0
नेपालको सामान्य होस् वा ठूला आन्तरिक मामिलामा भारत गुहार्दै आएका नेपालका राजनीतिक दलहरुले भारतको सुझावलाई बेवास्ता गर्दै नयाँ संविधान जारी गरेर छाडेका छन् । यसले के प्रष्ट पार्छ भने देशको समस्या समाधान गर्नका लागि राजनीतिक दलहरु सक्षम छन् । नयाँ संविधानमा मधेसको मागलाई सम्बोधन गरिएपनि भारतले सिमा क्षेत्रमा आन्दोलन चर्किएको बहाना बनाउँदै मधेसीलाई पनि समेट्न दबाब दिदै आएको थियो । सधै भारतको दबाबमा चल्दै आएका नेपालका राजनीतिक दलहरुले भारतको दबाबलाई पुरै बेवास्ता गर्दै संविधान जारी गरेरै छाडेका छन् । नेपालका लागि भारतिय राजदूत रन्जित रेले पनि नेपालको आन्तरिक मामिलामा हस्तक्षेप हुने गरी गैरकुटनीति दबाब दिदै आएका थिए । राजदूत रेले मनपरी बोल्न थालेपछि राजनीतिक दलका भातृसंगठनहरुले भारत फिर्ता पठाउन दबाब दिएका थिए । बुधबार पनि राजदूत रे ले प्रधानमन्त्री सुशिल कोइरालालाई भेटेर भारतको धारणा प्रस्तुत गरेका थिए । यस्तै संविधान जारी भएको खुशीयालीमा टुडिखेलमा आयोजित कार्यक्रममा बोल्दै एकीकृत नेकपा माओवादीका अध्यक्ष प्रचण्डले नेपालीहरु भारतको ‘यस मेन’ नहुने भन्दै भारतको हस्तक्षेपकारी भूमिकाको प्रतिवाद गरेका छन् । कुरा क्रान्तिकारी गर्ने तर नेपालीको स्वाधिनता माथि पटकपटक धावा बोल्ने भारतविरुद्व व्यवहारिक रुपमा नउत्रने परम्पराका कारण नेपाल हेपिंदै आएको छ । सरकारले थारु र मधेसीलाई वार्तामा आउन आव्हान गरेपनि भारतले आफ्नो स्वार्थ पुर्तिका लागि उचालिरहनुले दाल मे कुच काला हे भन्ने प्रष्ट हुन्छ । भारतले आफूलाई विश्वकै लोकतान्त्रिक मसिहाको देश ठान्छ तर छिमेकीले स्वविवेक प्रयोग गरेर संविधान निर्माणमा बाधा सिर्जना गर्नुले त्यहाँको नागरिक स्वतन्त्रता संकुचन छ भन्ने देखाउँछन् । भारतले नेपालप्रति सधै विस्तारवादको नीति अबलम्बन गर्दै आएको छ । भारतिय स्वतन्त्रता दिवसमा एम्बुलेन्स बाँडेर भारतले नेपालका सिमानाहरु मिच्दै आएको छ । उसको छिमेकी नीति यति विभेदपूर्ण छकि नेपाली भूभाग समेत रहेको लिपुलेकलाई व्यापार मार्गको रुपमा विकास गर्दा एकपटक सोध्ने कष्ट गर्दैन । तत्कालिन राजा महेन्द्र शाहको पालादेखि नेपालमा भारतिय हस्तक्षेप भित्रिएको हो । नेपालमा धेरै राजा महाराजा र सरकारहरु फेरिए तर भारतीय विस्तारवाद कहिल्यै हटेन । सरकार बनाउने र ढलाउने काम दिल्लीबाट हुँदै आएको कुरा हामी माझ जगजाहेरै छ । अब बिरामीको बहाना बनाएर दिल्ली सयर गर्ने होइन । आफ्ना आन्तरिक मामिला सुल्झाउन दलहरुले स्वविवेक प्रयोग गर्नुपर्छ । हामी नेपाली भारतको असल मित्र बन्नुपर्छ, दास होइन । हामी जति दक्षिण छिमेकीको एस म्यान बन्छौं तबसम्म भारतले नेपालप्रतिको हेपाहा प्रवृत्ति जारी राख्छ । मधेसका नेताहरु पछिल्लो समय भारतसामु लम्पसार परिरहेका छन् । उनीहरुलाई नेपालको चिन्ता भन्दा पनि आफ्नो स्वार्थ ठूलो हुन पुगेको छ । मधेसी नेताहरु आफ्ना समस्या लिएर बिहारमा धाउने प्रवृत्ति पनि मौलाउँदै गएको छ । भारतीय विस्तारवादविरुद्व लड्न जनयुद्व ताका गाउँ गाउँमा बंकर खनेका कम्युनिष्ट पार्टीका नेताहरु अहिले भारतको दूत बनिरहेका छन् । जनताहरु विस्तारवादविरुद्व जागिरहेका बेला भारतको एस होइन नो म्यान बन्दा बचेखुचेको राजनीति जोगिएला । नेताहरुले समयमै साच्न जरुरी छ ।

Post a Comment

 
Top