
स्वास्थ्य तथा जनसंख्या मन्त्री खगराज अधिकारीले देशमा शिपमुलक शिक्षा नभएका कारण हजारौं युवाहरु विदेश पलायन भएको बताएका छन् । जनप्रकाश वहुमुखी क्याम्पसको नवौं साधारण सभाको शनिवार लेखनाथमा उद्घाटन गर्दै, मन्त्री अधिकारीले बौद्धिक युवा शक्तिलाई विदेश जानबाट रोक्न पनि व्यवसायिक र शिप मुलक शिक्षाको आवश्यकता रहेको बताए । उनले अन्तर्राष्ट्रिय बजारमा नेपाली शिक्षाले प्रतिस्पर्धा गर्न नसकेका कारण नयाँ शिक्षा नीतिको आवश्यकता रहेको उल्लेख गरे । उनले लेखनाथको शिक्षाको विकासका लागि आफूले सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे । कार्यक्रममा संविधानसभा सदस्य एवं नेपाली कांग्रेस कास्की सभापति यज्ञवहादुर थापाले माघ ८ मा जसरी पनि संविधान जारी हुने उल्लेख गरे । दलका शीर्ष नेताले लोकलज्जाका कारण पनि निर्धारित समयमै संविधान जारी गर्ने ठोकुवा गरे । मुलुकमा संविधान नहुँदा सवै क्षेत्र अस्तव्यस्त बनेको उल्लेख गर्दै, थापाले शिक्षा क्षेत्र पनि प्रभावित भएको बताए । कार्यक्रममा क्याम्पस प्रमुख ऋषिराम वुढाथोकीले क्याम्पसकोे बार्षिक प्र्रतिवेदन पेश गरेका थिए । सोही अवसरमा भूपू अध्यक्ष केशर प्रसाद निर्दोशी, पूर्व क्याम्पस प्रमुख उमेश आचार्य, जनप्रकाश उच्च मा.वि का पूर्व प्रधानाध्यापक कृष्णराज पौडेललाई क्याम्पसमा योेगदान पुर्याएको भन्दै सम्मान गरिएको थियो । यसैगरी उत्कृष्ट विद्यार्थी कृष्ण भण्डारी, इन्दिरा तिवारी र पदमवहादुर थापालाई समेत सम्मान गरिएकोे थियो ।
क्याम्पस संचालक समितिका अध्यक्ष माधव भण्डारीको अध्यक्षतामा भएको कार्यक्रममा संस्थापक अध्यक्ष चक्रपाणि पौडेल, पूर्व क्याम्पस प्रमुख उमेश आचार्य, जनप्रकाश उच्च मा.वि का प्राचार्य शिरोमणि भण्डारी, व्यवस्थापन समितिका अध्यक्ष मनोज गुरुङ्ग, विद्यार्थी पदमवहादुर थापा, महिला प्रतिनिधि मनदेवी गुरुङ्ग लगायतले क्याम्पसका गतिविधिका बारेमा चर्चा गरेका थिए ।
Post a Comment