
पोखरामा हुने आठौं राष्ट्रिय प्राङ्गारिक कृषि मेलाको तयारी पुरा भएको आयोजकले जनाएको छ । क्षेत्रीय कृषि निर्देशनालय पोखरा र कृषि व्यवसाय प्रवद्र्धन कार्यक्रम हरिहर भवन ललितपुरको संयुक्त आयोजना हुने आठौं राष्ट्रिय प्राङ्गारिक कृषि मेलामा निःशुल्क रुपमा १ सय २० वटा स्टल रहने बताइएको छ । मेला व्यवस्थापन समितिका संयोजक एवं क्षेत्रीय कृषि निर्देशक लेखनाथ आचार्यले पोखराको प्रदर्शनी केन्द्रमा माघ १५ देखि १८ गतेसम्म चल्ने मेलामा झण्डै एक लाख दर्शकले अबलोकन गर्नुको साथै मेलामा रहने सवै स्टल प्राङ्गारिक सम्बन्धी हुने बताए । मेलामा निःशुल्क प्रवेश, निःशुल्क स्टल, प्राङ्गारिक कृषि गीत सम्बन्धी प्रतियोगिता, प्राङ्गारिक कृषि सम्बन्धी प्राविधिक सूचना एव प्रस्तुतिकरण, प्राङ्गारिक कृषि सम्बन्धमा विज्ञहरुबाट कार्यपत्र प्रस्तुति, जेटीए र बुढी आमाको प्रहशन लगायतको कार्यक्रम रहेको क्षेत्रीय कृषि निर्देशनालयका प्रसार अधिकृत खेमनारायण चापागाईले बताएका छन् । मेलामा कृषक, कृषि सहकारीकर्मी तथा कृषि प्रविधिसंग सम्बन्धित उद्योगी, व्यवसायीहरु, विद्यालय, क्याम्पस तथा विश्व विद्यालयका विद्यार्थी तथा शोधकर्ताहरु, सरकारी एवं गैरसरकारी संघसस्थाहरुको सहभागिता रहने आयोजकले जनाएको छ । मेला प्रवेश पनि निःशुल्क भएकोले दर्शकको सख्या बढी हुने आयोजकले अपेक्षा गरेको छ । मेला शुरु हुने दिन बिहिबार माघ १५ गते विहान ११ बजे क्षेत्रीय कृषि निर्देशनालयको प्राङ्गणबाट शुरु हुने नौमती बाजा सहित विभिन्न कृषि झाँकीले पोखराको चिप्लेढुङ्गा महेन्द्रपुल, नयाँबजार हँुदै मेला स्थल प्रर्दशनी केन्द्र नयाँबजारमा पुगेर औपचारीक कार्यक्रममा परिणत हुने बताइएको छ । मेलाको उद्घाटन कृषि मन्त्री हरिप्रसाद पराजुलीले गर्ने आयोजकले जनाएको छ । मेलामा प्राङ्गारिक कृषि बस्तुहरुको खरिद विक्री, बाली उपचार शिवि, घुम्तीमाटो परिक्षण शिविर, प्राङ्गारिक कृषि सूचना केन्द्र, ख्याति प्राप्त राष्ट्रिय कलाकारबाट प्राङ्गारिक कृषि सम्बन्धी सांस्कृतिक कार्यक्रम हुने आयोजकले जनाएको छ ।
Post a Comment