धु्रवप्रसाद शर्मा
कुनै दिन मुम्बई, गोरखपुर र कलकत्ताका कोठीमा नेपाली चेली बेचिएको, कतै सासूले बुहारी मारेको अनि ‘फुक्लान’को टापुमा लड्दालड्दै वीरगति प्राप्त गरेका खबरको बाहक बनेर गाउँघरमा सारङ्गी रेट्ने गाइने दाइ हिजोआज देखिन छाडेका छन् । देश विदेशका घटनालाई लस्के, चाँचरी, मालश्री, मङ्गला, बारामास, सन्देश, धनसिरा, मल्लार, सरुमैरानी, कला खलेनी, असारेलगायतका भाखामा खबर दिँदै घुम्ने गाइने दाइ (गन्धर्वहरू) लोप हुँदैछन् । सारङ्गीको धुनमा घटनाक्रमलाई सिलसिलेवार रूपमा कलात्मक ढङ्गबाट प्रस्तुत गरिरहँदा चौफेरामा बस्नेको आँखा रसाउँथे । गीत–सङ्गीतको माध्यमबाट सूचना र समाचार बाँड्दै जनतालाई सुसूचित बनाउने गाइने दाइका सारङ्गी हिजोआज गाउँघरमा गुञ्जन छोडेका छन् । सूचना र सञ्चारको पुरानो माध्यम गन्धर्वको पेसा अहिले एकाएक विस्थापित भएको छ । सूचना र सञ्चार प्रविधिमा रेडियो, पत्रपत्रिका, टेलिभिजन, फोन, मोबाइलजस्ता अत्याधुनिक सूचना प्रविधिको विकासले गन्धर्वको पेसालाई विस्थापित बनाएको हो । त्यसैले त गाउँघरमा गाइने खबरमूलक मर्मस्पर्शी हृदयविदारक गीत गुञ्जन छाडेका छन् । गाउँगाउँमा खबर सुनाउँदै हिँड्ने गाइने दाइको अभाव खड्किरहेका बेला पुख्र्यौली जातीय पेसालाई निरन्तरता दिँदै जीवनयापन गरेका छन् केही गन्धर्वले । गुल्मी जिल्ला गडगाउँ गाविस–५ घरभएका टोपबहादुर गन्धर्वले परम्परागत जातीय पेसाबाट आफ्नो चारजनाको परिवारको गर्जाे टार्ने गरेका छन् ।
काँधमा निलो जेब्रा झोला, शिरमा ढाकाटोपी, गलामा सारङ्गी भिरेर म्याग्दी, पर्वत र बागलुङका विभिन्न भागमा घुम्ने टोपबहादुरले दैनिक रु २÷३ सय आम्दानी हुने बताउछन् । सूचना र मनोरञ्जनका श्रव्यदृष्य सामग्रीको सुलभ उपलब्धताले सारङ्गीको महत्व ह्वात्तै घटेको छ, टोपबहादुर भन्छन् –“संचार प्रविधिमा भएको विकासले हाम्रो पेसा सङ्कटमा प¥यो । सञ्चार माध्यमले सारङ्गीको महत्वलाई उचित स्थान नदिए सारङ्गी नै लोप हुनेछ । कला संस्कृतिको धनी देशमा मौलिक संस्कृति लोप हुनु राम्रो होइन”– गन्धर्वले भन्छन् –“यसको संरक्षण र संवद्र्धनमा सबैले ध्यान दिनुपर्छ ।” नेपाली संस्कृतिको महत्व र वीरताको गाथा बोकेको सारङ्गीलाई आधुनिकीकरण गरी व्यावसायीकरण गर्नुपर्ने आवश्यकता देखिएको छ । साङ्गीतिक कक्षाको पाठ्यक्रममा सारङ्गी बाजालाई समावेश गरे सारङ्गीले जीवन्तता पाउने बुद्धिजीवीहरूको भनाइ रहेको छ । युवा वर्गमा जातीय पेसाप्रति हीनताबोध र वैदेशिक रोजगारको प्रतिस्पर्धाले गन्धर्व पेसा सङ्कटमा पर्दै गएको बताइएको छ । रासस
Post a Comment