0
नेपाली कांग्रेसको भातृ संस्था नेपाल महिला संघको वडा तथा गाउँ अधिवेशनबाट नेतृत्व चयन गर्ने प्रक्रियामा लापर्वाही भएको छ । संघको केन्द्रीय समितिले निर्देशन गरे अनुसार वडा, नगर र गाउँ समितिको अधिवेशन मंसिर २७ गतेका लागि तोकिएको भएपनि अधिकांश गाउँ र नगरमा अधिवेशन नै नगरि आफूखुशी नाम शिफारिस गरि प्रतिनिधि चयन गरिएको बताइन्छ । विशेषगरि महिला संघका र नेपाली कांग्रेसका केही नेताको इशारामा महिलाहरुको नाम छनौट गर्ने र तिनैमार्फत गाउँ कार्यसमिति, नगर कार्यसमितिका साथै क्षेत्रीय र जिल्ला समिति बनाउने अभियानमा केही नेताहरु लागेका छन् ।
नेपाली कांग्रेसबाट संविधान सभामा निर्वाचित महिला नेतृ शारदा पौडेलको वडा अर्थात पोखरा उपमहानगरपालिका वडा नं.१ मा समेत वडा अधिवेशन गरिएन । वडा नं. १ मा अधिवेशन नै नगरिकन क्षेत्रीय प्रतिनिधिहरुको नाम शिफारिस गरिएको थियो भने नयाँ वडा कार्यसमिति अझै गठन गरिएको छैन । वडामा संघको सदस्यता वितरणमा सक्रिय रहेका केही महिलाहरुलाई पाखा लगाएर सोही वडाका कांग्रेस सभापति टंकनाथ पौडेलले पार्टीका नगरसभापति विष्णुहरि बरालको निर्देशन अनुसार पाँच जना क्षेत्रीय प्रतिनिधिको नाम निर्वाचन समितिलाई बुझाएका थिए । ‘मलाई पार्टीका नगर सभापति बरालले बोलाएर अधिवेशन स्थल पुगेको बेला उहाँ र महिला संघकी नगर सभापति हीरा शर्माले तत्कालै नाम चाहियो भनेपछि म आफैले पाँचजनाको नाम दिएको हुँ । महिला संघकी वडा सभापति शोभा क्षेत्रीलाई फोन गरेर हामी दुई जना सल्लाह गरेपछि दिइएको नामहरुमा शोभा क्षेत्री, सविना केसी, याममाया गिरी, हीरा पराजुली र देवी नेपाली रहेका छन् ।’ कांग्रेसका वडा सभापति पौडेलले गोल्डेन न्यूज दैनिकसंग भने–‘नाम दिने कुरा नियमपूर्वक हुन नसकेकै हो । हामीले सल्लाह गरेर अधिवेशन गरि नाम पठाउँला भन्दा हतार भयो भनेपछि तुरुन्तै नाम दिइएको हो । ’
सभापति पौडेलले सोही वडाकी महिला नेतृ तथा सभासद शारदा पौडेललाई समेत आफ्नो नाम पनि लेखेर पठाइदिनु भनेको भएपनि नाम पठाउन नसकिएको बताए ।  महिलाहरुलाई भेला गर्न र विधिवत अधिवेशन गर्न पहल नगर्ने तर प्रतिनिधि बन्न मात्र खोज्ने प्रवृत्तिका कारण समस्या परेको बताउँदै पौडेलले भने–‘अहिले सभासद शारदा पौडेलले मेरो नाम किन नपठाएको भनेर कराएकी छन् ।’ जवकि सभासदको नाताले उनी महिला संघको महाधिवेशन प्रतिनिधि स्वतः बन्छिन् ।
सभासद पौडेल लामो समय सम्म नेपाल महिला संघ कास्कीको अध्यक्षको पदमात्र नभएर संघको केन्द्रीय समितिको सचिवको पद समेत ओगटिन् तर उनले नेतृत्व गरेको महिलासंघ कास्कीमा अहिले सदस्यहरुको खडेरी लागेको छ । पौडेल लगायतका केही महिला नेतृले आफू अनुकुलका महिलालाई मात्रै जिल्ला, क्षेत्र र नगरको नेतृत्वमा ल्याउन खोजेकोले संघको साधारण सदस्यता विस्तार नगरेको बताइन्छ । अझ भन्ने हो भने सभासद पौडेलले महिला संघको सदस्यता बापत बुझाउनुपर्ने शुल्क समेत बुझाएकी छैनन् । सभासद पौडेलले आफ्नो र आफ्नी बुहारीको सदस्यता शुल्क नतिरेपछि स्थानीय सीता गुरुङले उनीहरुसहित अन्य केही महिलाको समेत शुल्क तिरेकी थिइन । गुरुङ महिला संघको पूर्व क्षेत्रीय सचिव समेत हुन् । तर सभासद पौडेलकै कारण उनले महिला संघमा थप जिम्मेवारी लिन नपाएपछि पछिल्लो पटक पोखरा उद्योग वाणिज्य संघको सदस्यमा निर्वाचित भएकी छन् । गुरुङले समेत वडामा सबै महिलाहरुलाई भेला गरेर विधिवत रुपमा अधिवेशन सम्पन्न गर्न आफूले पटक–पटक आग्रह गरेको तर नेताहरुकै कारण सम्भव नभएको बताइन ।
