0
गोल्डेन न्यूज संवाददाता
रुख रोपौं वातावरण स्वच्छ पारौं भन्ने नाराका साथ टोल विकास संस्था वडा समन्वय समिति वडा नं.१० पोखराले विश्व वातावरण दिवस–२०७२ को अवसरमा पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको दक्षिण तर्फको कम्पाउण्ड बाहिर गिताशान्ति मार्ग रामघाट पोखरा १० मा १५ वटा कपुर र गुलमरका विरुवा रोपी वृक्षारोपण सम्पन्न भयो । कार्यक्रमका प्रमुख अतिथि पोखरा उपमहानगरपालिका वातावरण शाखाका शाखा प्रमुख निर्मलमान सिंह भण्डारीलाई सभाका सभाध्यक्ष सम्मरबहादुर श्रेष्ठले कपुरको विरुवा हस्तान्तरण गरी विरुवा रोपी कार्यक्रमको उद्घाटन गर्दै संसारमा बढ्दै गइरहेको औद्योगिक क्षेत्र, सवारीसाधनका साथ जनघनत्वले वातावरण प्रदुषण बढ्दै गइरहेको बताए । उनले पोउमनपा कार्यालयको वातावरण मैत्री कार्यक्रम अन्तर्गत केही वडाहरुमा वृक्षारोपाण गरी वातावरण स्वच्छ राख्ने काम गरेकोमा विरुवा हुर्काउन समेत आवश्यकता रहेको बताए । कार्यक्रममा पोखरा उपमहानगरपालिका कार्यालयबाट ट्रिगार्ड, जिल्ला वन कार्यालयबाट कपुरका विरुवा सहयोग प्राप्त भई वडा नं.१० भित्र विभिन्न टोलमा वृक्षारोपण गर्ने सम्मरबहादुर श्रेष्ठले बताए । पोउमनपा वातावरण मैत्री स्थानीय शासन अनुगमन तथा मूल्यांकन अधिकृत हरिप्रसाद न्यौपाने, टोलविकास संस्था महिला नगर समन्वय समितिका अध्यक्ष पवित्रा गुरुङ्ग, टोल विकास संस्थाका अध्यक्ष हितराज शर्मा,कृष्ण बहादुर थापा, महिला समूहका अध्यक्ष निर्मला कार्की भण्डारी, खरिकला पहारी, समाजसेवी भुपति गौतम लगायतले विरुवा रोप्नु राम्रो हो तर हुर्काउनु अझ राम्रो भन्दै टोलबासीलाई संरक्षण गर्न आग्रह गरेका थिए । संयोजक एवं गीता शान्ति मार्ग टोल विकास संस्थाका अध्यक्ष तोयनाथ गौतमले स्वागत गरेको कार्यक्रममा टोल विकास संस्था वडा समन्वय समिति वडा नं.१० का अध्यक्ष एवं कार्यक्रमका सभाध्यक्ष सम्मरबहादुर श्रेष्ठले जेठ २२ गते रामबजारको पूर्वतर्फ ३२ वटा विरुवा रोप्ने बताउँदै हराभरा पोखरा निर्माण गर्न पोउमनपाले १ घर १ विरुवाको अवधारणाको नीतिलाई लागू गर्नुपर्ने बताए । कार्यक्रमको संचालन गीता शान्तिमार्ग टोलविकास संस्थाका सदस्य शिवप्रसाद गौतमले गरेका थिए ।

Post a Comment

 
Top