
पहिचानसहितको संघीय संविधान र सहमतीय प्रक्रियाबाट मात्रै संविधान निर्माण गर्नुपर्नेमा जोड दिदै आएको एमाओवादी नेतृत्वको तीस दलीय राजनीतिक मोर्चाले शनिबार पोखरामा प्रदर्शनसहितको कोणसभा सम्पन्न गरेको छ । कास्कीमा क्रियाशील संघीयता पक्षधर राजनीतिक दलहरु एकीकृत माओवादी, संघीय समाजवादी पार्टी र मधेशकेन्द्रित दलहरुको सहभागितामा सम्पन्न प्रदर्शन कार्यक्रममा ‘संघीय संविधान जारी गर, विगतमा गरिएका सम्झौता लागु गर, पहिचानसहितको संघीय संविधान जारी गर’ जस्ता नारा लगाइएको थियो । बिहान पृथ्वीचोकबाट सुरु भएको जुलुस नयाँबजार हुँदै महेन्द्रपुल पुगेर कोणसभामा परिणत भएको थियो । महेन्द्रपुलमा आयोजित कोणसभालाई एमाओवादी स्थायी समिति सदस्य देवेन्द्र पौडेल, संघीय समाजवादी पार्टी नेपालका स्थायी समिति सदस्य गणेशमान गुरुङ, एमाओवादी केन्द्रीय सदस्य राजकाजी गुरुङ, जनजाति अगुवा डा. गेहेन्द्रमान उदास, एमाओवादी कास्कीका अध्यक्ष दीपक कोइराला, संघीय समाजवादी पार्टी कास्कीका अध्यक्ष दीपक तामाङ लगायतका वक्ताहरुले सम्बोधन गरेका थिए । कोणसभामा बोल्दै एमाओवादी स्थायी समिति सदस्य देवेन्द्र पौडेलले आफूहरु संविधान सभाबाटै संविधान बन्नुपर्ने पक्षमा रहेको तर राष्ट्रिय भावनालाई सम्बोधन गरेर सहमतीय संविधान बन्नुपर्नेमा जोड दिए । उनले भने, ‘संविधान सभा हामीले जन्माएका हौं, विगतमा सबै पार्टीहरुको सीमाका कारण यसको अवसान भयो, यसपटक सहमतिद्धारा संविधान निर्माण गर्ने प्रक्रियाबाट कोही पनि भाग्न पाउँदैन ।’ पौडेलले आफूहरुले कुनै एक जातको मात्र पहिचानको कुरा नगरेको भन्दै मिडियाले आफ्ना एजेण्डाहरुलाई बङ्गाएर प्रस्तुत गरेको दावी गरे । कार्यक्रममा संघीय समाजवादी पार्टीका स्थायी समिति सदस्य गणेशमान गुरुङले एमाले पार्टी माक्र्सवाद–लेनिनवादबाट बिचलित भएको दावी गरे । उनले भने, ‘सबै उत्पीडितहरुलाई समान अधिकार र पहिचानको कुराबाट भागेर एमाले माक्र्सवादी–लेनिनवादी हुन सक्दैन । एमालेले लेनिनको मार्ग भुलिसकेको छ ।’ कार्यक्रममा एमाओवादी केन्द्रीय सदस्य तथा पूर्वसभासद् राजकाजी गुरुङले मुलुकले समृद्धिको चाहना गरिरहेको बेला सत्तारुढ दलहरु सत्तास्वार्थमा अल्झिएको टिप्पणी गरे । ‘जनता समृद्धि चाहिरहेका छन्, राज्यसत्तामा समान अधिकारको ग्यारेण्टीले मात्र समृद्धि हासिल गर्न सकिन्छ, तर सत्ताधारी दलहरु अधिकारको मुद्धालाई कुण्ठित गरेर समृद्धिको बाधक बनिरहेका छन्’, नेता गुरुङले भने ।
Post a Comment