0
गोल्डेन न्यूज संवाददाता
नागरिकको स्वास्थ्य सेवाको लागि सरकारी स्वास्थ्यहरुमा निःशुल्क औषधि तथा उपचार प्रदान गर्दै आए पनि सेवा प्रभावकारी नभएको गुनासो सरोकारवालाले बताएका छन् । नेपाल समता फाउण्डेन्सन कास्कीको आयोजना तथा जिल्ला जनस्वास्थ्य कार्यालय कास्कीको सहयोगमा प्राथमिक स्वास्थ्य केन्द्रमा सोमबार गरिएको सामाजिक परीक्षण आमभेलाका सहभागीले यस्तो गुनासो गरेका हुन् । तल्लो तहमा रहेका स्वास्थ्य संस्थाबाट प्रवाह हुने सेवाको बारेमा प्रचारप्रसार हुन सके सरकारी लगानीको सदुपयोग हुने उनीहरुले बताए । नजिकै पोखरामा सुविधा सम्पन्न अस्पताल भएकाले शिसुवा प्रास्वाके ओझेलमा परेको भन्दै सहभागीले एक्सरे, भीडीयो एक्सरेजस्ता सेवा प्रदान गर्न सके प्रभावकारी हुने औल्याए ।  लेखनाथ उद्योग वाणिज्य संघ लेखनाथका प्रथम उपाध्यक्ष लक्ष्मीप्रसाद त्रिपाठीले नजिकै रहेको लेखनाथ सामुदायिक अस्पताल र प्रास्वाके मिलेर स्थानीयलाई सेवा दिनुपर्ने बताए । सरकारले शिशुवा प्रास्वाकेको स्तरोन्नती गर्न निर्णय गरे पनि त्यसका लागि ३५ रोपनी जग्गा चाहिने भएकाले स्थानीयको पहल जरुरी रहेको बताए । जिल्ला जनस्वास्थ्य कार्यालय कास्कीका प्रमुख वरिष्ठ जनस्वास्थ्य प्रशासक सागरप्रसाद घिमिरेले सरकारले जग्गा किन्ने अवस्था नभएकाले स्थानीय स्तरबाट जग्गाको व्यवस्था भए स्तरोन्नती पक्का भएको बताए । शिशुवा प्रास्वाके प्रमुख डा. सुनिता तिमिल्सिनाले बर्सेनि बिरामीको चाप बढे पनि जनचाहना अनुसार काम गर्न नसकिएको बताइन् । स्वास्थ्य संस्था व्यवस्थापन समितिका अध्यक्ष हर्कबहादुर श्रेष्ठले लेखनाथको २ वटा वडाका बासिन्दालाई यहाँबाट सेवा दिने गरिएको भन्दै आगामि दिनमा सेवा र गुणस्तर बढाउँदै लैजाने बताए । सामाजिक परीक्षक कविता थापाले निर्मलिकरण, विरामी जाँच र प्रसुति, औषधि वितरण, आकश्मिक उपचार आवासका लागि छुट्टाछुट्टै कक्ष रहेको भए पनि निर्मलीकरण भने निष्मित नभएको पाइएको बताइन् ।  सरकारले यही वर्ष प्रास्वाकेमा ५९ प्रकारका औषधि निःशुल्क उपलब्ध गराउने भने पनि अहिलेसम्म नआएको डा तिमिल्सिनाले बताइन् । मस्वासे निर्मला पौडेलले चाहिएको बेलामा मात्र आफूहरुलाई सम्झने तर सेवा सुविधा भने निकै कम भएको गुनासो राखिन् । कार्यक्रममा मस्वासे लेखनाथ नगर समिति संयोजक तारा अधिकारी, लेखनाथ नगरपालिकाका कार्यकारी प्रमुख रामचन्द्र पौडेल, नेपाली काँग्रेस नगर समिति सभापति राजेन्द्रमणि लामिछाने, नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष रामकृष्ण ज्ञवाली,  नेपाल समता फाउण्डेसनकी उपाध्यक्ष सरस्वती गुरुङ, सचिव भरत कोइराला,  अध्यक्ष नारायण कार्की,  स्थानीय चिरञ्जिवी तिवारी, प्रेमकाजी गुरुङ, नन्दबहादुर गुरुङ, सीता जमरकट्टेल ललगायतले  आ–आफ्नो भनाइ राखेका थिए ।

Post a Comment

 
Top