0
देशमा पर्याप्त रोजगारीको अवसर नहँुँदा वैदेशिक रोजगारीमा विभिन्न मुलुकमा जाने नेपालीको सङ्ख्या प्रत्येक वर्ष बढ्दै गएको छ । आर्थिक वर्ष २०५०÷५१मा तीन हजार ६०५ जनामात्रै वैदेशिक रोजगारीमा गएकामा पछिल्लो आव २०७०÷०७१ सम्म आइपुग्दा त्यो सङ्ख्या पाँच लाख २७ हजार ८१४ जना पुगेको छ । गएको आव २०७० साउन १ देखि २०७१ असार मसान्तसम्म बिदेसिनेमध्ये चार लाख ९८ हजार ४४६ जना पुरुष र २९ हजार ३६८ जना महिला रहेका छन् । आव २०६९÷७० मा चार लाख ५३ हजार ५४३ जना वैदेशिक रोजगारीमा गएकामा गएको आवमा ७४ हजार २७१ जनाभन्दा बढी वैदेशिक रोजगारीमा गएका हुन् ।
 गएको आर्थिक वर्षमा सबैभन्दा बढी असार महिनामा ६१ हजार ७१७ जना वैदेशिक रोजगारीमा गएका छन् भने सबैभन्दा कम भदौ महिनामा २४ हजार १६४ जना वैदेशिक रोजगारीमा गएका छन् । वैदेशिक रोजगारीमा जानेको तथ्याङ्क अनुसार औसतमा प्रतिमहिना ४३ हजार ९८४ रहेको छ भने प्रत्येक दिन एक हजार ४४६ नेपाली बिदेसिने गरेका छन् । गत आवमा साउनमा ४५ हजार ९३७ जना र भदौमा २४ हजार २१४ जना, असोज महिनामा ३१ हजार ९५९ जना, कात्तिकमा ३१ हजार ९४९ जना नेपाली वैदेशिक रोजगारीमा गएका छन् ।
त्यसैगरी मङ्सिरमा ४१ हजार ६३४ जना, पुसमा ५० हजार ३२ जना, माघमा ३७ हजार २८५ जना, फागुनमा ४८ हजार ५५२ जना, र चैतमा ४५ हजार ८५४ जना, वैशाखमा ५४ हजार १७३, जेठमा ५४ हजार ९२६ र असारमा ६१ हजार ७१७ जना नेपाली वैदेशिक रोजगारीमा गएका छन् ।
विभागका प्रवक्ता कार्की देशमा पर्याप्त रोजगारीको अवसर सिर्जना नहुनु, छिमेकीको देखासिकीले उत्प्रेरित हुनु र गन्तव्य मुलुकबाट रोजगारीको ठूलो सङ्ख्यामा माग हुनुले बिदेसिने सङ्ख्या बढेको बताउँछन् । वैदेशिक रोजगार व्यवसायी पदमराज पौडेल नेपालमा राजनीतिक अस्थिरता बढ्नु र विश्व श्रम बजारमा रोगजारीको अवसर बढ्दै जानु बिदेसिने कारण भएको बताउँछन् । पछिल्लो समय नेपाली कामदारहरू दक्ष हुँदै गएपनि नेपाली कामदारलाई अदक्ष ठान्ने सरकारी नीतिका कारण दक्ष र प्राविधिक क्षेत्रका कामदारहरू सहज रूपमा वैदेशिक रोजगारीमा जान नपाएको उनी बताउँछन् । वैदेशिक रोजगार विभागमार्फत रोजगारका लागि स्वीकृत लिएर जानेको सङ्ख्या पाँच लाख २७ हजार ८१४ जना भए पनि विभागको स्वीकृत बेगर जाने, पढ्नका लागि भनेर गएर काम गरेर बस्ने र भारतीय भूमि भएर जाने नेपाली कामदारको सङ्ख्या पनि उल्लेख्य मात्रामा रहेको विभागका प्रवक्ता बद्रीकुमार कार्की बताउँछन् । वैदेशिक रोजगारीका लागि भारत हुँदै बर्सेनि करिब एक लाख नेपाली कामदार जाने अनुमान गरिए पनि उनीहरूको विवरण नेपाल सरकारसँग छैन । विशेषगरी नेपाली महिला कामदारलाई खाडीलगायतका देशमा रोजगारीका लागि कडाइ गरेकाले दलालहरूले भारत हुँदै ती मुलुकमा महिलालाई ओसारपसार गरिरहेका छन् । पछिल्लो दशवर्षको तथ्याङ्कले प्रत्येक वर्ष बिदेसिनेको सङ्ख्या उल्लेख्य मात्रामा बढेको देखाएको छ ।
आव २०६१÷६२ मा एक लाख ३९ हजार ७१८, आव २०६२÷६३ मा एक लाख ६५ हजार २५२, आव २०६३÷६४ मा दुई लाख चार हजार ५३२, आव २०६४÷६५ मा दुई लाख ४९ हजार ५१, आव २०६५÷६६ मा दुई लाख १९ हजार ९६५, आव २०६६÷६७ मा दुई लाख ९४ हजार ९४, आव २०६७÷६८ मा तीन लाख ५४ हजार ७१६ जना वैदेशिक रोजगारीमा गएका छन् । आव २०६७÷६८ मा तीन लाख ५४ हजार ७१६, आव २०६८÷६९ मा तीन लाख ८४ हजार ६६५, आव २०६९÷७० मा चार लाख ५३ हजार ५४३, आव २०७०÷०७१ मा पाँच लाख २७ हजार ८१४ जना वैदेशिक रोजगारीमा गएका छन् । पछिल्लो समय विदेशबाट नेपाल फर्किएका गाउँघरमै गाईपालन, कुखुरापालन, बाख्रापालन, तरकारीखेतीलगायत विभिन्न नयाँ प्रविधि निर्माणसमेतको काम गर्न थालेका छन् ।  जसले विदेशमा सिकेको सीपको स्वदेशमै प्रयोग गर्ने वातावरण र बिदेसिने परम्परालाई केही हदसम्म कम गर्ने आशा गर्न सकिन्छ । प्रवक्ता कार्की नेपालको आर्थिक मेरुदण्डको प्रमुख माध्यम विदेशिएका नेपालीले पठाएको विप्रेषण भएकाले वैदेशिक रोजगारीलाई नियन्त्रण गर्नेभन्दा पनि व्यवस्थित गर्नु अहिलेको आवश्यकता भएको बताउँछन् ।

Post a Comment

 
Top