0

माक्र्सवादी विज्ञानमा आधारित निष्कर्षलाई आफूलाई माक्र्सवादी भन्ने अनेकौ कम्युनिष्टहरू स्वयमले मान्न अस्वीकार गर्दछन् । परिणाम तिनीहरूले अनेकौ बहानामा बुर्जुवावर्गको राज्यसत्तालाई कसरी कमजोर बनाउने भन्दा त्यसलाई कसरी बलियो बनाउने र पुँजीवादको ठाउँ समाजवादले लिने रणनीति र कार्यनीतिलाई बङ्गाएर प्रस्तुत गर्ने, रणनीति र कार्यनीतिलाई छयासमिस बनाएर पेश गर्ने आदि गर्दछन् । सबै माक्र्सवादीले जानेको कुरा हो कि कार्यक्रमका दुई भाग हुन्छन्–अधिकतम र न्यूनतम । नेपाली कम्युनिष्ट आन्दोलनको समस्या भनेको यिनै अधिकतम र न्यूनतम कार्यक्रमलाइ राम्ररी वैज्ञानिक ढङ्गले सूत्रबद्ध गर्न नसक्नु नै हो । कार्यक्रमलाई वैज्ञानिक ढङ्गले सूत्रबद्ध गर्ने भनेको पुँजीवादको विनास र समाजवादी उत्पादनको सङ्गठनलाई ध्यानमा राखेर गरिने हो । साँचो सत्य कुरा के हो भने कुनै एउटा रणनीतिलाई त्यसबेला मात्र सच्चा माक्र्सवादी भन्न सकिन्छ, जब त्यो आफ्नो कारवाहीमा माक्र्सवादको कार्यक्रमद्वारा निर्धारित आन्दोलनको उद्देश्यद्वारा निर्देशित हुन्छ । सर्वहारावर्गले सबभन्दा प्रभावकारी रूपले आफ्नो दुश्मनलाई मुख्य प्रहार केन्द्रीत कसरी गर्न सकिन्छ ? वास्तवमा त्यही नै क्रान्तिको दिशा निर्देश हो ।
समाजमा विद्यमान वर्गहरूको वर्गविश्लेषण त धेरै टाढाको विषय भयो र स्वयम एउटा कम्युनिष्ट पार्टीभित्र वर्गउत्थानको उदय भएको छ । त्यहीभित्र एउटा गरिखाने वर्ग र अर्को तिनै पार्टीभित्रकै तिनै गरिखाने वर्गको शोषणमा पिसिनेहरूको तह बन्यो । हुनत राजनीतिक रणनीतिको काम प्रधानतः माक्र्सवादको सिद्धान्त र कार्यक्रमले उपलब्ध गरेको तथ्याङ्कको आधारमा सबै देशका सर्वहारावर्गको क्रान्तिकारी सङ्घर्षको अनुभवलाई ध्यानमा राखेर कुनै खास मुलुकको खास ऐतिहासिक अवधिमा सर्वहारावादी आन्दोलनको मुख्य दिशा सही ढङ्गले निर्धारण गर्नु हो । र कार्यनीति त रणनीतिको एउटा अंश मात्रै हो र रणनीतिको सेवाका लागि कार्यनीति तय गरिन्छ । रणनीतिको उद्देश्य नेपालमा कम्युनिष्ट राज्यसत्ताको स्थापना हो । जसका लागि नेपालमा विद्यमान प्रतिक्रियावादी राज्यसत्ताका विरूद्ध अन्त्यसम्म सङ्घर्ष गर्दै जाने हो भने कार्यनीति भनेको त्यो अन्तिम युद्ध जित्नका लागि ससाना लडाईहरू, मुठभेडरूमाथि विजय प्राप्त गर्दै जाने हो । जुन कुराहरू खासकालको सङ्घर्षका ठोस परिस्थितिसंग लगभग मिल्दाजुल्दा हुन्छन् । अहिले नेपालमा सबै प्रतिक्रियावादीहरू मिलेर देशमा २०६२÷०६३को आन्दोलनका उपलब्धीहरूलाई खतम पार्ने गरी संविधान लेख्न खोज्दै छन् । जसमा नेपालका केही कम्युनिष्ट पार्टीका नेताहरू ‘संसदीय व्यवस्थाको विकल्प छैन्’ भन्दै नेपाली काँग्रेसको बोलीमा लोली मिलाइरहेका छन् । वर्तमान संविधानद्धारा सर्वहारावर्गका विरूद्ध संविधान लेख्न चाहेका छन् । यो सही हो कि वर्तमान संविधानसभाद्धारा नेपालमा जनताको पक्षमा संविधान लेख्न सकिदैन ।
यसो भन्दैमा के नेपालका परिवर्तनकारी तथा क्रान्तिकारीले २०६२–०६३को अन्तरिम संविधान, मधेस आन्दोलन, विभिन्न जनजाति, महिला तथा दलित आदि उत्पीडित वर्गसंग गरेका सम्झौता र नेपालमा आमूल परिवर्तनका लागि भनेर दशवर्षसम्म चलाएको सशस्त्र विद्रोहसंग गरिएको विस्तृत शान्ति सम्झौताको आधारमा सङ्घर्षको मोर्चावन्दी गर्न मिल्दैन ? संसदीय व्यवस्थाको विकल्प छैन् भन्दै हिंडेर भन्दा त उल्लेखित विषयवस्तुहरूमा कार्यगत एकता गरेर सङ्घर्ष गर्ने कार्यनीतिले नै माक्र्सवादी रणनीतिको सेवा गर्ने निश्चित छ । त्यसकारण अहिले नेपालका ५वटा माओवादी राजनीतिक दलहरूले जे–जस्तो कार्यदल बनाएर अघि बढने निर्णय गरेका छन्, त्यसमा मिल्न सक्ने अन्य शक्ति तथा जनवर्गसँग पनि एकता गर्दै अगाडि बढेमा माक्र्सवादले व्याख्या गरेको रणनीतिको प्राप्तिका लागि तत्काल अपनाइने कार्यनीतिहरूले सकारात्मक परिणाम दिने निश्चित छ ।

Post a Comment

 
Top