0
सूचना तथा सञ्चार मन्त्री नेपाल सरकारका प्रवक्ता डा. मीनेन्द्र रिजालले संविधान निर्माणमा प्रमुख राजनीतिक दलले सुरुमा बनाएको कार्यतालिका अनुसार काम अघि बढेकाले निर्धारित समयभित्रै नयाँ संविधान जारी हुने विश्वास व्यक्त गरेका छन्् । शनिबार पोखरामा आयोजित एक समारोहलाई सम्बोधन गर्दै  सूचना तथा सञ्चारमन्त्री डा रिजालले सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गरी सबै पेसा र व्यवसायलाई मर्यादित बनाउन पनि तोकिएको समयमा नयाँ संविधान जारी हुनुपर्नेमा जोड दिए । नयाँ संविधानका बारेमा नकारात्मक टीकाटिप्पणी नगर्न सबैसँग आग्रह गर्दै मन्त्री डा. रिजालले जनताका यस्ता आशङ्का र अविश्वासलाई चिर्न राजनीतिक दलका नेता र कार्यकर्ता ध्यान दिनुपर्ने बताए । उनले संविधान नबन्दा पनि अहिलेको अवस्था कायम रहन्छ भन्ने विश्वास व्यक्त गर्नेहरुका लागि स्पष्ट पार्नेक्रममा भने–‘संविधान बनेन भने राजनीतिक अन्यौल बढ्नेमात्र नभएर मुलुकको समग्र आर्थिक विकासले समेत गति लिन सक्दैन । लगानीका सम्भावनामा समेत अवरोध पुग्न सक्छ । त्यसैले पनि नयाँ संविधान बन्न जरुरी छ ।’ संविधानसभाले संविधान निर्माणको कार्यतालिका अनुसार काम गर्न सकेको भन्दै मन्त्री रिजालले सबै राजनीतिक दलहरु यस विषयमा गम्भीर रहेको स्पष्ट पारे । राजनीतिक दलहरुबीच तिक्तता भएपनि संविधान निर्माणको प्रक्रियामा कुनै रोकावट आएको छैन त्यसकारण पनि समयमा नै संविधान बन्नेमा ढुक्क हुनुहोस्, समारोहमा उपस्थित सर्वसाधारणलाई आस्वस्त पार्दै उनले भने । सोही समारोहमा नेपाली कांग्रेसका प्रचार विभाग प्रमुख समेत रहेका मन्त्री रिजालले विभिन्न क्षेत्रमा योगदान दिएका विभिन्न व्यक्तित्वहरुलाई सम्मान गरेका थिए । क्रियटिभ ब्रोडकास्टिङ मिडिया प्लस पोखराद्वारा आयोजित कार्यक्रममा मन्त्री रिजालले शिक्षाविद जोर्ज जोन, प्रतिष्ठित उद्योगपति सूर्यबहादुर केसी, सिएनएन हिरो अनुराधा कोइराला, चर्चित गायक रामकृष्ण ढकाल, हाँस्यकलाकार जितु नेपाल, गीतकार  देवेन गिरी लगायतलाई सम्मान गरेका थिए । कोइराला भने कार्यक्रममा उपस्थित थिइनन । यसका साथै चर्चित ¥यापर आशिष राना लाहुरेलाई उत्कृष्ट युवा पुरस्कार तथा बाल प्रतिभा रानी ढकाल र सुदेन गिरीलाई बाल प्रतिभा पुरस्कारबाट सम्मान गरिएको थियो । उनीहरुलाई सम्मानपत्र र दोसल्ला सहित सम्मान गरिएको थियो भने  संचारमन्त्री डा.रिजाललाई आयोजक संस्थाका प्रबन्ध निर्देशक आई.डी. मिलन प्रतीकले पनि ढाकाटोपी, दोसल्ला र मायाको चिनो प्रदान गरेका थिए । 
सम्मानित व्यक्तित्वको तर्फबाट पूर्वसभासद समेत रहेका उद्योगपति सूर्यबहादुर केसीले बोल्दै समयमै संविधान बन्नुपर्नेमा जोड दिए । उनले मुलुक व्यापार घाटामा गएको उल्लेख गर्र्दै यस्तो अवस्थामा युवाशक्ति विदेश पलायन हुनु दुःखलाग्दो भएको बताए । विविध सांगीतिक कार्यक्रमका साथ आयोजित कार्यक्रममा गायक रामकृष्ण ढकालले गीत र हाँस्य कलाकार जितु नेपालले हाँस्य व्यङ्ग्य सहितको प्रस्तुति राखेका थिए । स्थानीय कलाकारहरुद्वारा पनि नृत्य, गीत र प्रहसन प्रस्तुत गरिएको थियो । क्रियटिभ ब्रोडकाष्टिङ मिडिया प्लसका प्रवन्ध निर्देशक मिलन प्रतिकको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन संचारकर्मी नरेश भट्टराईले गरेका थिए । शनिबार बिहान पोखरा आएका कांग्रेस केन्द्रीय सदस्य एवं संचारमन्त्री डा. रिजाल आइतबार काठमाडौं फर्किने कार्यक्रम छ । उनी आइतबार नै तीन दिनका लागि भारतको नयाँ दिल्लीमा जाने कार्यक्रम रहेको छ ।

Post a Comment

 
Top