0
गोल्डेन न्यूज संवाददाता
भूकम्पबाट शिथिल बनेको पर्यटन क्षेत्र उकास्न शनिबार पोखराको लेकसाइड गुञ्जायमान बनाइएको छ । राष्ट्रिय भाव झल्किने गीतसंगीत प्रस्तुत गरेर भीषण वर्षाका बाबजूत लेकसाइड लाई संगीतमय बनाइएको थियो ।  ‘पूनर्जागरणका लागि संगीत’ भन्दै पोखरा पर्यटन व्यवसायीले राष्ट्रिय र स्थानीय कलाकारको सहयोगमा सांगीतिक कार्यक्रम गरेका थिए । पोखरा पर्यटन पुनर्जागरण समिति (पिटिआरसी) का संयोजक गणेशबहादुर भट्टराइका अनुसार भूकम्पको असर कम गर्नका लागि राष्ट्रिय कलाकारको साथमा कार्यक्रम गरिएको हो । शनिबार दिउँसो २ बजेदेखि बेलुकीसम्म लेकसाइडस्थित अम्बोटमा सांस्कृतिक कार्यक्रम गरिएको थियो । कार्यक्रम चलिरहँदा भीषण वर्षा भएपनि सांगीतिक कार्यक्रम रोकिएको थिएन । शुक्रबार बेलुकी तय गरेको कार्यक्रम भीषण वर्षाले शनिबार दिउँसोका लागि सारिएको थियो । कार्यक्रमको सुरुवातमै नायक राजेश हमालले पोखराबासीलाई अभिवादन गर्दै भूकम्पको असर कम गर्न यस्ता कार्यक्रम जरुरी रहेको बताए । ‘भूकम्प आउनु थियो, आयो । अब डराएर बस्ने मात्र होईन’ उनले भने,–‘नियमित काममा पनि फर्किनुपर्छ । सधै भूकम्प आउलाकी भन्ने त्रास छाएर बस्नु हुँदैन ।’ भूकम्प आउँदा आफू फ्रान्समा रहेको बताउँदै उनले मानवीय गल्तीकै कारण केहि क्षति भोग्नुपरेको बताए । ‘भूकम्पले मान्छे मारेको होइन । हाम्रै संरचनाले क्षति भएको हो । त्यहि भएर सचेत हुने बेला आएको छ’ उनले भने । कार्यक्रममा गायक रामकृष्ण ढकालले ‘बिहान उठ्ने बित्तीकै हिमाल देख्न पाईयोस’ बोलको गीत गाएर पोखरेली दर्शकलाइ उकासेका थिए । उनले हातमा राष्ट्रिय झण्डा लिएर गीत गाउँदै दर्शकलाई मनोरञ्जन दिलाएका थिए । त्यस्तै धर्मेन्द्र सेवान, प्राश्ना शाक्य, आस्था राउत, अभय एण्ड स्टिम इन्जस लगायतले पनि गीतसंगीत प्रस्तुत गरेका थिए । भीषण वर्षाका बाबजूत पनि पोखरेलीले कलाकारकोको प्रस्तुतिलाई साथ दिएका थिए । सांस्कृतिक कार्यक्रमका सहभागि कलाकारले राष्ट्रिय भाव सहितका गीत तथा सांगीतिक कार्यक्रम मात्र प्रस्तुत गरेका थिए । मनोरञ्जनात्मक भन्दा पनि राष्ट्रिय भावले ओतप्रोत सांगीतिक कार्यक्रम गरेर पोखरालाई सक्रिय बनाउन खोजेको पिटिआसरीका इभेन्ट संयोजक गोपी भट्टराइले बताए । गायक गायिकाले आफुहरुले गाएका मनोरञ्जात्मक गीतको सट्टा राष्ट्रिय भाव झल्कने गीतसंगीत प्रस्तुत गरेका थिए । राष्ट्रियतासँग सम्बन्धित गीत गाएर पोखरेलीलाई एकीकृत बनाउने प्रयास गरेको संयोजक भट्टराइले बताए । पोखराको पर्यटन क्षेत्र उकास्नका लागि फिल्मकर्मीदेखि कलाकार झिकाएको उनले बताए । भूकम्पको कम्पन र त्रासका कारण सिंगो मूलूक नै निराश भएको बेला मनोरञ्जनात्मक गतिविधि नगरि राष्ट्रियता झल्कने गतिविधि मात्र गरेको उनले बताए । नेपालको झण्डा र पूनर्जागरणका लागि संगीत लोगो अंकित टिसर्ट लगाएका युवायुवती कार्यक्रममा सहभागी थिए । पोखराका पर्यटन व्यवसायी सम्मिलित पिटिआरसीले भूकम्प पछि पूनरुत्थानका विभिन्न कार्यक्रम गर्दै आएका छन् । योगशिविर र क्षमापूजा गरेका व्यवसायीले सांगीतिक कार्यक्रम सकिएपछि अन्य प्रवद्र्धनात्मक गतिविधि चलाउने पिटिआरसी संयोजक भट्टराइले बताए । पोखरामा यतिबेला पर्यटक शून्य भएकोले अहिलेको डर त्रास कम गर्न यस्ता कार्यक्रम जरुरी रहेको उनले बताए ।

Post a Comment

 
Top