महिला संघमा एक गाविसबाट कम्तिमा १८ जना महिलाहरु अधिवेशन पछि विभिन्न जिम्मेवारीमा पुग्छन् तर कास्कीका विभिन्न गाविसमा महिला संघको सदस्य संख्या ८÷१० जनामामात्र सीमित रहनुले पनि महिला नेतृहरुले संघमा महिलाहरुलाई सदस्यता दिलाउन तथा आकर्षित गर्न कुनै काम नगरेको पुष्टि हुन्छ ।  कास्कीका गाविसहरुमध्ये हेमजा गाविस ठूलो गाविसमा पर्छ तर त्यहाँबाट ७ जनालाईमात्र महिला संघको साधारण सदस्यता दिइएको छ । जवकि गाउँ अधिवेशनमा ११ जनाको कार्यसमिति तथा जनजाति, दलित र अल्पसंख्यक सहित ७ जना प्रतिनिधि र अन्य मनोनित सदस्य गरि कम्तिमा २० जना महिलाहरु आवश्यक हुन्छ । यसरी महिला संघको सदस्यता वितरणमा गरिएको कन्जुस्याइँले योग्य र सक्षम महिलाहरुलाई संघमा आउन रोकेको गुनासो धेरैले गरेका छन् । कास्कीको सराङकोट गाविसबाट पनि १५ जनालाई मात्र साधारण सदस्यता दिइएको छ भने अन्य गाविस र पोखरा तथा लेखनाथका विभिन्न वडाहरुमा पनि सदस्यता वितरण गर्ने कार्यलाई रोकिएको छ ।
महिला संघको नेतृत्व लिएर नेता बन्ने अनि पार्टीको टिकट लिएर सभासद बनेकी शारदा पौडेलको कुरामात्र नभएर महिला संघको नेतृत्वमा रहेका अन्य समेत सदस्यता वितरणमा निष्क्रिय देखिएको गुनासो धेरैको छ । नगरका वडा, गाउँ समिति र नगर समितिको अधिवेशनमा महिलाको उपस्थितिका कारणमात्र नभएर अधिवेशनमा हुनुपर्ने सामान्य प्रक्रिया समेत पुरा नगरिनु तर आफूखुशी नाम राखेर कार्यसमिति तथा प्रतिनिधि चयन गरिनुले पनि महिला नेतृहरुको सक्रियतामा प्रश्न चिन्ह उव्जिएको छ । आफू नेता भएपछि सदस्यता  शुल्क पनि तिर्न नचाहने तर पद भने आजीवन चाहिने प्रवृत्ति बढेकोले पनि महिला संघका आम महिलाहरुको आकर्षण घटेको अनुमान समेत कतिपयले गरेका छन् ।
यसैबीच संघको पोखरा नगर अधिवेशन सोमबार हुने जानकारी संघको जिल्ला निर्वाचन संयोजक कृष्णप्रसाद तिमिल्सिनाले दिए । नेपाल महिला संघ पोखरा उपमहानगरपालिका वडा नं. ४ को तेस्रो अधिवेशन शनिबार सम्पन्न भएको छ । अधिवेशनले पुनः जानकीदेवी कोइरालाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । समितिको सचिवमा निर्मला अधिकारी लामिछाने, कोषाध्यक्षमा सीता कोइराला सदस्यहरुमा रीता कोइराला, गोमा कोइराला सुवेदी, लक्ष्मी कोइराला, मिठुदेवी कोइराला, तारा माकाजू, भगवती पराजुली, उषा पराजुली र सरिता पराजुली रहेका छन् । अधिवेशले चयन गरेको क्षेत्रीय प्रंतिनिधिहरुमा रजनी केसी, शकुन्तला कोइराला, विष्णु कोइराला र सरस्वती पौडेल रहेका छन् । निर्वाचन अधिकृत गौरीदेवी पौडेलले निर्वाचन सम्पन्न गरेको सचिव निर्मला अधिकारी लामिछानेले गोल्डेन न्यूज दैनिकलाई जानकारी दिइन । इकाइ सभापति जानकी कोइरालाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सभासद शारदा पौडेल, जिल्ला निर्वाचन अधिकृत कृष्णप्रसाद तिमिल्सिना, नेपाली कांग्रेस वडा नं. ४ का इकाइ सभापति लेखनाथ पराजुली, महिला संघ क्षेत्रीय सभापति रजनी केसी लगायत आ–आफ्नो भनाइ राखेका थिए । यसैगरी नेपाल महिला संघ गाउँ इकाई कमिटी लामाचौरको अधिवेशन सम्पन्न भएको छ । संघका अध्यक्ष लक्ष्मी पाण्डेको सभापतित्वमा भएको अधिवेशनले ज्योति पौडेलेको अध्यक्षतामा २१ सदस्यीय नँया कार्यसमिति चयन गरेको छ । समितिको उपसभापतिमा जुनु कुमारी गुरुङ्ग, सचिवमा अनामिका थापा, सहसचिवमा दिलमाया तिवारी, कोषाध्यक्षमा रेणु आचार्य रहेका छन् । भेलाले ८ सदस्यीय सल्लाहकार समिति पनि चयन गरेको छ । सल्लाहकारमा निवर्तमान अध्यक्ष लक्ष्मी पाण्डे, गोभा भण्डारी, मीना भण्डारी, मीना राउत, हिरादेवी पौडेल, जसोदा भण्डारी, मायादेवी गुरुङ्ग, मनदेवी केसी रहेका छन् ।

Post a Comment

 
Top