0
गोल्डेन न्यूज संवाददाता
अष्ट्रेलिया १९ असार ।
एनआरएन अस्ट्रेलियाको शनिबार सम्पन्न निर्वाचनबाट पोखराका सुरेन्द्र सिग्देल अध्यक्षमा विजयी भएका छन् । सिग्देलको प्यानलले भरत पोखरेल नेतृत्वको प्यानलाई भारी मतले पराजित गरेको थियो । सिग्देल प्यानललाई नेपाली कांग्रेसको र पोखरेल प्यानललाई नेकपा एमाले र एमाओवादीको समर्थन रहेको थियो । पोखराको पृथ्वीनारायण क्याम्पसबाट स्नातक तहसम्मको अध्ययन गरि अस्ट्रेलियाबाट स्नातकोत्तर पुरा गरेका सिग्देलको जन्मघर तनहुँ हो । नेपालमा रहँदा विभिन्न संघ–संस्थामा काम गरेका सिग्देलले अस्ट्रेलियामा पुगेपछि पनि संघसंस्थासंगको संलग्नतालाई निरन्तरता दिंदै आएका थिए । सन १९९८ देखि एनएडीएफमा आवद्ध भएका उनले दुई पटकसम्म अध्यक्ष बनेर काम गरिसकेका छन् । एनआरएन अष्ट्रेलियाको दुई कार्यकाल सदस्य र एनआरएन आइसीसीको कार्यकारी सदस्य बनेर राष्ट्रिय र अन्तर्राष्ट्रियस्तरको अनुभव बटुलेका सिग्देल अस्ट्रेलियामा रहँदा कष्टुमर सर्भिस असिस्टेन्ट र एकाउन्टेन्ट जस्ता पेशा अंगाल्दै हाल शिक्षा र आप्रवासी सम्बन्धी परामर्श दाताको रुपमा कार्यरत छन् । उनको प्यानलबाट निर्वाचित हरुमध्ये एनएसडब्लू को–अर्डिनेटरमा दिनेश पोखरेल, सचिवमा दोनु घोताने, सह–सचिवमा भिष्म भण्डारी र कोषाध्यक्षमा डिलाराम खरेल रहेका छन् । सिग्देल प्यानलबाट निर्वाचित सदस्यहरु मध्ये राजु अधिकारी र राजेश केसी पोखराका रहेको अष्ट्रेलियाबाट किरण बरालले जानकारी दिए । अध्यक्ष सिग्देलले अस्ट्रेलियामा अध्ययन गर्न जाने विद्यार्थीहरुको हितका लागि विद्यार्थी कल्याणकारी कोष स्थापना गर्ने, युवाहरुका लागि रचनात्मक कार्यक्रम गर्ने, व्यवसाय र विभिन्न पेशामा आवद्ध व्यक्तिहरुलाई विभिन्न अवसर उपलव्ध गराउने, नेपालमा दलित र पीछडिएका वर्गका विद्यार्थीहरुका लागि हरेक वर्ष कम्तिमा २० जनालाई छात्रवृत्ति प्रदान गर्ने, नेपालका भूकम्प पीडितहरुलाई सहयोग गर्न २०० भन्दा बढी घर निर्माण गर्ने लगायतका एजेण्डा प्रस्तुत गरेका छन् ।
अस्ट्रेलियन सरकारका विभिन्न आधिकारिक संस्थाहरु र नेपालीहरुका संघ–संस्थासंग समन्वय गरि नेपाली समुदायलाई फाइदा पुग्ने सामाजिक काम गर्नुका साथै नेपालमा पर्यटन, जलविद्युत, स्वास्थ्य, शिक्षा लगायतका क्षेत्रमा लगानी गर्ने वातावरण मिलाउन पहल गर्ने सिग्देलले जनाएका छन् । यसैगरी एनआएनएले यसअघि ल्याएका तर पूरा हुन नसकेका कार्यलाई पूर्णता दिने र एनआएएन अन्तर्राष्ट्रिय समन्वय समितिका कामलाई सहयोग गर्ने लक्ष्य समेत उनले राखेका थिए ।

Post a Comment

 
Top