0
गोल्डेन न्यूज संवाददाता
कास्कीको उत्तर पश्चिममा अवस्थित घाचोक गाविसमा आउँदो कार्तिक १ देखि ४ गतेसम्म प्रथम युनेक घाचोक उत्सव–२०७२ आयोजना हुने भएको छ र्। विकसित तथा सम्मुन्नत समाज निर्माणमा युवाहरुको सहभागिता, कुरीति, कुप्रथा, विकृति, विसङ्गति विरुद्धको हाम्रो प्रतिवद्धता’ भन्ने मुख्य नाराका साथ स्थानीय परिर्वतनका लागि युवा सञ्जाल (युनेक) नेपालको आयोजनामा नेपालीहरुको महान चाड विजयादशमी तथा दिपावलीको अवसरमा मेघराज निमाविको चौरमा हुने उत्सवको तयारी तीव्र पारिएको छ । गाउँमा पहिलोपटक आयोजना हुन लागेको उत्सवलाई सभ्य र व्यवस्थित रुपमा सञ्चालन गर्नको लागि सम्पुर्ण गाउँवासीहरु एकजुट भएर लागेका छन् । उत्सव सम्पन्न गर्नका लागि संस्थाका अध्यक्ष मौसम कार्कीको संयोजकत्वमा ८१ सदस्यीय मुल आयोजक समिति तथा प्रचार, साँस्कृतिक तथा प्रतियोगिता संचालन उप–समितिले अहिले धमाधम काम गरिरहेका छन् । पोखराबाट १७ किमिको दुरीमा रहेको रमणीय घाचोक गाउँको प्रचार–प्रसार गरि पर्यटन प्रवद्र्धन गर्नको लागि उत्सव आयोजना गरिएको आयोजक संस्थाका अध्यक्ष मौसम कार्कीले जानकारी दिए ।
 
उत्सवको मुख्य आकर्षणमा लोक गीत प्रतियोगिता, खुल्ला एकल नृत्य , कल्चरल ग्रुप डान्स, स्रष्टा तथा विशिष्ठ व्यक्तित्व सम्मान, खुल्ला घैँटो फुटाउने प्रतियोगिता, भेट्रान्स पुरुष रस्साकस्सी प्रतियोगिता, योग सम्वन्धी विशेष कार्यक्रम, मौलिक झाँकी प्रदर्शन, घरेलु उत्पादनहरुको प्रदर्शनी रहेका छन् । त्यसैगरी चर्चित हाँस्य कलाकारहरुको प्रस्तुति, साँस्कृतिक तथा साँगीतिक कार्यक्रम, युनेक नेपाल सामाजिक सेवा पुरस्कार उत्सवका आकर्षणको रुपमा रहेका छन् । त्यस्तै राष्ट्रिय तथा स्थानीय कलाकारहरु चोलेन्द्र पौडेल, जीवन दाहाल, रामजी पौडेल, तुलसी क्षेत्री, सिडी विजय, ज्योती लोहनी, कृष्ण गुरुङ, राजन कार्की, घनश्याम रिजाल, चन्द्रा कार्की, जय कुमार, पोखरेली धुर्मुस तथा पोखरेली माग्ने वुढा लगायतको विशेष प्रस्तुति उत्सवमा रहने छ । उत्सवलाई घाचोक गाविसको विशेष सहयोग रहेको छ । मुख्य प्रायोजक तथा अन्य प्रायोजकहरुको खोजी तथा प्रचार प्रसारको काम तीव्रताका साथ भैरहेको आयोजकको भनाई रहेको छ । उत्सवलाई पोखरा तथा देश विदेशमा रहेका घाचोकवासी तथा शभेच्छुकहरुले सक्दो सहयोग गरिरहेका छन् । उत्सवको करिब २० हजार दर्शकले अवलोकन गर्ने अपेक्षा आयोजकको रहेको छ । कार्यक्रम स्थलमा पुग्न पोखराको हरिचोक तथा जिल्ला शिक्षा कार्यालय गेट अगाडिबाट यातायात सञ्चालन हुँदै आएको छ ।

Post a Comment

 
Top