(कालिका खड्का)
काठमाडौँ, २० असार । नेकपा (एमाले)ले आफ्नो पार्टीको घोषणापत्रमा ३३ प्रतिशत महिला सहभागिता सुनिश्चित गर्ने भनेर लेखे पनि नवौँ राष्ट्रिय महाधिवेशनमा सो प्रतिशत महिला प्रतिनिधि पुग्न सकेका छैनन् । एमालेमा लगभग दुई लाख ६५ हजार पार्टी सङ्गठित कार्यकर्ता छन् । नवौँ महाधिवेशनमा दुई हजार १८२ प्रतिनिधि छन् । त्यसमध्ये महिला प्रतिनिधि ३४१ मात्र रहेका छन् । दुई हजार १८२ प्रतिनिधिमा पाँच प्रतिशत मनोनयन गर्न बाँकी छ । मनोनयन गर्दा महिला प्रतिनिधिको सङ्ख्या लगभग ४०० हुन्छ । त्यो भनेको १८ प्रतिशत मात्रै हो ।
“पार्टीमा माथिल्लोस्तरमा मात्र हैन, तल्लोस्तरदेखि नै महिला सङ्गठित सदस्य वृद्धि गर्नु जरुरी छ”–पार्टी उपाध्यक्ष विद्यादेवी भण्डारीले भन्नुभयो–“पार्टीमा महिला सहभागिता वृद्धि गर्न एमालले प्रयास गरिँदै आइरहेको छ ।”
“गाउँस्तरदेखि नै ५० प्रतिशत महिला ल्याउन सकिएको भए स्वाभाविक रूपमा महिला प्रतिनिधिको सङ्ख्या पनि बढ्ने थियो”–उहाँले थप्नुभयो–“महाधिवेशनमा पदाधिकारीसहित ३३ प्रतिशत महिला सहभागिताका लागि पहल गरिरहेका छौँ ।”बिहीबारदेखि राजधानीको भृकुटीमण्डपमा सुरु भएको एमाले महाधिवेशनका उपाध्यक्षकी उम्मेदवारसमेत रहनुभएकी नेत्री भण्डारीले भन्नुभयो–“महिलासहितको पदाधिकारी र कार्यसमिति हुनुपर्छ भन्ने अखिल नेपाल महिला सङ्घले (अनेमसङ्घले) अवधारणापत्र पनि तयार गरेको छ, पदाधिकारीसहित केन्द्रीय कमिटीमा ३३ प्रतिशत महिला पु¥याउन पहल गरिरहेका छाँै ।”अनेम सङ्घका अध्यक्षसमेत रहनुभएकी नेत्री भण्डारीले महाधिवेशनका अवसरमा महिला हिंसा अन्त्य गर्न पार्टी र जनसङ्गठनमा आचारसंहिता, स्थानीय निकायमा पदाधिकारीसहित ५० प्रतिशत महिला र महिलामैत्री संरचना निर्माण गर्नुपर्ने गरी तीनवटा एजेन्डालाई अनेमसङ्घले अगाडि सारेको छ भन्नुभयो ।“पदाधिकारीसहित केन्द्रीय कमिटीमा भएका महिलाले पार्टीले प्रतिबद्धता जनाएअनुसार ३३ प्रतिशत महिला सहभागिता हुनुपर्छ भनेर कुरा उठाइरहेका छौँ”–पार्टीका पोलिटब्युरो सदस्य तथा महाधिवेशनमा उपाध्यक्षका उम्मेदवार अष्टलक्ष्मी शाक्यले भन्नुभयो–“प्रतिनिधि चयनमा त ३३ प्रतिशत महिला पुग्न सकेन, पार्टीमा पुग्ने सम्भावना झन् न्यून छ, तैपनि प्रयास जारी राखेका छौँ ।”“नवौँ महाधिवेशनमा ३३ प्रतिशत प्रतिनिधिसमेत ल्याउन सकिएन, पदाधिकारीसहित केन्द्रीय कार्यसमितिमा ३३ प्रतिशत महिला ल्याउन सकिने सम्भावना एकदम न्यून छ”–उहाँले थप्नुभयो–“आगामी दसौँ महाधिवेशनका लागि तल्लो निकायदेखि महिला सहभागिता वृद्धि गर्नुपर्छ ।” “पार्टीमा महिला सहभागिताको वृद्धि नभएसम्म मुुलुकको विकास सम्भव छैन, ५१ प्रतिशत महिला भएको मुलुकमा नेतृत्व तहमा महिला एकदम कम छन्, सबै महिला एकताबद्ध भएर महाधिवेशनमा महिलाका एजेन्डा उठाउँछौँ”–उहाँले महाधिवेशनका लागि महिलाको अवधारणासमेत तयार भएको जानकारी दिनुभयो ।अनेमसङ्घले जारी गरेको महिला अवधारणपत्रमा पार्टीमा महिला हिंसा समाज निर्माण गर्नुपर्ने, पार्टीमा महिला सहभागिता वृद्धिका लागि महिलामैत्री लोकतान्त्रिक अभ्यास गर्नुपर्ने, स्थानीय निकायदेखि नै ५० प्रतिशत महिला–पुरुष समान रूपमा सङ्गठनमा नेतृत्व गर्ने अवसर दिनुपर्ने, नवौँ महाधिवेशनबाट पदाधिकारीसहित ३३ प्रतिशत महिला सुनिश्चित गर्नुपर्ने माग समेटिएका छन् । रासस
Post a Comment