गोल्डेन न्यूज संवाददाता
नेपाल लेखापढी कानुन व्यवसायी एशोसिएशन कास्कीको छैटौं अधिवेशन शुक्रबार सम्पन्न भयो । अधिवेशनको उद्घाटन गर्दै कास्की जिल्ला अदालतका न्यायाधीश रामप्रसाद ओलीले लेखापढी कानून व्यवसायी एशोसिएशनको इतिहास लामो नभए पनि यसले व्यवसायिक मर्यादाभित्र रहेर काम गर्नुपर्ने बताए । प्रत्येक व्यवसायलाई व्यवसायी आफैले मनिटरिङ गरेर चलाउनुपर्ने आवश्यकता औंल्याउँदै व्यवसायीमा पारदर्शिता, इमानदारिता र लगनशीलता हुनुपर्ने बताए । कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी यमप्रसाद सुवेदीले कानूनको मर्यादाभन्दा बाहिर गएर काम गर्ने जोकसैले छुट नपाउने बताए।उनले पेसागत आचरणमा रहेर काम गर्न एशोसिएशनलाई आग्रह गरे । नेपाल लेखापढी कानून व्यवसायी एशोसिएशनका केन्द्रीय वरिष्ठ उपाध्यक्ष रामप्रसाद अधिकारीले आफूले नबुझिकन हतारमा कागज लेख्दा बेलाबेलामा व्यवसायी साथीहरूले दुःख पाउने गरेको उदाहरण प्रस्तुत गर्दै अत्यन्तै चनाखो भएर काम गर्न व्यवसायीलाई आग्रह गरे । व्यवसायीबीच एकता जरूरी आवश्यक पर्ने हुँदा जुनसुकै काम गर्दा पनि हातमा हात मिलाएर गर्न आग्रह गर्दै उनले भने–‘संस्था रहेमात्र हामी रहन्छौं, त्यसैलाई हृदयंगम गर्दै व्यवसाय चलाउनुस् ।’ नेपाल लेखापढी कानून व्यवसायी एशोसिएसन पश्चिमाञ्चल अध्यक्ष धनबहादुर थापाले गलत काम गर्ने अरु भए पनि सिफारिसबमोजिम कागजपत्र ठीक छ भनेर लेखिदिने व्यवसायीलाई दोष देखाएर मुख्य अभियुक्तलाई जोगाउने काम गरिएको दाबी गरे। उनको भनाइ थियो–‘काम गर्दाको सिलसिलामा मालपोत, नापी र सिफारिस दिने निकायलाई जोगाएर सिफारिस बमोजिम कागजपत्र ठीक छ भनेर लेख्ने व्यवसायीलाई सजायँ दिने गरिएको छ, यसको अन्त्य हुनुपर्छ ।’ नेपाल लेखापढी कानुन व्यवसायी एशोसिएशनका केन्द्रीय सदस्य विमल कार्कीले इमान्दारितापूर्वक काम गर्ने हो भने ६० प्रतिशत अदालती झैंझगडाको निराकरण व्यवसायीले नै गर्न सक्ने दाबी गरे । उनले कसैको पनि विचौलिया बनेर काम नगर्न व्यवसायीहरूलाई आग्रह गरे । नेपाल पत्रकार महासङ्घ कास्कीका अध्यक्ष रामकृष्ण ज्ञवालीले सेवाग्राहीलाई बढी सुविधा दिने नाउँमा विचौलिया बने नबनेको स्वयं मूल्याङ्कन गर्न व्यवसायीलाई आग्रह गरे । उनले पत्रकारको सम्मानले सम्बन्धित क्षेत्रमा काम गर्न उर्जा मिल्ने भन्दै एशोसिएशनले राम्रो कामको सुरुवात गरेकोमा महासङ्घको तर्फबाट धन्यवाद दिए । नेपाल लेखापढी कानुन व्यवसायी एशोसिएशन कास्कीले एशोसिएशन को विकास र विस्तारमा कलम चलाउने एकजना पत्रकारलाई यस वर्षदेखि सम्मान गर्ने घोषणा गरेको छ । सोहीअनुरुप पत्रकारितामार्फत एशोसिएसनको प्रचार–प्रसारमा अतुलनीय योगदान दिएको भन्दै पत्रकार प्रेमनारायण न्यौपानेलाई सम्मान गरिएको थियो । एशोसिएशनका केन्द्रीय वरिष्ठ उपाध्यक्ष रामप्रसाद अधिकारीले दोसल्ला ओढाएर तथा प्रमुख अतिथि न्यायाधीश रामप्रसाद ओलीले कदरपत्र दिएर न्यौपानेलाई सम्मान गरेका थिए । यस्तै जिल्ला बार एशोसिएसन कास्कीकोभवन निर्माण सहयोगार्थ एशोसिएसन कास्कीले पूर्वप्रतिबद्धताअनुरुप २५ हजार सहयोग गरेको छ । कार्यक्रममा जिल्ला बार एशोसिएशन कास्कीका अध्यक्ष पदमपाणि देवकोटा, यातायात व्यवस्था कार्यालय गण्डकीका प्रमुख भरतराज पौडेल, नेपाल लेखापढी कानून व्यवसायी एशोसिएसनका पश्चिमाञ्चल कोषाध्यक्ष भरतराज तिवारी, एशोसिएसनका केन्द्रीय सदस्य माया सोती, मालपोत कार्यालय कास्कीका प्रमुख मालपोत अधिकृत चिरञ्जीवी सापकोटा, नापी कार्यालयका प्रमुख अधिकृत रामकुमार बस्नेतलगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । नेपाल लेखापढी कानुन व्यवसायी एशोसिएशन कास्कीका अध्यक्ष हरिप्रसाद शर्माको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष छविलाल शर्मा तिमिल्सिनाले स्वागत मन्तव्य व्यक्त गरेका थिए भने सचिव अम्बर बहादुर कार्कीले कार्यक्रम सञ्चालन गरेका थिए ।
Post a Comment