0

    काठमाडौँ, १७ असार । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा हुन सक्ने सम्भावित दुर्घटनापछि आपत्कालीन व्यवस्थापनसम्बन्धी तयारी गर्ने उद्देश्यले यही असार २५ गते ‘पूर्ण आपत्कालीन अभ्यास’ गरिने भएको छ । सोसम्बन्धी तयारीबारे नेपाल नागरिक उड्ययन प्राधिकरण, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलअन्तर्गत हवाई सुरक्षा व्यवस्था महाशाखाले आज यहाँ आयोजना गरेको बैठकमा अभ्यासका लागि कार्यविभाजन गरिनाका साथै आवश्यक तयारीबारे छलफल गरियो ।महाशाखाका प्रमुख विक्रमराज गौतमले विमानस्थलमा ‘जीवन र सम्पत्ति’ दुवैको सुरक्षाका लागि पूर्व आवश्यक तयारीका लागि अभ्यास गर्न लागिएको जानकारी दिनुभयो  उहाँले भन्नुभयो, “त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आपत्कालीन योजना, कार्यविधि, यहाँ रहेका उपकरण, सञ्चार सामग्रीको व्यवस्थापन, क्षमता जाँच गर्न र  कमजोरी हटाई चुस्त, दुरुस्त बनाउने उद्देश्यले विमानस्थल आपत्कालीन व्यवस्थापन योजनाको अभ्यास गर्न लागिएको हो ।”  महाशाखाले आपत्कालीन सुरक्षासम्बन्धी १० योजना रहेकामा यस वर्ष ‘विमानस्थलमा हवाई दुर्घटना र घटनास्थलमा तयारी अवस्था’सम्बन्धी दुई योजनाको अभ्यास गर्नेछ । आजको बैठकमा विमानस्थलका कर्मचारी, सेना, प्रहरी, दमकल, स्वास्थ्यकर्मीलगायतले आवश्यक तयारीबारे आफ्नो सुझाव पेस गरेका थिए । अन्तर्राष्ट्रिय नागरिक उड्ययन सङ्गठनको प्रावधानअनुसार यस्तो परीक्षण एक वर्ष अल्प आपत्कालीन अभ्यास र अर्को वर्ष पूर्ण आपत्कालीन अभ्यास गर्नुपर्छ ।  सोहीअनुसार त्रिभुवन विमानस्थलमा गत वर्ष अल्पकालीन अभ्यास गरिएकामा यस वर्ष पूर्ण आपत्कालीन अभ्यास गर्न लागिएको हो । रासस

Post a Comment

 
Top