0
गोल्डेन न्यूज संवाददाता
भूकम्पको केन्द्रबिन्दु रहेको गोरखाको बारपाक गाउँलाई विश्व पर्यटन माझ चिनाउने प्रयासमा पोखराका पर्यटन व्यवसायी पहल थालेका छन् । बारपाकलाई देखाएर पर्यटक भिœयाउन सकिने भएकोले व्यवसायीले प्रवद्र्धनमा चाँसो देखाएका हुन् । पोखरा पर्यटन पूनःजागरण समिति (पिटिआरसी)को आयोजना, पोखरा पर्यटन परिषद्को संयोजन र नेपाल पर्यटन बोर्डको प्रवद्र्धनमा व्यवसायी सहितको एक टोली शुक्रबार गोरखाको बारपाक गएर पर्यटन प्रवद्र्धनका योजना बनाउँदैछ । पिटिआरसी संयोजक गणेशबहादुर भट्टराइले होमस्टे पर्यटनका लागि चिनिएको बारपाक लाई पर्यटकीय गन्तव्य बनाउन सकिने बताए । ‘भूकम्पको केन्द्रबिन्दु बारपाकमा धेरैको चाँसो छ । त्यहि भएर हामीले त्यसलाई पर्यटकीय केन्द्रबिन्दु बनाउन खोजेका हांै’ उनले भने–‘बारपाक लाई गतिलो गन्तव्य बनाउन सकिन्छ । विदेशी पर्यटक तान्ने गतिलो ठाउँ बारपाक बन्न सक्छ ।’ भूकम्पको केन्द्रबिन्दु भएकोले पनि बारपाक जान धेरैको चाहना रहेको उनले बताए । ‘स्वदेशी होस वा विदेशी धेरैको चाँसो केन्द्रबिन्दु बारपाकमा छ’ उनले भने । 


बारपाकमा पहिले नै होमस्टे संचालनमा रहेकोले पर्यटकीय प्रवद्र्धनमा चिनाउन केहि सहज हुने उनले बताए । बारपाक पहिले पनि पर्यटकीय गन्तव्य भएकोले यतिबेला प्रवद्र्धन गर्न खोजे झनै सहज हुने उनले बताए । ‘सबैको चाँसो केन्द्रबिन्दुमा छ । देश विदेश सबैले बारपाकलाई चिनेका छन् । धेरैजना त्यहाँ जान चाहन्छन’ उनले भने, ‘हामीले पनि नयाँ गन्तव्यको रुपमा बारपाकलाई चिनाएर पर्यटक आकर्षण बढाउन सकिन्छ । भूकम्पका कारण बारपाकले मानवीय र भौतिक क्षति बेहोर्नुपरेपनि अन्तर्राष्ट्रिय पहिचान बदलिएको छ ।’
प्राकृतिक विपद्ले नोक्सान पु¥याएका विभिन्न ठाउँलाई पर्यटकीय गन्तव्य बनाएको अन्तर्राष्ट्रिय उदाहरण रहेकोले बारपाकलाई पनि त्यहि रुपमा प्रवद्र्धन गर्न खोजेको पोखरा पर्यटन परिषद्का अध्यक्ष सोमबहादुर थापाले बताए । उनले बारपाकलाई भविश्यमा गतिलो पर्यटकीय गन्तव्य बनाउने पहलमा आफुहरु लागिपरेको उनले बताए ।

‘बारपाक भोलि धेरेको गन्तव्य हुनसक्छ । विदेशी पर्यटक पठाउन सक्ने हो भने धेरै विदेशी नेपालमा आकर्षित हुन सक्नेछन्’ उनले भने, ‘आगामी केहिवर्षभित्र बारपाक गतिलो पर्यटकीय गन्तव्य बन्नेछ । त्यसको फाइदा बारपाक र पोखराले नै पाउनेछ ।’ मनास्लु पदमार्ग क्षेत्रमा पर्ने भएकोले पनि बारपाकलाई प्रवद्र्धन गर्न समस्या नरहेको उनले बताए । ‘बारपाकलाई सबैतिरबाट आकर्षण गर्न सकिने गतिलो अवसर यतिबेला मिलेको छ’ उनले भने,–‘हामीले त्यहि अवसरलाई उपयोग गर्न खोजेका हौ ।’
बारपाकको अवस्था र होमस्टे संचालनको समस्या बुझ्नका लागि शुक्रबार बारपाक जान थालेको टोलीले त्यहाँका स्थानीयसँग अन्तरक्रिया पनि गर्र्नेछ । अन्तरक्रियामार्फत बारपाकमा पर्यटन प्रवद्र्धन गर्न आइपरेका समस्यबारे यकिन हुने थापाको भनाइ छ । व्यवसायीले बारपाकलाई गतिलो गन्तव्य बनाएर नयाँ प्याकेज बनाउने सोच समेत बनाएका छन् ।
‘जसरी माथिल्लो मुस्ताङ जाँदा भिन्दै शुल्क तिर्नुपर्छ । बारपाकलाई पनि भविश्यमा त्यस्तै गतिलो गन्तब्य बनाउने हो भने विशेष शुल्क तिरेर घुम्न जाने ठाउँको रुपमा विकास गर्न सकिनेछ’ थापाले भने, ‘त्यो भयो भने बारपाकका बासिन्दाको आयआर्जन पनि बढ्नेछ । भूकम्पको पीडा बिर्साउने गतिलो माध्यम बनाउन सके त्यहाँका बासिन्दाले आयआर्जनको गतिलो अवसर पाउनेछन् ।’

भूकम्पको केन्द्रबिन्दु रहेको बारपाकमा यसअघि नै केहि घरमा होमस्टे संचालन भएको थियो । भूकम्प पछि धेरै घर भत्किएकोले अहिले होमस्टे संचालन हुन नसकेपनि आगामि दिनमा माथि उठाउने गतिलो बिकल्प होमस्टे बन्न सक्ने टे«किङ एजेन्सीज एशोसिएसन अफ नेपाल (टान) पश्चिमाञ्चल क्षेत्रीय संघका अध्यक्ष रामचन्द्र शर्मा बताउँछन् । ‘मनास्लु पदयात्राको प्रवद्र्धनमा समेत बारपाकको भूमिका हुनेछ । पर्यटक पठाउन सके सिंगो गोरखाको पहिचान फेरिनेछ’–उनले भने ।

Post a Comment

 
Top