0
गोल्डेन न्यूज संवाददाता
भूकम्पले भत्किएको घर । कुबेलामा सुरु भएको बर्षायाम । दिन त जेनतेन बित्थ्यो उनको । तर घामले नेटो काटेपछि, उनको मनको ढुकढुकीको पारो बढ्थ्यो । अब भने उनि ढुक्क छन् । दिउँसोभरी घरको काम गर्दा, राती पानी पर्यो भने कहाँ सुत्ने भन्ने चिन्ता गायब भएको छ  । हो, कास्कीको माझठानाकी सरस्वती पौडेलको घर पुनर्निर्माण भएको छ । एमाओवादी कास्कीका कार्यकर्ताहरुले भूकम्पले क्षती भएको घर निर्माण गरिदिएका हुन् । ‘एक कप चिया पनि आफ्नै खाएर, माओवादीले घर बनाइदिए । बर्खालाइ ओतको चिन्ता हट्यो ।’ खुसी हुँदै उनले सुनाइन् । सरस्वती जस्तै माझठानाका इमनाथ ढुङ्गाना, सुर्य पराजुली र बिष्णुमाया परियार सहित दर्जनांै घर परिवारलाइ अब यो बर्षायाम कसरी टार्ने भन्ने चिन्ता छैन । गत जेठ ६ गतेबाट एमाओवादी कास्कीले जिल्लामा पुर्ननिर्माणको अभियान कास्की क्षेत्र नम्बर १ बाट सुरु गरेको हो । जुन अभियान माझठानाको पुर्ननिर्माण सकाएर, शनिबारदेखी कास्कीको कालिका गाबिसमा आइपुगेको छ । माझठानामा मात्र १२ वटा घर पुनर्निर्माण भएका छन् । पुनर्निर्माणमा एमाओवादी कास्कीका उपाध्यक्ष गंगा पोखरेल देखी सोही क्षेत्रबाट चुनाब उठेका बिष्णु पौडेल र पुराना नेताहरु कोमलनाथ बराल तथा रामराज रेग्मीसम्म आफै साबेल ढुङ्गा बोकेर काममा खटिएका छन् । दैनिक ३० देखि ५० जना श्रमदानमा खटिएका छन् । श्रममा खटिनै सबैले आफ्नो खाना र खाजा मात्र हैन, चिया खान पनि जनतालाइ दुःख दिन्नन् । रातमा सुत्न पनि जनतालाइ अप्ठ्यारो पार्दैनन् । पाल टाँगेर वा बिद्यालयमा सुत्छन् । ‘कोही चिया नखाए रिसाउछन्, उनीहरुलाइ नकार्न सकिएन । तर जनतालाइ एक पैसाको पनि मार नपर्ने गरी पुर्ननिर्माणमा जुटेका छौ । हामलाइ चाहिने चामल र दाल हामीलेनै बोकेर हिडेका छौ ।’ टिंममा खटिएका उपाध्यक्ष गंगा पोखरेलले भने ।  टोलीले गरिब, बिपन्न बर्ग, दलित र पाल टाँगेर सुतिरहेका परिवारको घर पुर्ननिर्माणमा जोड दिएको छ । क्षेत्र नम्बर एकमा सबैभन्दा बढी क्षति भएको क्षेत्र नम्बर एकको ठूला स्वाँरामा शनिबार देखि पुर्ननिर्माणमा जुटेका माओवादी कार्यकर्ताहरुले करिब ३० वटा घर पुनःनिर्माणको लक्ष्य लिएका छन् । माओवादीको स्थायी टिमनै पुनःनिर्माणमा आएपछि, गाउँलेहरु पनि खुसी भएका छन् । उनिहरुले माओवादी पुर्ननिर्माणको टिम बस्ने स्थानमा गएर आफ्नो घर पुनःनिर्माणका लागि आग्रह गर्ने गरेका छन् । कालिकापछि, रुपाकोट हुँदै अन्य क्षतिग्रस्त ठाउँमा पुनःनिर्माणका लागि टिम परिचालन हुने एमाओवादी कास्कीले जनाएको छ । गाउँमा पुनःनिर्माणमा माओवादीले पूर्वाग्रह नराखेको गाउँलेले बताए । ‘अरु पार्टीका आफ्ना नजिककालाइ खुसुखुसु बाँडेर गए ।’ माझठानाकी बिष्णु मायाले भनिन्–‘माओवादीले भने अरु पार्टीका मान्छे पनि नभनी सबैको घर बनाए । घर बनाम्दा एक ढिको नुन पनि खर्चिन परेन ।’यो पुनःनिर्माण अभियान पालैपालो कास्की जिल्लाभर संचालन हुने एमाओवादी कास्कीका अध्यक्ष दिपक कोइरालाले जानकारी दिए । टोलीमा माओवादीका नेताहरु डम्बर विक, कपिल,  विश्वप्रकाश लामिछाने र निर्मला क्रान्ति लगायतको सहभागिता छ ।

Post a Comment

 
Top