0
गोल्डेन न्यूज संवाददाता
जिल्ला प्रशासन कार्यालय कास्कीले बजारमा कृत्रिम अभाव सृजना नगर्न ब्यापारीलाई सचेत गराएको छ । सोमवार बिज्ञप्ती प्रकाशित गरी उपभोग्य बस्तुको कृतिम अभाब सृजना गर्ने, कालोबजारी गरेमा, वा आवश्यकता भन्दा बढी सञ्चय गरी राखेको पाईएमा कानुन अनुसार कारबाही गर्ने प्रशासनले जनाएको छ । पोखरा सहित कास्कीका अन्य बजारहरुमा दैनिक उपभोग्य बस्तु लगायत अन्य औषधि, निर्माण सामाग्री, लत्ता कपडा समेतमा मुल्य बृद्धि भएको गुनासो आएको भन्दै प्रशासनले निरन्तर हुने अनुगमनबाट कानुन बिपरित कार्य गरेको पाए कारबाही गर्ने चेतावनी दिएको हो ।
नजिकको चाडपर्व र बर्तमान परिस्थितिको समेत मध्यनजर गरी आ आफ्नो क्षेत्रमा संयमित भई आपूर्ति ब्यबस्थालाई सक्दो सहज र सुलभ बनाई राख्नु हामी सबैको दायित्व हो ।’–जारी बिज्ञप्तिमा भनिएको छ । यसैबिच एमाओवादीनिकट युवा संगठन योङ्ग कम्युनिष्ट लिग (वाइसिएल), कास्कीले बजार अनुगमन गर्ने भएको छ । सोमबार एक विज्ञप्ति जारी गर्दै वाइसिएल कास्कीले नाकाबन्दीको प्रतिकूल समयमा ग्राहकप्रति जिम्मेवार हुनुपर्नेमा व्यवसायीहरुले उपभोग्य वस्तुको कृतिम अभाव सिर्जना गरेको भन्दै बजार अनुगमनको निर्णय गरेको बताएको छ ।

संविधान जारी गर्न नेपाल र नेपालीहरु पूर्ण स्वतन्त्र रहेकोमा जोड दिँदै वाइसिएलको विज्ञप्तिमा भनिएको छ,–‘नेपाली जनताको पैसठ्ठी वर्ष लामो संघर्षपछि संविधानसभाले नयाँ संविधान निर्माण गरेको छ, यसमा कसैले चित्त दुखाउनुपर्ने, विरोध गर्नुपर्ने र नाकाबन्दी लगाउनुपर्ने कुनै कारण छैन। एउटा स्वाधीन राष्ट्रका लागि कसैको दवाव र हस्तक्षेप मान्य हुन सक्दैन ।’वाइसिएलले ‘सबै देशक्त तथा राष्ट्रवादी शक्तिहरु एक ठाउँमा उभिएको भन्दै नेताहरुलाई खुट्टा नकमाउन’ आग्रहसमेत गरेको छ। नाकाबन्दीको डटेर सामना गर्ने भन्दै वाइसिएलले राष्ट्रियताका पक्षमा एकतावद्ध हुन युवाहरुलाई अपील पनि गरेको छ ।

उद्योगी व्यवसायीहरुलाई राष्ट्रप्रति जिम्मेवार भएर उपभोक्ताको हितमा उभिन’ अनुरोध गर्र्दै वाइसिएलले कृतिम अभाव र कालोबजारी गर्ने व्यवसायीलाई कानुनी दायरामा ल्याउने चेतावनी पनि दिएको छ । मंगलबारदेखि पोखराका सबै टोल र गल्लीमा थोक र खुद्रा पसलहरुको अनुगमन गर्ने वाइसिएल कास्कीका अध्यक्ष बिनय थापाले बताए। थापाका अनुसार वस्तुको बढी मूल्य लिने, कृतिम अभाव सिर्जना गर्नेहरुको अनुगमन गरी कारवाही प्रक्रियाका लागि राज्यलाई दवाव दिने उद्देश्यले बजार अनुगमन गर्न लागिएको हो।

Post a Comment

 
Top