0
लापर्वाही र बेहोसियार रहँदा मात्र सवारी दुर्घटना हुन्छ भन्ने सोचाइ राख्नेहरुका लागि गतिलो जवाफ बनेको छ, बिहीबार राति पृथ्वीराजमार्ग अन्तर्गत खैरेनीटार नजिकै भएको कार दुर्घटना । पोखरामा व्यापारिक, शैक्षिक एवं सामाजिक क्षेत्रमा क्रियाशील पाँच युवा सवार कार बिहीबार राति करिब ११ बजे तनहुँको खैरेनीटार नजिक घुम्ती सडकबाट करिब ३५ मिटर तल खसेर दुर्घटना हुन पुग्यो  । काठमाडौंबाट पोखरा आउनेक्रममा उनीहरु सो दुर्घटनामा परेका हुन् । कार चालक गुणाखर सुवेदीलाई चिन्नेहरुका अनुसार उनले न त मादक पदार्थ सेवन गर्छन् न त तीव्र गतिमा सवारी साधन चलाउँछन् तर उनी स्वयंले चलाएको कार दुर्घटना पछि क्षतविक्षत बन्न पुग्यो । दुर्घटनाग्रस्त सो कारको तस्वीर या कारलाई देख्नेहरुलाई लाग्छ कारमा सवार यात्रुहरु यो भौतिक संसारमा छैनन् । तर संयोग वा भाग्य कार चालक सुवेदी सहित पाँचैजना सकुशल रहेका छन् । सोही दिन बिहान काठमाडौं पुगेर साँझ पोखरा फर्कनेक्रममा खैरेनीटार नजिकको शेराटारस्थित सडक किनारामा ढुङ्गा थुपारिएकोले त्यसलाई छलेर अघि बढ्न खोज्दा कार अचानक सडकबाट तल खसेको थियो । रातिको समय भएकाले कारमा सवार तेजनारायण पराजुली, राजु अधिकारी, ज्ञानेन्द्र कोइराला झपक्क निदाउन पुगेका थिए तर अर्का यात्रु भरत अधिकारी भने सडकबाट कार खसेपछि रुखमा ठोक्किइ तीन बल्ड्याङ खाँदै करिब ३५ मिटर तल पुगेको प्रत्यक्ष आँखाले हेर्न भ्याए । उनलाई गाडी खोलामा पुग्छ या नदीमा पुग्छ भन्ने थाहा नभएपछि कतिबेला कार राक्किएला भन्ने चिन्तामात्र रह्यो तर उनको मुखबाट केही आवाज निस्कन सकेन । गाडी तल झरेर रोकिएपछि गाडीका ढोका लक गरेकै अवस्थामा रहेको तर पछाडिको डिक्की फुटेकोले गाडीबाट पहिले निस्कने पनि उनै अधिकारी थिए । त्यसपछि ज्ञानेन्द्र गाडीबाट निस्कंदै गर्दा पराजुली भने गाडीभित्रै च्यापिएर ऐया !!! भन्दै कराउँदै थिए । पराजलुलीलाई बाहिर निकालेपछि गाडीको अगाडि सिटबेल्ट लगाएर बसेका राजु र चालक सवेदीलाई समेत पछाडि बस्नेहरुले उद्धार गरे । गाडीबाट निस्केपछि उनीहरुलाई लाग्यो–‘हामी भाग्यवस बाच्न सफल भइयो ।’ त्यसपछि उनीहरू झाडी र झाँङ पार गर्दै जेनतेन सडकमा आइपुगे र सडकमा चल्ने गाडी रोक्न प्रयास गरे । पाँचजना उस्तै प्रकृतिका युवाहरु रातिको समयमा एकान्त ठाउँमा बसेर गाडी रोक्दा त्यहाँ चल्ने सबै सवारीचालकलाई समेतलाई समेत एक किसिमको शंका छायो–‘कतै तिनीहरु लुटेरा त हैनन् ?।’ फलस्वरुप ति सवारी चालकहरुले बेलचौतारामा रहेको प्रहरीलाई खबर गरे र केही समयमा सोही ठाउँमा प्रहरी पुग्यो । दुर्घटनापछि चालक गुणाखर र अगाडि बस्ने राजु सामान्य अवस्थामा रहेपनि पछाडि बस्ने ज्ञानेन्द्रको हातमा ठूलो चोट लागेको थियो । अर्का तेजनारायण पराजुलीको देव्रे कुमको लिगामेन्ट च्यातिएको र घाँटीको नसामा समेत असर परेको थियो । अर्का यात्रु भरतको पनि शरीरको केही ठाउँमा सामान्य चोट थियो । उनीहरु सबैलाई प्रहरीले बेलचौतारा सम्म ल्याएपछि पोखराबाट उनीहरुकै साथी कविराज पौडेल सहितको टोली त्यहाँ पुगेर पोखरा ल्याइ राति नै स्वास्थ्य संस्थामा प्रारम्भिक उपचार गराएर उनीहरुलाई घर पु¥याएको थिए । घाइतेहरुमध्ये पराजुली गोल्डेन न्यूज दैनिकको प्रकाशन संस्था सुनौलो पव्लिकेशन प्रालिका संचालक तथा पोखरा विश्वविद्यालयका लेखा अधिकृत हुन् । पोखरा बैदाममा व्यापार व्यवसायमा संलग्न पराजुली बाहेक राजु अधिकारी तारापुञ्ज बोर्डिङ स्कूल पोखरा–२ का संचालक हुन् । यसका साथै भरतराज अधिकारी, ज्ञानेन्द्र कोइराला र गुणाखर सापकोटा पनि आ–आफ्नै व्यवसायमा संलग्न छन् । र लायन्स तथा आफूहरुको व्यक्तिगत कामका लागि उनीहरु काठमाडौं गएर फर्कंदै थिए । उनीहरू सबै लायन्स क्लव अफ पोखरा मुनालसंग सम्बन्धित छन् । अहिले उनीहरुको अवस्था गम्भीर नरहेपनि दुर्घटनाग्रस्त कारको मर्मतमा भने मोटो रकम खर्च हुने देखिएको छ । कतिपयले उनीहरुलाई रातिको समयमा हतार–हतार गाडी चलाएर यात्रा गर्दा र बाटोमा मादक पदार्थ सेवन गरेकोले दुर्घटना भएको अनुमान गरेको भएपनि प्रहरीका अनुसार चालक सुवेदीले अनुमान गरेजस्तो मादक पदार्थ सेवन गरेका थिएनन् । घाइतेहरु भन्छन्–‘सावधानी अपनाउँदा पनि अचानक दुर्घटनामा परियो तर आफू सवार कारमा ठूलो क्षति भएपनि भाग्यवस हामी सबै सकुशल रहन पायौं ।’

Post a Comment

 
Top