0
गोल्डेन न्यूज संवाददाता
 जिल्ला प्रशासन कार्यालय कास्कीले पोखराबाट सञ्चालन हुने सार्वजनिक यातायात र पर्यटन यातायातलाई डिजेल वितरणका लागि कोटा निर्धारण गरेको छ । पोखराबाट बिभिन्न रुटमा सञ्चालन भैरहेका विभिन्न समिति अन्तर्गतका यातायात मध्य अत्यावश्यक देखिएका एउटा रुटमा एउटा सवारी चल्ने गरी डिजेल वितरणको निर्णय गरिएको हो । विहीवारको बैंठकले पृथ्वीराजमार्ग वस सञ्चालक समिति, श्रृंगा यातायात, वेगनास बस ब्यवसायी समिति, पोखरा नगर वस समिति, पर्यटन यातायात समितिका गाडीका लागि लेखनाथ स्थित शुभ जगदम्वा आयल स्टोर्सबाट बितरणको ब्यबस्था मिलाईएको कास्की प्रशासनले जनाएको छ ।
 
सवारी चलानी कागज र सम्बन्धित समितिको सिफारिसका आधारमा पोखरा काठमाडांै चल्ने ३० वटा माईक्रोबसका लागि प्रति गाडी ५० लिटर, पोखरा काठमाडौं चल्ने ५० वटा मिनीबसका लागि प्रति गाडी ७० लिटर, लामो रुटमा चल्ने ४६ वटा गाडीलाई प्रति गाडी एक सय ७० लिटर र ग्रामिण सडकमा चल्ने ७ वटा गाडीलाईप्रति गाडी ७० लिटर तेल दिईने प्रशासनले जनाएको छ । त्यस्तै पोखरा हेमजा फेदि चल्ने १० वटा गाडीलाई प्रति गाडी २५ लिटर, पोखरा नगरक्षेत्रमा चल्ने ५० वटा बसको लागि प्रतिगाडी ३० लिटर, श्रृंगा यातायात अन्तर्गत चल्ने ६० गाडीलाई प्रति गाडी ५० लिटर, पोखरा मियापाटन चल्ने ५ माईक्रोबसलाई प्रति गाडी २० लिटर, वेगनास समिति अन्तर्गत चल्ने ठूला ५ गाडीलाई प्रति गाडी ७० लिटर र साना २० गाडीलाई प्रति गाडी ३० लिटर प्रदान गरिने भएको छ । पोखरा काठमाडांै चल्ने ४ वटा गाडीलाई प्रति दिन प्रति गाडी एक सय २५ लिटर तेल उपलब्ध गराईने भएको छ । पश्चिमाञ्चल कोल्ड स्टोर्सको लागि प्रति दिन सय लिटरको दरले तीन दिनको लागि डिजेल उपलब्ध गराउने, नेपाल रेडक्रस सोसाईटीको ब्लड बैंक सञ्चालनको लागि दैनिक ३० लिटरको दरले तीन दिनको लागि, डेरी उद्योगमा दुध उमाल्ने र चिस्याउने प्रयोजनको लागि सुजललाई प्रति दिन २ सय लिटरको दरले ३ दिनको लागि तथा पन्थी डेरीलाई प्रति दिन ७० लिटरका दरले तीन दिनको लागि तेल दिने निर्णय समेत गरेको छ ।
 
भारतीय नाकाबन्दीको कारण पेट्रोलियम पदार्थमा देखिएको अभाव र बितरण प्रणालीलाई सहज बनाउन अत्यावश्यक सेवाको लागि पोखराका चार वटा पेट्रोलपम्प निर्धारण गरिएको छ । सरकारले निजी सवारीलाई विहीवार देखिनै तेल वितरणमा रोक लगाईसकेको छ ।

Post a Comment

 
Top