0

 राष्ट्रिय समाचार समिति (रासस) ले काठमाडौं बाहिरबाट प्रकाशन हुने स्थानीय एवं क्षेत्रीय स्तरका पत्रपत्रिका र रेडियोहरुलाई उपलव्ध गराउने समाचार बुलेटिन बापतको शुल्क वृद्धि गर्ने निर्णय गरेकोमा विभिन्न क्षेत्रबाट असन्तुष्टि व्यक्त गरिएको छ । राससले काठमाडौं बाहिर अर्थात मोफसलका पत्रपत्रिका र रेडियोका लागिमात्र शुल्क वृद्धि गर्नु विभेदकारी निर्णय भएको आरोप पत्रपत्रिका एवं रेडियोका संचालकहरुले मात्र नभई पत्रकारिता संग सम्बन्धित विभिन्न संघसंस्थाका जिम्मेवार व्यक्तिहरुले समेत लगाएका छन् ।
राससले यहि २०७१ साउन १ गतेदेखि लागू हुने गरी मासिक ५०० रुपैयाँ ग्राहक शुल्क वृद्धि गरेको हो । रासस संचालक समितिको अध्यक्षमा गत असारमा नेपाल प्रेस युनियनका पूर्व अध्यक्ष कुलचन्द्र वाग्लेलाई सरकारले नियुक्त गरे लगत्तै काठमाडौं बाहिरका पत्रपत्रिका र रेडियोका लागिमात्र शुल्क वृद्धि गरेको हो ।
यसैबीच नेपाल प्रेस युनियनका केन्द्रीय उपाध्यक्ष गंगाधर पराजुलीले राससका अध्यक्ष वाग्लेसंग मोफसलका पत्रपत्रिका र रेडियोका लागिमात्र ग्राहक शुल्क वृद्धि गर्ने विभेदकारी निर्णय तत्काल सच्याउन माग गरेका छन् । पराजुलीका अनुसार अध्यक्ष वाग्लेले आफूले यस विषयमा आवश्यक परामर्श गरी तत्काल शुल्क घटाउन प्रयास गर्ने बताएको भएपनि अझैसम्म शुल्क घटेको छैन । यसैगरी पराजुलीले नेपाल पत्रकार महासंघका अध्यक्ष डा. महेन्द्र विष्टसंग समेत यस विषयमा कुरा गरी मोफसलमा सानो लगानीका संचारमाध्यममाथि राससले गरेको विभेदकारी निर्णय तत्काल सच्याउन पहल गरिदिन आग्रह गरेका छन् । विष्टले पनि आफू र महासंघको तर्फबाट विभेदकारी निर्णय सच्याउन पहल गर्ने विश्वास दिलाएको पराजुलीले जानकारी दिए ।

Post a Comment

 
Top