0
गोल्डेन न्यूज संवाददाता
नेपाली काँग्रेसले संविधान निर्माण, भूकम्पपीडितका लागि राहत, पुनःस्थापना एवम् पुनःनिर्माणका काम एकसाथ गरिनुपर्ने निष्कर्ष निकालेको छ । पदाधिकारी एवम् सरकारमा प्रतिनिधित्व गर्ने दलका मन्त्रीहरूको आज बालुवाटारमा बसेको बैठकले संविधान निर्माणको काममा ढिलाइ गर्न नहुने बताउँदै काँग्रेसले त्यससँगै नवनिर्माणको कामलाई अघि बढाउनुपर्ने जनाएको सहमहामन्त्री पूर्णबहादुर खड्काले जानकारी दिए । “राष्ट्रिय सङ्कटका समयमा सरकार अगाडि पुनःस्थापना र पुनःनिर्माणका काम पछाडि पार्नु मुलुकका लागि दुर्भाग्य हुन्छ भन्ने निचोड छ, अस्थायी बसोवास र राहतका कामलाई पहिलो प्राथमिकता दिएर राष्ट्रिय सरकार गठन गरिनुपर्छ, यस विषयमा छलफल गर्न आजै बेलुकी चार दलको बैठक बोलाइएको छ”– खड्काले भने । यही जेठ १७ गतेदेखि संविधानसभा बैठक बोलाइएकाले संविधानका सहमति भइसकेका विषय मस्यौदा समितिमा पठाउने र छदेखि आठ प्रदेश निर्माणमा सहमति जुटाउने गरी छलफल अघि बढाउनेबारेमा पनि बैठकमा छलफल भएको थियो । चार दलले छलफल गरी संविधानसभामा प्रतिनिधित्व गर्ने सबै दललाई एक ठाउँमा ल्याउने गृहकार्य अगाडि बढाइनुपर्नेमा बैठकले जोड दिएको छ । नेकपा (एमाले)ले काँग्रेससँगको सहकार्य छाडी अलग्गिएला भन्ने अव्यावहारिक र त्रुटिपूर्ण निर्णय गर्ला भन्ने नसोचिएको एवम् यसबारे सञ्चार माध्यममा आएका विषयलाई महत्व नदिइएको सहमहामन्त्री खड्काले बताए ।

Post a Comment

 
Top