0
काठमाडौँ, १७ चैत । चिकित्सा शिक्षा र सेवामा सुधारको माग गर्दै दश दिनदेखि अनशनरत त्रिविवि शिक्षण अस्पताल हाडजोर्नी विभागमा कार्यरत प्रा डा गोविन्द केसीका केही माग सम्बोधन गर्न संवैधानिक एवं प्राविधिक अड्चन देखिएको सरकारले जनाएको छ ।

    अहिले सरकारी वार्ता टोलीको बैठक जारी रहेको वार्ता टोलीका सदस्य एवम् स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री खगराज अधिकारीले जानकारी दिनुभयो ।  उहाँले भन्नुभयो, “डा केसीले उठाएका अधिकांश माग सम्बोधन गर्न सरकार तयार छ, तर केही माग सम्बोधन गर्न संवैधानिक, कानुनी तथा प्राविधिक अड्चन छ, यस्तो अवस्थामा के उपाय निकाल्ने भनेर छलफल गरिरहेका छौँ ।”

    डा केसीका निकटतम सहयोगी र सरकारी वार्ता टोलीबीच आज डा केसीका मागका बारेमा पटक पटक वार्ता भएका थिए । नेपाल चिकित्सक सङ्घका महासचिव डा मुक्तिराम श्रेष्ठका अनुसार वार्तामा भएका उपलब्धि र डा केसीका अन्तिम सीमाबारेमा प्रधानमन्त्रीलाई जानकारी गराउन भन्दै केही समयका लागि सरकारी वार्ता टोली निस्केपछि वार्ता अहिले केही समयका लागि स्थगन भएको छ ।

पदाधिकारी बर्खास्ती र सम्बन्धन विषयमा मिल्न बाँकी
आवासीय चिकित्सक सङ्घका अध्यक्ष डा रामचन्द्र सापकोटाले सरकारी वार्ता टोलीसँग दशमध्ये दुई बुँदामा मात्र कुरा मिल्न बाँकी रहेको जानकारी दिनुभयो । कुरा मिल्न बाँकी बुँदामा शिक्षामन्त्री, त्रिविविका पदाधिकारी तथा मेडिकल काउन्सिलका पदाधिकारीलाई पदबाट हटाउनुपर्ने र केही मेडिकल कलेजलाई सम्बन्धन दिनेबारे रहेको बताइएको छ ।

    यसैबीच डा केसीको स्वास्थ्य अवस्था अत्यन्त जटिल हुँदै गएको उहाँको उपचारमा संलग्न चिकित्सकले जानकारी दिएका छन् ।  प्रा डा दिव्यसिंह शाहले आज अनशनस्थलमा सञ्चारकर्मीसँग कुरा गर्र्दै  डा केसीको पिसाबमा एसिटोन(रङ्गहीन, उडनशील पदार्थ), न्यून रक्तचाप,  कमजोर मांसपेशी तथा रक्तनली, टाउको दुख्ने, रिङ्गटा लाग्नेक्रम बढिरहेको जानकारी दिनुभयो । डा शाहका अनुसार डा केसीको रक्तनली कमजोर हुँदै जाँदा यसले मस्तिष्क, मुटु तथा मिर्गाैलालाई प्रत्यक्ष असर पु¥याउन सक्छ । जुनसुकै समयमा यसको असर देखिन सक्छ । त्यसैले समय समय मुटुको गतिमापन गर्ने विधि(इजिसी)मार्फत मुटु र मस्तिष्क परीक्षण हुँदै आएको छ ।

    “नौ दिनदेखि खाना नखाँदा सुगर(चिनी) बढिरहेको छ, यसलाई नियन्त्रण गर्न स्लाइन पर्याप्त नहुन सक्छ,” डा शाहले भन्नुभयो, “हामीले डा केसीलाई कम बोल्न सुझाव दिइरहेका छौँ तर मानिरहनुभएको छैन,  बोलीमा स्पष्टता पनि आउन छाडेको छ ।”

    डा केसीले आफ्नो अनशनप्रति ऐक्यबद्धता जनाउन आउनेलाई आफ्ना माग र अडानका बारेमा स्पष्ट गर्दै आउनुभएको छ ।

    यसैबीच उहाँको मागप्रति सरकार संवेदनशील नदेखिएको भन्दै काठमाडौँ उपत्यकाभित्र चिकित्साशास्त्र अध्ययन गरिरहेका विद्यार्थीले आज पनि त्रिविवि चिकित्सा अध्ययन संस्थानमा प्रदर्शन गरे ।  बिनापूर्वाधार नयाँ चिकित्सा अध्ययन कोटा वितरण नगर, अध्ययन अनुमति दिएका चिकित्सा कलेजको अनुगमन गर जस्ता नारा लेखिएको ‘प्लाकार्ड’ बोकी उनीहरूले धर्ना दिएका थिए ।

    डा केसीको अनशनप्रति ऐक्यबद्धता जनाउँदै आज उपत्यका भित्रका अस्पतालमा कार्यरत चिकित्सकले अस्पताल बाहिर नै बहिरङ्ग सेवा सञ्चालन गरे  । रासस

Post a Comment

 
Top