0
हालैको विनाशकारी भूकम्पले लमजुङको पूर्वी क्षेत्रमा व्यापक क्षति पु¥याए पनि भूकम्पपीडितका लागि राहत वितरण गरेका सङ्घ संस्थाले भूकम्पको प्रभाव कम परेका स्थानमा राहत वितरण गरिरहेको पाइएको छ । पूर्वी लमजुङको विचौर, दूधपोखरी, इलामपोखरी, कोल्की, गौँडा र प्यारजुङलगायतका गाविसमा सयौँ घर भूकम्पका कारण भत्किएका छन् । त्यहाँका सर्वसाधारण खान र बस्नको समस्याले पिरोलिएको अवस्थामा लमजुङमा कार्यक्षेत्र बनाएर काम गरिरहेको वल्र्डभिजन नामक अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाले भने कम प्रभाव परेका गाविसमा करोडौँको राहत वितरण गरिरहेको पाइएको छ । सो संस्थाले भूकम्पको अत्यधिक कम प्रभाव परेका सुन्दरबजार, तार्कु, परेवाडाँडालगायतका नौवटा गाविसमा राहतस्वरुप खाद्यान्न र जस्तापाता वितरण गरेको हो । पूर्वी लमजुङका भूकम्पपीडितले त्रिपालको छत नपाएर हैरानी व्यहोर्नु परेको गुनासो आइरहेका बेला वल्र्डभिजनले कम प्रभाव परेका स्थानमा जस्तापाता वितरण गरेकामा कतिपयले असन्तुष्टि जनाएका छन् । प्राप्त जानकारीअनुसार सो संस्थाले सुन्दरबजारमा १०५, परेवाडाँडामा ७० घरधुरीलाई ६०० बन्डल जस्तापाता वितरण गरेको छ । परेवाडाँडामा १.५ टन चामल, २.५ क्विन्टल केराउ, ५०० लिटर तोरीको तेल, ५०० केजी नुन वितरण गरिएको छ । त्यस्तै भूकम्पको प्रभाव न्यून परेको सदरमुकाम बेंसीसहरमा पनि २३ घरधुरीलाई २१ बन्डल जस्तापाता, ५१० केजी चामल, एक क्विन्टल केराउ राहतस्वरुप वितरण गरिएको जनाइएको छ । चण्डीस्थान गाविसमा २० घरका लागि २० बन्डल जस्तापाता र २.७ क्विन्टल चामल वितरण गरिएको छ । जिल्ला विपद् व्यवस्थापन समितिमार्फत पनि पूर्वी लमजुङमा २७९ थान त्रिपाल वितरण गर्नुका साथै पाँच क्विन्टल खाद्यान्न वितरण गरिएको सो संस्थाले जनाएको छ । यसैबीच लमजुङमा क्रियाशील ठूला तीनबाहेकका साना राजनीतिक दल राप्रपा नेपाल, सङ्घीय समाजवादी पार्टी, अखण्ड नेपाल पार्टी र सङ्घीय गणतान्त्रिक समाजवादी पार्टीले राहत वितरणमा आफूसँग प्रशासनले समन्वय नगरेको भन्दै असन्तुष्टि जनाएका छन् । ती पार्टीका जिल्ला अध्यक्षहरुले संयुक्त विज्ञप्ति प्रकाशित गरी प्रशासनले राहत वितरणमा ढिलाइ गरेको आरोप पनि लगाएका छन् । भूकम्पपीडितको खुला आकाशमुनिको बास, त्रिपाल गोदाममा थन्किए लमजुङका सयौैँ भूकम्पपीडित घरपरिवार अझै पनि खुला आकाशमुनि बस्न बाध्य छन् । भूकम्पका कारण क्षतिग्रस्तमध्ये आधाजसो घरमा पनि पाल पुग्न नसकेका कारण भूकम्पपीडित नागरिकले सास्तीका साथ दिन बिताउनुपरेको छ । दिनभरिको चर्को घाम र बेलुका पर्ने वर्षाले उनीहरुको जीवनलाई थप कष्टकर बनाइदिएको छ । जिल्ला दैवी प्रकोप व्यवस्थापन समितिको तथ्याङ्कअनुसार लमजुङमा हालसम्म चार हजार ५०० थान त्रिपाल भूकम्पपीडितलाई वितरण गरिएको छ । प्रमुख जिल्ला अधिकारी तथा विपद् व्यवस्थापन समितिका संयोजक श्रवणकुमार तिमिल्सिनाका अनुसार अझै पनि लमजुङका हजारौँ नागरिक खुला आकाशमुनि बस्न बाध्य छन् । सबैलाई पु¥याउन अझै पाँच हजार थान त्रिपालको आवश्यकता पर्ने प्रजिअ तिमिल्सिनाले बताउनुभयो । उहाँले क्षतिको विवरण अझै आउने क्रम जारी रहेकाले यो त्रिपालको आवश्यकता अरु बढ्नसक्ने बताउनुभयो । भूकम्पका कारण सर्वसाधारणका घरबाहेक सरकारी कार्यालय र विद्यालयको क्षति पनि ठूलो भएको छ । जिल्ला शिक्षा अधिकारी सुरेन्द्रराज पराजुलीले हालसम्म १०३ वटा विद्यालय भवनमा क्षति पुगेको जानकारी आफूलाई आएको बताउनुभयो । उहाँका अनुसार ५० भन्दा बढी विद्यालयमा धेरै क्षति पुगेकाले पठनपाठनमै समस्या देखिएको छ । सदरमुकाम बेंशीसहरमा रहेका २० वटा सरकारी कार्यालयमा पनि क्षति पुगेको छ । यस्तै १६ वटा गाविसको कार्यालय पनि क्षतिग्रस्त भएको स्थानीय विकास अधिकारी विष्णुप्रसाद शर्माले जानकारी दिनुभयो । स्वास्थ्य र कृषि कार्यालयको मातहत जिल्लाका विभिन्न स्थानमा रहेका स्वास्थ्य चौकी, उपस्वास्थ्य चौकी, कृषि सेवा केन्द्रमा पनि निकै क्षति पुगेको जानकारी आए पनि क्षतिको पूरा विवरण आइपुगेको छैन । हालसम्मको तथ्याङ्कअनुसार भूकम्पका कारण लमजुङमा दुई हजार ७५० घर पूर्णरुपमा भत्किएका छन् । त्यस्तै चार हजार ६८० घर बस्न नहुने अवस्थामा पुगेका छन् भने चार हजार ३३४ घरमा आंशिक क्षति भएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । रासस

Post a Comment

 
Top