गोल्डेन न्यूज संवाददाता
यहि वैशाख १२ र २९ गते गएको विनाशकारी भूकम्पका कारण प्रभावित देशका १७ वटा जिल्लाहरुमा गरी करिब ३ हजार बालबालिकाको मृत्यु भएको छ भने ५९ जना पूर्ण रुपमा अभिभावक विहिन भएका छन् । बालगृहहरुको महासंघ नेपाल पश्चिमाञ्चल क्षेत्रीय समिति पोखराले गरेको अनुगमन अनुसार लाखौँ बालबालिकाहरु घरवार तथा विद्यालय विहिन अवस्थामा पुगेको भेटिएको हो । भूकम्प पछि बालबालिकाको क्षेत्रमा आँफूहरुले गरेका विभिन्न अनुगमन तथा कार्यक्रमहरुबारे पाल्पामा हालै भएको बैठकमा महासंघले यस्तो तथ्यांक सार्वजनिक गरेको हो । बाल गृहहरुको महासंघ नेपालका अध्यक्ष रमेश खतिवडा तथा पदाधिकारीहरु र बाल बालिकाका निमित्त गैर सरकारी संस्था महासंघ नेपालका महासचिव मनोज कँडेलको अगुवाईमा विभिन्न ठाउँमा रहेका बाल गृहहरुको पनि अनुगमन गरिएको आईतबार जारी प्रेस विज्ञप्तिमा उल्लेख छ । जस अन्तर्गत काठमाडांै, भक्तपुर, ललितपुर, मकवानपूर, काभ्रे, नुवाकोट, रसुवा, सिन्धुपाल्चोक, दोलखा, तथा धादिंङ्ग जिल्लाका ५५० वटा बालगृहहरुको प्रत्यक्ष अवलोकन गरिएको थियो । सो क्रममा पश्चिमाञ्चल विकाश क्षेत्रमा सञ्चालित थ्री एन्जल्स नेपाल, बालकल्याण संस्था, एसओएस बहिनी, अन्नपूर्ण अनाथ आश्रम, कोपिला बाल गृह तथा विभिन्न व्यक्तिहरुको आर्थिक, भौतिक सहयोगमा ३३ वटा अति प्रभावित बालगृह हरुलाई ७० हजारका दरले आर्थिक सहयोग गरिएको विज्ञप्तिमा उल्लेख छ । यस्तै १६० वटा बालगृहलाई खाद्यान्न, १७० वटा बालगृहलाई आधुनिक फिल्टर, २०० वटा बालगृहलाई त्रिपाल, १४ वटा बालगृहलाई ४४ वटा अस्थाई घर, ३०० वटा बालगृहलाई औषधि सहित उपचार सेवा र ४०० वटा बालगृहलाई मनोसामाजिक विमर्शकर्ताको प्रत्यक्ष सहयोग गरिएको जनाईएको छ । यसैबीच करिब १५ हजार बालबालिकाको संरक्षण गरिरहेका बालगृहहरुलाई राज्यले यथोचित मूल्याङ्कन गर्न नसकेको भन्दै दुःख व्यक्त गरिएको छ । यसैगरी राहतका नाममा प्रभावित मध्ये विभिन्न दुर्गम क्षेत्रमा रहेका बालबालिका बेचविखनमा पर्न सक्ने सम्भावना बढेकाले सबै सचेत रहनुपर्ने पनि बैठकले निष्कर्ष निकालेको छ । पश्चिमाञ्चल क्षेत्रमा हाल करिब २ हजार भन्दा बढी बालबालिकाहरु विभिन्न बालगृहमा रहेको र सबै एकजुट भएर सम्पूर्ण बालगृहहरु लाई नमुना बालगृह बनाउन आवस्यक रहेकोमा बैठकमा जोड दिईएको छ । बालगृहहरुको महासंघ नेपाल पश्चिमाञ्चल क्षेत्रीय समितिका अध्यक्ष राधा पौडेलको अध्यक्षतामा बसेको बैठकको संयोजन थ्री एन्जल्स नेपालका कार्यकारी निर्देशक डा राजेन्द्र गौतमले गरेका थिए । कार्यक्रममा डा. गौतमले बालगृहको हितका लागि आगामी योजनाहरु प्रस्तुत गरेको महासंघका सचिव विजयकुमार प्रधानले गोल्डेन न्यूज दैनिकलाई जानकारी दिए ।भूकम्प पीडितको सहयोगका लागि आएका जापानिज पर्यटक लुटिएका छन । बैशाख १२ गतेको भूकम्पबाट भएको क्षतिलाई मध्येनजर गर्दै पोखरा आएका जापानिज नागरिक योशीयाकी हारानागा लुटिएका हुन । २५ वर्षीय योशीयाकी जेठ २८ गते नेपाल आएका योशीयाकीलाई २९ गते रातको समयमा पोखरा ६ गाइघाटमा १० जनाको समूहमा आएका लुटेराहरुले हातपात गरी उनीसंग भएको नगद पैसा लुटि लगेको पीडित योशीयाकीले बताएका छन् । जापानमा रहेका विभिन्न साथीहरुबाट आर्थिक श्रोत जुटाइ नेपालका भूकम्प पीडितलाई सहयोग गर्न आउँदा आफू लुटिंदा निकै दुःख लागेको उनले बताए । पीडित योशीयाकी विगत ९ वर्षदेखि जापानमा संगै बस्दै आएका पोखराका स्थानीय दिलिप बिक. सुनारको घरमा रातको समयमा सुतिरहेको बेला १० जनाको समूहमा आएका लुटेराहरुले उनीसंग भएको १५ सय अमेरिकी डलर नेपाली रुपैयाँ १ लाख ५३ हजार ९ सय ५ रुपैयाँ लुटी उनलाई हातपात गरी भागेको र प्रहरी समक्ष जाहेर गर्दापनि प्रहरीले लुटेराहरुको खोजीकार्यमा ढिलासुस्ती गरेको उनले बताए । लुटेराहरुलाई तत्काल पक्राउ गरी कडा भन्दा कडा कारवाही गर्नका लागि योशीयागीले पोखरेलीहरु सहित सम्बन्धित निकायसमक्ष सहयोगको अपेक्षा गरेका छन । भूकम्प प्रभावित हरुलाई सहयोग गर्न आउँदा आफै लुटिनुपर्दा निक्कै दुःख लागेको र लुटपाटमा सम्बन्धितलाई छिटो भन्दा छिटो पक्राउ गरी कडा भन्दा कडा कार्वाही गर्न माग गरेका छन । योशीयाकी यो घटनाले मानसिक रुपमा त्रसित भएको वताउँदै चाडो भन्दा चाडो जापान फर्कन चाहेको समेत उनले बताएका छन् ।
Post a Comment