ग्रिल्ड माछाको स्वाद मात्र चाख्दै आएका छन् । विदेशमा यी वाहेकका पनि परिकार बन्ने गरेको र पोखरामा पनि सोही अनुसार उपलब्ध गराउन लागिएको लक्षिनले सुनाए । बिक्री कक्षमा फिंगर साइज, दुई सय ग्राम, छ सय ग्राम र एक किलो सम्मका गरी पाँच थरी माछा पाइनेछन् । जति सानो आकारका माछा उति मूल्य पर्ने छ । 

हाल पोखरामा आठ सय ५० रुपैयाँ प्रतिकिलोमा ट्राउट माछा उपलब्ध छ । फिंगर साइजको माछालाई भने ग्राहकले १२ सय रुपैयाँ तिर्नुपर्ने हुन्छ । एक किलो माछाको लागि एक सय ५० रुपैयाँको ग्रेभी चाहिन्छ । दुई किलो भन्दा बढी माछा खरिद गर्न चाहेमा घरघरमै पु¥याउने ब्यवस्था समेत गरिएको अर्का संचालक अमृत गुरुङले बताए । लक्षिन र अमृत गुरुङ पाँच वर्ष अघि ८० लाख रुपैयाँ लगानिमा सार्दीखोलामा फार्म हाउस संचालनमा ल्याएका थिए । हालसम्म व्यवसायिक व्यवसायिक कृषि तथा ब्यापार आयोजना(प्याक्ट) को समेत गरी तीन करोड रुपैयाँ लगानि भइसकेको छ । अहिले कास्कीमा मात्र वार्षिक ५० टन भन्दा बढी ट्राउट उत्पादन हुँदै आएको छ । फाट्ट फुट्ट विदेश निर्यात बाहेक आन्तरिक बजारमै यो माछा खपत हुने गरेको छ ।






Post a Comment

 
Top