0
गोल्डेन न्यूज संवाददाता 
पोखरास्थित यातायात व्यवस्था कार्यालय गण्डकीका दुई कर्मचारीलाई मंगलबार १० हजार घुससहित अख्तियारले समातेको छ  । कार्यालयका लेखाअधिकृत गोविन्दप्रसाद बराल र लेखापाल नारायणहरि शर्मालाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग पश्चिमाञ्चल क्षेत्रीय कार्यालय पोखरामा कार्यरत प्रहरी नायव उपरीक्षक श्यामकुमार राईको टोलीले १० हजार घुसहित रंगेहात पक्राउ गरेको हो  । कर्मचारी बराल र शर्माले पोखराको लामाचौरका टेकबहादुर बरुवालको निजीकार नवीकरण सम्बन्धमा पटक–पटक घुस मागेको बताइएको छ  । गत बैशाख ३ गते बा २ च ८५५८ नम्बरको निजीकार नवीकरणका लागि बरुवाल कार्यालय पुगेका थिए  । उक्त दिन नवीकरणवापत २४ हजार बुझाएको र महसुल तिरेको झण्डै साढे २ महिनासम्म पनि आपूले  ब्लु बुक पाउन नसकेको उनले बताए  । आफ्नो ब्लु बुक कर्मचारीद्धय बराल र शर्माको मिलेमतोमा कार्यालयमै गायब गरी पटक–पटक आफूलाई दुःख र हैरानी दिई घुससम्म माग्न पछि नपरेको बरुवालले संचारकर्मीलाई बताए  ।  आफूसँग २० हजार घुस मागिएकोमा उनी सो गुनासो लिएर मंगलबार अख्तियार कार्यालय पुगेका थिए  । अख्तियारको रोहवरमा बरुवालले उनीहरुलाई बुझाएको एक हजार रुपैयाँको १० वटा नोट उनीहरुकै कार्यकक्षबाट बरामद गरिएको हो  ।  डिएसपी राईका अनुसार यातायात कार्यालयबाट यसअघि पनि थुप्रै गुनासा आउने गरेको थियो  । उनले घुस लिने कर्मचारीलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान जारी रहने बताए  ।

Post a Comment

 
Top