भारतले अघोषित नाकावन्दी जारी राखेको छ । नाकाबन्दीको समस्यासंग देश जुझिरहेको अवस्थामा देशभक्तिको भावना पनि प्रकट भएको छ । सबै पुस्ताका नागरिक, सबै जातका नागरिक, सबै भूगोलका नागरिककाबीच देखिएको एकता र साझा पीडा भोगाईको साझा महसुस नै राष्ट्रियताको मापन हो भन्ने कुरा फेरि प्रकट भएको छ । यो अत्यन्तै सकारात्मक कुरा हो । बरु समस्यासंग केही समय जुझौं, तर संझौता नगरांै, समर्पण नगरौं भन्ने भावना व्यापक रुपमा प्रकट भैरहेको छ । सामाजिक सञ्जाल मार्फत व्यक्त यस्ता भावनाहरुले राष्ट्रिय चरित्रलाई उजागर गरेको छ । यसरी व्यक्त भावनाले भारतसरकारको समेत निद हराम गरेको छ भने नेपाली नेतृत्वलाई स्वाभिमानका साथ प्रस्तुत हुने आँट दिएको छ । संसदमा प्रधानमन्त्री सुशिल कोइरालाले ‘पारवहन अधिकारको प्रयोगमा ढिलाई नगर्न’ भारतलाई चेतावनी दिनुका पछाडि नेपाली नागरिकहरुले प्रकट गरेको राष्ट्रिय भावनाले नै कारकको रुपमा काम गरेको छ । यो भावना अब व्यवहारमा पनि देखिनु जरुरी भएको छ । दैनिक उपभोग्य सामानहरुको समस्या देखिदा अनाबश्यक रुपमा लुकाउने र अनावश्यक रुपमा धेरै किनेर घरमा स्टक गरेर राख्ने गरेको पनि देखिन थालेको छ । समस्याका बेला बाँडीचुँडी मितव्ययी रुपमा उपभोग्य वस्तुको प्रयोग गर्न छाडेर स्कट राख्ने र लुकाउने दुबै काम नैतिक पनि हैन र न्यायोचित पन हैन । सामाजिक सञ्जालमा राष्ट्रवादी बन्दै अभिव्यक्ति दिने र व्यवहारमा त्यसरी उभाव सिर्जना गर्ने चरित्र देखाउने कुरा सुहाउदैन । त्यसकारण यस्तो ब्यवहार कसैले पनि देखाउनु हुँदैन । यस्तो ब्यवहार देखाउनेहरु भनेका नियतमा खोट भएका हुन् र नक्कली देशभक्त हुन् । यो प्रबृत्तिको अन्त्य गर्दै जसरी स्वाभिमान नगिराइ समस्याको सामना गर्ने प्रण व्यक्त भै रहेको छ, त्यसरी नै त्यसको कार्यान्वयनमा पनि अरु पनि उपभोक्ता छन्, अरुको पनि आवश्यकता पूर्ति हुँदै जाओस् र सबले जस्तै मैले पनि आफूलाई मितव्ययी बनाउनुपर्छ भन्ने भावनाको विकास पनि सबैमा हुन आवश्यक देखिएको छ । नागरिकहरुमा यस्तो भावनाको विकास गराउनका लागि सरकारी अधिकारीहरु पनि त्यही रुपमा प्रस्तुत हुन आवश्यक छ । यस्तो संकटका बेलामा उपभोग्य वस्तुहरु कुपनका मार्फत बाँड्दै गर्दा अधिकारीहरुले त्यो कुपनको दुरुपयोग गर्नुहुदैन । यो विशेष अवसर र विशेष जिम्मेवारीलाई कोही व्यक्ति विशेषलाई खुशी पार्नका लागि प्रयोग भएन, भनसुन चलेन र जो सुकैलाई पनि मितव्ययी बन्न आग्रहका साथ बराबर वितरणको पद्धतिलाई स्थापित गर्न सकेमा त्यसले नागरिहरुमा पनि सकारात्मक संस्कृति बसाल्ने छ र व्यवहारमा पनि देशभक्ति प्रकट गर्न प्रेरित गर्ने छ । त्यसैले अब सबैले व्यवहारमा पनि देशभक्तिको भावना प्रकट गरांै । हाम्रो इमान्दारी र देशभक्ति भावनाले नै देश बलियो हुने हो । यस्तो हुन सक्यो भनेमात्र साचो देशभत्ति हुन सक्छ ।
Subscribe to:
Post Comments (Atom)
Post a Comment