गोल्डेन न्यूज संवाददाता
पोखराको पृथ्वीचोकमा नागरिक लगानी कोष शाखा कार्यालयको बुधबार शुभारम्भ गरिएको छ । उक्त शाखाको नेपाल सरकारका अर्थमन्त्री एवं कांग्रेस नेता डा. रामशरण महतले गरेका हुन् । त्यस अवसरमा बोल्दै अर्थमन्त्री महतले केही मधेसवादी नेताको निहीत स्वार्थका कारण लामो समयदेखि भएको मधेस बन्दले मधेसी जनताले नै धेरै दुःख पाएकाले त्यस्ता हिंसात्मक गतिविधि छोड्नसमेत आग्रह गरे । सङ्घीयता, समावेशी र सीमान्तकृत जस्ता माग नयाँ संविधानमा सम्बोधन भइसकेको उल्लेख गर्दै उनले यी विषयवस्तु संविधानमा समावेश भएन भनेर आन्दोलन गर्नुको कुनै तुक नभएको बताए । अर्थमन्त्री महतले कोषको बचतलाई उत्पादनशील, पूर्वाधार विकास र जलविद्युत् क्षेत्रका विकासमा लगानी गर्नसमेत आग्रह गरे । कोषका कार्यकारी निर्देशक रामकृष्ण पोखरेलले नागरिक लगानी कोषमा हाल पाँच लाख ६५ हजार बचतकर्ता भएको जानकारी दिँदै कोष अब बचत परिचालन, लगानी प्रवद्र्धन र पुँजी बजार विस्तारको सेवामा केन्द्रित रहने जानकारी दिए । कोषका सञ्चालक तथा अर्थ मन्त्रालयका सह–सचिव सूर्यप्रसाद आचार्यको अध्यक्षतामा सम्पन्न कार्यक्रममा मन्त्री डा महतले सोही अवसरमा सूचना प्रविधि एसएमएस सेवाको शुभारम्भ गर्नुका साथै ‘दीर्घकालीन रणनीतिक योजना’ पुस्तकको पनि विमोचन गरेका थिए ।
यसैगरी अर्थमन्त्री डा रामशरण महतले नेपालले उत्कृष्ट संविधान पाएको बताएका छन् । चीन–भारत जोड्ने कालीगण्डकी करिडोरको अवलोकन पछि बुधबार बलेवामा आयोजित कार्यक्रममा उनँले“समावेशिताको दृष्टिकोणबाट विश्वमै हाम्रो संविधान उत्कृष्ट छ, सबै जनता अधिकार सम्पन्न भएका छन्” भने । संविधानले सबै नागरिकका सामाजिक, आर्थिक अधिकारलाई पनि सुनिश्चित गरेको उनको भनाइ थियो । मन्त्री डा महतले मधेसमा चलेको आन्दोलन रोकी वार्ताका माध्यमबाट समाधान खोजिनुपर्ने धारणा राखे ।
संविधानको कार्यान्वयनसँग मुलुकलाई आर्थिक समृद्धितर्फ लैजानुपर्ने बताउँदै मन्त्री डा महतले पूर्वाधार विकास नै सरकारको प्राथमिकतामा रहेको उल्लेख गरे । नेपाली सेनाले जिम्मा लिएको करिडोरको बागलुङ खण्डमा पर्ने मालढुङ्गा–टाकुरी सडकको अनुगमनका लागि मन्त्री डा महत सहितको टोली बागलुङ आएको हो । त्यस्तै अर्थमन्त्री डा महतले बन्द, हड्ताल र तोडफोडले देशलाई गरिबी र दरिद्रताको बाटामा लैजाने हुनाले त्यस्ता प्रतिगमनकारी काम छोडेर संवाद र वार्तामा आउनुपर्नेमा जोड दियो ।
Post a Comment