बिहीबार रातिदेखि परेको भारी वर्षाका कारण सेती नदीमा बाढी आउँदा पोखराको रामघाटस्थित सुकुम्बासी बस्तीका २६ घर डुबानमा पर्नुका साथै ठूलो संख्यामा चौपाया र घर पालुवा पंक्षी मरेका छन् । राति करिब ३ बजेतिर बाढी आएपछि रामघाटको तल्लोभाग डुवानमा परेको थियो । त्यसपछि बिहान ५ बजेको समयमा सशस्त्र प्रहरी र नेपाल प्रहरीको करिब ४० जनाको टोलीले डुङ्गा प्रयोग गरी डुवानमा परेका घरबाट मानिसहरुलाई उद्धार गरेका थिए । डुवानका कारण रामघाटमा १३ वाख्रा, १०२ कुखुरा, १ गाइ, ८४ हास र ६० वटा बंगुर मर्नुका साथै लत्ताकपडा, भाँडा र अन्नपात क्षति भएको छ । बाढीका कारण त्यसक्षेत्रको ब्लकले बनेका पूर्ण परियारको एककोठे घर भत्किएको छ । मानबहादुर श्रेष्ठ, चन्द्रबहादुर कामी, मिने कामी, शिशिर कामी, सजिना कामी लगायतलाई प्रहरीले डुङ्गाको मद्धतले उद्धार गरेको थियो । बस्ती नै डुबानमा परेपछि स्थानीयले राति नै गुहार मागेका थिए । सेती नदीमा बाढी आएर नदी थुनिंदा रामघाटमा ताल बनेको र सुकुम्वासीवस्ती समेत डुवानमा परेको समाचार विभिन्न माध्यमबाट सार्वजनिक भएपछि दृश्य हेर्ने र दृश्य खिच्न पोखरेलीको ठूलो भीड लागेको थियो ।

Post a Comment