गोल्डेन न्यूज संवाददाता
आइतबार निधन भएका नेपाली कांग्रेस कास्कीका नेता चन्द्रमणि पौडेलको सोमवार अन्त्येष्टि गरिएको छ । नेपाली कांग्रेसका पूर्व सह–सचिव, महाधिवेशन प्रतिनिधि तथा प्रजातान्त्रिक आन्दोलनका योद्धा पौडेलको लेखनाथस्थित सेतीनदी किनारमा अन्त्येष्टि गरीइएको हो । अन्त्येष्टि गर्नुअघि नेपाली कांग्रेस कास्कीले पौडेलको निवासमा एक शोकशभा गरी अन्तिम श्रद्धाञ्जली प्रकट गरेको थियो । नेपाली कांगे्रसका केन्द्रीय सदस्य जीवन परियार,कास्कीका शभापति एवं सभासद यज्ञबहादुर थापा, पूर्व शभामुख तथा पार्टीका पूर्वमहामन्त्री तारानाथ रानाभाट , नेता शुक्रराज शर्मा सचिवद्वय कृष्ण केसी र युवराज कुँवर लगायतका नेताहरुले स्व. पौडेलको पार्थिव शरीरमा कांग्रेसको चारतारे झण्डा ओढाएर अन्तिम श्रद्धान्जली व्यक्त गरेका थिए । पौडेलको शवयात्रामा सहभागी हुन कांग्रेसका नेता, कार्यकर्ताका साथै आफन्त, शुभचिन्तक लेखनाथ पुगेका थिए । यसैबीच कास्की कांग्रेसको सोमबार सम्पन्न आकस्मिक बैठकले पौडेलको निधनप्रति शोक प्रस्ताव पारित गर्दै कांग्रेस कास्कीको कार्यालयसहित जिल्लाका ७६ इकाई कार्यालयसमेत तीन दिन बन्द राख्ने निर्णय गरेको छ । पार्टी शभापति एवं सभासद यज्ञबहादुर थापाको सभापतित्वमा सम्पन्न बैठकले आगामी २२ गते बिहान कांग्रेसका केन्द्रीय नेताहरुको उपस्थितिमा पौडेलकै निवासमा श्रद्धाञ्जलीशभा आयोजना गर्ने निर्णय गरेको सचिव युवराज कुँवरले गोल्डेन न्यूज दैनिकलाई जानकारी दिए । स्व.पौडेल कांग्रेसको कास्की क्षेत्र नं. १का पूर्वसचिव, जिल्ला पूर्वसह–सचिव हँुदै महाधिवेशन प्रतिनिधिका रुपमा राजनीतिमा सक्रिय रहँदै आएका थिए । ५७ वर्षीय पौडेलको क्यान्सर रोगका कारण आईतबार उपचारका क्रममा काठमाडौंको वीर अस्पतालमा निधन भएको थियो । कास्कीको राजनीतिमा ईमान्दार मानिने उनी विभिन्न आन्दोलनमा नेतृत्वदायी भूमिका खेल्नुका साथै पटक पटक जेलजीवन समेत बिताएको बताइन्छ ।
Post a Comment