गोल्डेन न्यूज संवाददाता
व्यवसायिक रणनीति, विज्ञापन, आफूले दिने सेवाको स्तर सबै हेरेर मात्र व्यवसाय सुरु गर्नुपर्ने रहेछ’, रेष्टुरेण्ट व्यवसायी रोस गुरुङले भने‘ हचुवाको तालिम भन्दा तयारी गरेपछि मात्र व्यवसाय सुरु गर्दा राम्रो हुने रहेछ भन्ने बल्ल थाहा भयो ।’ लामो समय जापानमा बसेर नेपालमा रेष्टुरेण्ट व्यवसाय गरेका उनले पोखरामा आयोजित होटल तथा रेष्टुरेण्ट व्यवस्थापन तालिमको समापनको अवसरमा सो धारणा व्यक्त गरेका हुन् । काम गर्दै जाँदा मात्र रेष्टुरेण्ट व्यवसायको समस्या बुझेको बताउने उनले अर्काको देखासिकीमा गरिने व्यवसायले राम्रो प्रतिफल नदिने धारणा व्यक्त गरे । उनी मात्र हैन, सिटी रेवान पोखराका अध्यक्ष केपी शर्मा पाध्याले पनि जीविकोपार्जन गर्न सानो लगानीमा रेष्टुरेण्ट खोल्नेहरुलाई तयारी पछि मात्र व्यवसायमा हात हाल्न सुझाव दिए ।पोखरा उद्योग वाणिज्य संघ र औद्योगिक व्यवसाय विकास प्रतिष्ठानको संयुक्त आयोजना एवं सिटी रेवान पोखरासँगको सहकार्यमा ५ दिने होटल तथा रेष्टुरेण्ट व्यवस्थापन तालिमको अवसरमा उनले सो धारणा राखेका हुन् । पोखराको रेष्टुरेण्ट क्षेत्रमा देखिएको व्यवस्थापनको समस्या हल गर्नका लागि आयोजित तालिममा २५ जनाभन्दा बढीको सहभागिता रहेको थियो । पोखरा उद्योग वाणिज्य संघका कार्यबाहक अध्यक्ष देव क्षेत्रीका अनुसार रेष्टुरेण्टको व्यवस्थापनको लागि आवश्यक पर्ने सीप, बजारको पहिचान, गुणस्तरीय सेवा तथा विज्ञापन लगायतका विषयहरु तालिममा समेटिएका थिए । तालिममा रामप्रसाद ज्ञवाली, वीरेन्द्र वैद्य, जीवन भण्डारी र मुकुन्द ज्ञवाली प्रशिक्षक रहेका थिए । तालिम समापनको अवसरमा बोल्दै औद्योगिक व्यवसाय विकास प्रतिष्ठानका कार्यकारी निर्देशक लक्ष्मीप्रसाद भट्टराईले तयारी बिना सुरु गरिने व्यवसायले राम्रो प्रतिफल नदिने धारणा राखे । पोखरा उद्योग वाणिज्य संघका उपमहासचिव प्रकाशदेव पालिखेले अहिलेको जमानामा कोरा अध्ययन भन्दा पनि व्यवहारिक ज्ञान र सीपको ठूलो महत्व भएको बताउँदै सीप सिकाउन पोखरा उद्योग वाणिज्य संघ सधैँ तयार भएको बताए ।
Post a Comment