0

पोखरा १६ साउन ।
कास्की जिल्ला विकास समितिले निर्मलपोखरी गाविस लगायत विभिन्न स्थानका खोलाबाट ढुङ्गा, बालुवा उठाउन ठेक्का दिंदै आएकोमा विवाद बढ्न थालेको छ ।जिविस कास्कीको महत्वपूर्ण आम्दानीको रुपमा रहँदा आएको ढुङ्गा, बालुवाको ठेक्का सम्बन्धी विवाद कारण शुक्रबार  झडप हुँदा आठ जना घाइते भएका छन् । निर्मलपोखरीको कस्यारघाट मा ढुङ्गा, बालुवा खानी संचालन गर्नका लागि ३७ लाख रुपैयाँमा टेण्डर पारेका ठेकेदार प्रेमबहादुर मल्लले शुक्रबार बिहानबाट ढुंगा बालुवा झिक्न थालेपछि स्थानीय समाज सुधार आमा समूहले अवरोध गरेको थियो । विरोध गर्न घाटमा पुगेका महिलाहरुलाई ठेकेदार मल्लद्वारा परिचालित समूहले आक्रमण गरेको स्थानीयले बताए । सोही विषयमा छलफल गर्न जिविस कार्यालय पुगेका स्थानीयवासीहरु लाई प्रहरीले कुटपिट गरेको थियो ।
स्थानीयवासीहरु त्यस स्थानबाट ढुङ्गा, बालुवा उठाउँदा खोला किनारका घर तथा खेतीयोग्य जग्गामा क्षति पुग्ने भन्दै विरोधमा उत्रिएका थिए । ठेकेदार मल्लले ढुङ्गा, बालुवा झिक्न श्रमिकहरु परिचालन गर्दा स्थानीयले अवरोध पु¥याउन खोजेपछि ठेकेदार तर्फका व्यक्तिहरुले स्थानीय सातजनालाई कुटपिट गरि घाइते बनाएका थिए । त्यसपछि स्थानीय वासिन्दाहरु आक्रेशित बन्दै कास्की जिल्ला विकास समितिको कार्यालयमा आएकोमा त्यहाँ पनि आफ्नो कुराको सुनुवाइ नभएको भन्दै जिविस कार्यालयमा धर्ना र नारावाजी समेत गरे । उनीहरुले कास्की जिविसका योजना अधिकृत निशानराज गौतमलाई समेत लछारपछार गर्नुका साथै जिविस कार्यालय भित्र रहेका कम्प्युटर र प्रोजेक्टर लगायतका सामानमा क्षति पु¥याइदिएका थिए । जिविस कार्यालयमा भएको झडपमा परि निर्मलपोखरीका प्रकाश पौडेल गम्भीर घाइते भएका छन् । घाइते पौडेलको गण्डकी मेडिकल कलेजमा उपचार भइरहेको छ । अन्य घाइते हुनेहरुमा रामबहादुर खत्री, बोधराज आचार्य, हरिकृष्ण आचार्य, पूर्णमाया आचार्य, बाटुली नेपाली, चन्द्रा नेपाली लगायत रहेका छन् ।
यसैबीच खानी संचालनका लागि जिल्ला विकास समिति कास्कीद्वारा गरिएको टेण्डर आब्हानको विरोध कार्यक्रममा सहभागी स्थानीयलाई कुटपिट गरिएको घटनाको निर्मल पोखरी गाविसका विभिन्न संघ संस्थाले विरोध जनाएका छन् । शुक्रबार टेण्डरका सन्र्दभमा छलफल गर्न पुगेका स्थानीय बासिन्दालाई जिविस परिसरमा आक्रमण भएको उनीहरुको भनाइ छ । आक्रमणबाट स्थानीय ८ जना घाइते भएको बताइएको छ । यसैबीच यसैबीच द्वार कस्यारघाट पीडितहरुले शुक्रबार नै एक विज्ञप्ति प्रकाशित गरी आक्रमणको निन्दा गरेका छन् । विज्ञप्तिमा निर्मलपोखरी गाँउ परिषद्को निर्णय, गाविस कार्यालयको घाट संचालन गर्न नहुने सिफारिस र स्थानीय सर्वदलीय राजनीतिक दल, आमा समुह र सरोकारवालाहरुसँग विगतमा आफैले गरेको सहमति विपरित जिविस कार्यालयले घाट सञ्चालन गर्नु खेदजनक भएको बताइएको छ । घाट सञ्चालन गर्न टेण्डर खुलाई स्थानीय बस्तीलाई जोखिममा पार्ने गरी खानी सञ्चालन गर्ने कार्यको विज्ञप्तिमा भत्र्सना गरिएको छ । समाजसुधार आमा समुहकी अध्यक्ष रमादेवी आचार्य, नेपाली काँग्रेसका गाउँ इकाई सभापति ध्रुव रायमाझी, नेकपा एमालेका गाउँ कमिटी अध्यक्ष कृष्णबहादुर मगर, एकीकृत नेकपा माओवादीका गाउँ कमिटी अध्यक्ष प्रकाश पौडेल र समाजसेवी केशवप्रसाद आचार्यले संयुक्त विज्ञप्ति जारी गरी कस्यारघाट सदाको लागि बन्द गर्न माग गरेका छन् । विज्ञप्तिमा स्थानीयमाथि आक्रमण गर्ने गुण्डा तथा प्रहरीलाई छानविन गरी कार्वाही गर्नुपर्ने, घाइतेको औषधोपचार तथा क्षतिपूर्ति दिनुपर्ने माग गरिएको छ । उक्त मागहरु सम्बोधन नगरिए स्थानीयवासीहरु चरणबद्ध आन्दोलनमा उत्रन बाध्य हुने विज्ञप्तिमा उल्लेख छ । स्थानीयहरुको खेतबारी, आमा समुहले बनाएका सामुदायिक भवन, मन्दिर नदि कटानले धरापमा परेपछि विगत ३ वर्षदेखि स्थानीयले घाटबाट ढुंगा बालुवा झिक्न बन्द गर्नुपर्ने माग राख्दै आएका थिए ।
यसैगरी यसैबीच एकीकृत ने.क.पा. (माओवादी), कास्कीले शुक्रबार एक विज्ञप्ति जारी गर्दै कस्यारघाटको विषयलाई लिएर स्थानीयबासीले गरेको शान्तिपूर्ण विरोधमाथि प्रहरीले गरेको दमनको निन्दा गरेको छ । एमाओवादी, कास्कीका अध्यक्ष दीपक कोइरालाद्धारा जारी विज्ञप्तिमा शान्तिपूर्ण विरोधमा रहेका स्थानीयबासीका मागलाई सम्बोधन गर्नुको सट्टा स्थानीय प्रशासनले दमनको बाटो लिएको भन्दै विरोध जनाइएको छ ।



Post a Comment

 
Top